|

पर्वत : म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका क्रममा ज्यान गुमाएकाहरु शव निकाल्न र बेपत्ताहरूको खोजी गर्न मौसमका कारण समस्या भएको छ। 

आइतबार बिहान ७ बजेबाट नै सिम्रिक एयरको हेलिकोप्टरबाट गुर्जा हिमालको आधार शिविरमा देखिएका ७ ओटा शव र बेपत्ता रहेका २ जनाको खोजी गर्ने तयारी गरिएको भए पनि गुर्जा हिमाल आसपासको मौसम सफा नभएका कारण हेलिकोप्टर पठाउन नसकिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए। उनका अनुसार हेलिकोप्टर पोखरा विमानस्थलमा तयारी अवस्थामा राखिएको छ भने मौसम खुल्ना साथ गुर्जा हिमालको आधार शिविरमा जाने छ। 

गृह मन्त्रालयसँगको समन्वयमा आधार शिविरमा जाने हेलिकोप्टरबाट सिधै अोर्लेर शव तान्नेदेखि बेपत्ताहरुको खोजी गर्न सक्ने प्राविधिकहरू रहने छन्। शुक्रबार राति उनीहरुको मृत्यु हुनसक्ने अनुमान गरिएपछि यसअगाडि शनिबार बिहान पनि सिम्रिक एयरकै हेलिकोप्टर उनीहरुको खोजीको लागि गुर्जा हिमालको आधार शिविरमा पुगेको थियो। तर मौसमको खराबी र हेलिकोप्टरबाट झर्न सक्ने दक्ष प्राविधिकहरूको अभावमा हेलिकोप्टर फर्किएको थियो।

हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ। उनीहरुको शव आधार शिविरको खोँच र भिरालो ठाउँमा रहेका रहेका कारण स्थानीयबासीले पनि उद्धार गर्न नसकेका हुन। गत २१ गते गुर्जा हिमाल आरोहणको लागि १० जनाको टोली आधार शिविर प्रस्थान गरेको थियो।

त्यसमध्येका एक जना कोरियन नागरिक आफूलाई असजिलो महशुस भएको भन्दै आधार शिविरमा नपुग्दै बिच बाटोबाटै फर्किएका कारण आधार शिविरमा ९ जनाको टोलीमा मात्र पुगेको थियो। २१ गते यात्रा प्रारम्भ गरेको टोली २५ गते बिहानबाट सम्पर्कविहीन भएको थियो। टोलीमा पाँच कोरियाली र  चार नेपाली नागरिक रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.