|

बैतडी : दशैंको मुखमा समेत बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुले तलब पाएका छैनन्। प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीहरुले गत साउनदेखि तलब नपाएका हुन्। दशैंमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीहरुको गुनासो गरेका छन्।

दशैंमा समेत तलब नपाउँदा आफूहरुलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना भएको कृषि ज्ञान केन्द्रका कर्मचारीहरुले गत साउनदेखि तलब नपाएको चन्दको भनाइ छ।  उनले भने, ‘मेरो २६ वर्षे सरकारी जागिरको यात्रामा दशैंको बेला तलब नपाएको पहिलो पटक हो।’

यस्तै भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीका कर्मचारीहरुले पनि तलब पाएका छैनन्। दशैंअघि तलब पाउने आश मरिसकेको भेटनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्रका पशुसेवा प्राविधिक बिसन बिष्टले बताए।

डिभिजन वन कार्यालय, साविवको भूसंरक्षण कार्यालयका कर्मचारीहरुले पनि तलब पाएका छैनन्। प्रदेश सरकार मातहतका केही कार्यालयका कर्मचारीहरुले तलब पाए पनि चार वटा कार्यालयहरुको अख्तियारी नै नआएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक सूचना अधिकारी पूर्णानन्द जोशीले बताए। उनले भने, ‘अहिलेसम्म अख्तियारी नआएका कार्यालयको दशैंअघि अख्तियारी आउने सम्भावना कम छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.