|

काठमाडौं : झण्डै तीन वर्षदेखि नेपाली क्रिकेटमा देखिएको समस्या समाधान हुने भएको छ।

निर्वाचित नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएसँगै क्यान विवाद समाधानतर्फ उन्मुख भएको हो।

कात्तिक १० गते क्यानको बैठक बोलाएको छ। सोही बैठकले कानुनी र व्यवहारिक प्रक्रियाबारे छलफल गरी मुद्दा फिर्ता लिने सम्बन्धमा निर्णय गर्ने क्यानका उपाध्यक्ष दिवाकर घलेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा भनिएको छ, ‘झन्डै साढे दुई वर्षयता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को निलम्बनमा रहेको नेपाली क्रिकेट निलम्बन मुक्त हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’

उपाध्यक्ष घलेका अनुसार मुद्दा फिर्ताको कानुनी र व्यवहारिक प्रक्रियाबारे छलफल गरी मुद्दा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न आगामी कात्तिक १० गते क्यान निर्वाचित समितिको बोर्ड बैठक बोलाइएको छ।

विज्ञप्तिमा भनिएको छ “नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रयासमा हामी सधैं जिम्मेवार र सहयोगी भूमिकामा प्रस्तुत भइरहेका छौँ, हामी शुरुवातबाट नै आइसिसीले गठन गरेको सल्लाहकार समूह र मनिटरिङ कमिटीमा सहभागी भएर मात्रै नभई आइसिसी र अन्य सरोकारवालाले भने झै परिमार्जित विधानलाई विशेष साधारणसभाबाट हुबहु पारित गरेर नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रक्रियामा सहयोग गरिरहेका छौँ।”

विज्ञप्तिमा आफूहरूको जिम्मेवारीपूर्ण र रचनात्मक सहयोगका कारण नै पुरानो विधानलाई संशोधन गरी संशोधित विधानअनुसार जिल्ला निर्वाचन समेत सम्पन्न भइसकेको र हाल परिमार्जित बिधानअनुसार गठन भएको पाँच सदस्यीय मनिटरिङ कमिटीले जिल्ला निर्वाचनको अध्ययन गरिरहेको जनाइएको छ।

यसअघि २०७२ मङ्सिरमा भएको क्यानको निर्वाचनलाई राष्ट्रिय खेलकुद परिषदले मान्यता नदिएपछि क्रिकेटमा विवाद शुरु भएको थियो।

परिषदले निर्वाचित समितिलाई मान्यता नदिएर तदर्थ समिति गठन गरेको थियो। त्यसपछि निर्वाचित समितिले सर्वोच्चमा मुद्दा दायर गरेको थियो। सर्वोच्चले अन्तरिम आदेश दिएपछि तदर्थ समितिले काम गर्न पाएको थिएन।

यसैबीच आन्तरिक विवाद र सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले क्यानलाई ०७३ वैशाखमा निलम्बन गरेको थियो। त्यसपछि आइसिसीले नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आएको छ। २०७२ मा सर्वोच्च अदालतमा दायर मुद्दा भने अहिले पनि विचारधीन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.