|

गुल्मी :  धुर्कोट गाउँपालिका–५ धनार्जीका रामप्रसाद भण्डारी उमेरले ६० कटिसके। लामो समय शिक्षण पेशा गरे। पेन्सन समेत पकाए। तर उनी २२ वर्षकै छँदा जग्गा लिएर बसोबास गरेको जग्गाको अहिलेसम्म लालपुर्जा छैन्।

बसोवास गरेको चार दशक बितिसक्दा पनि जग्गाको लालपुर्जा आफ्नो हातमा नहुँदा उनी निराश छन्। पटक–पटक आफूहरू बसेको जग्गाको नाप नक्सा भएको भए पनि आफ्नो हातमा लालपुर्जा नपर्दासम्म केही टुङ्गो नभएको गुनासो उनले गरे। धर्नाजी गाउँमा उनी मात्रै हैन ३० घरपरिवारहरूको समेत लालपुर्जा छैन। एक रोपनीभन्दा बढी जग्गा भएको बताउने उनले लालपुर्जा पाउने आशा मर्न लागेको बताए।

‘उमेरले नेटो काट्न लाग्यो, आफू त कति पो बाचिँएला र?’ उनले भन्छन्, ‘आफनो नाममा नभए पनि छोराको नाममा भएपनि लालपुर्जा बने हुन्थ्यो।’ गाउँकै एक विद्यालय सञ्चालनका लागि भन्दै अाफ्नो जग्गा बिक्री गरिएको उनले बताए। विद्यालयले नै चासो नदिएका कारण आफूहरूले लालपुर्जा नपाएको उनको गुनासो छ। ‘विद्यालयको नाममा त लालपुर्जा आएको छ भन्ने सुनिएको छ’ भण्डारीले भने ‘हामीले भने कहिले पाउने हो, टुङ्गो छैन।’

सोही ठाउँका दामोदर भण्डारीले पनि जग्गाको लालपुर्जा नभएकाले किनबेच गर्न समस्या भएको बताए। ४० बर्ष अगाडिदेखि  बसोवास गरेको जग्गाको पुर्जा बन्न नसक्नु दु:खद भएको उनको भनाइ छ। ‘हामीले व्यवहार कसरी चलाउने? समस्या कसैले बुझेका छैनन्’, उनले गुनासो पोख्दै भने ‘विद्यालय चलाउन पैसा दिएर जग्गा त पाइयो तर लालपुर्जा नहुदाँ कतै धितो राखेर कारोबार समेत गर्न पाइएको छैन।’

उनका अनुसार धनार्जी गाउँमा २० घरपरिवार बसोवास गरेका छन् भने लालपुर्जा नभएकै कारण १० घरपरिवारले अहिलेसम्म घर निमार्ण समेत गर्न सकेका छैनन्। लालपुर्जा नभएकै कारण भूकम्पले क्षति भएको घरका क्षतिपूर्ति पनि नपाएको स्थानीय बताउँछन्। 

जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले बसोबास भएर पनि लालपुर्जा नभएकाहरूका जिल्लामा थुप्रै भएको बताए। उनका अनुसार आर्थिक स्रोत नभएर विद्यालय स्वास्थ्य चौकी सञ्चालन गर्न सार्वजनिक जग्गा थुप्रै ठाउँमा बिक्री भएको छ। ‘धेरै स्थानमा यस्ता लालपुर्जा नभएका सर्वसाधारण छन्,’ पराजुलीले भने ‘छिट्टै पहल गरेर उनीहरूलाई पुर्जा दिलाउनुपर्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.