|

पर्वत : सवारी साधनले मनपरि भाडा असुली गरेपछि पर्वका ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधरणहरु चरम मारमा परेका छन्। पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोकेबमोजिम भए पन ग्रामीण क्षेत्रमा चल्ने सवारीले मनपरि भाडा असुली भइरहेको छ। 

गाडी चढेर यात्रा नगरौं सम्बन्धित ठाउँमा पुग्न घण्टौँ पैदल यात्रा गर्नुपर्ने, चढौँ भेडाबाख्रा खाँदिएजस्तै खाँदिएका यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुहरुको गुनासो छ। दशैंका बेलामा सडकमा सवारी साधन र यात्रुहरुको चाप छ। यस्तो मौकामा यातायात व्यवसायीहरुको मनपरि भाडा असुली गरिरहेका छन्। 

‘हिँडेर जान आउन कठिन भो, गाडी चढ्ने बानी पर्‍यो, चढौँ भने सवारीले मनपरि भाडा लिन्छन्,’ पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीका महेश्वर शर्मा भन्छन, ‘ यत्रो भाडा लाग्छ? भन्दा कन्डक्टरले भाडा नभए यहीँ झर्नुहोस्, हामीलाई यात्रुको अभाव छैन भन्छन्।’

पर्वतमा रहेको कुल एक हजार ४४ किलोमिटर सडकमध्ये ६३ किलोमिटर कालोपत्रे गरिएको, ६० किलोमिटर ग्राबेल गरिएको र ८८० किलोमिटर सडक कच्ची छ। कच्ची र ग्रामीण सडकमा चल्ने सवारीहरुको मनोमानी छ। अग्ला भीरमा रहेका, ग्रेड नमिलाइएका उकालो सडकमा समेत क्षमताभन्दा दोब्बर यात्रु राखेर गाडी कुदाउँदा जोखिम रहेको कुश्मा नगरपालिका–१४ आर्थरका शिवराम पौडेलले बताए

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतमा रहेको तथ्यांकअनुसार पर्वतमा रुट परमिट प्रदान गरिएका सडकमा जिपले प्रतिकिलोमिटर साढे आठ रुपैयाँ र बसले साढे सात रुपैयाँ लिने प्रावधान छ। तर, सवारी साधनहरुले भने तेब्बरसम्म भाडा असुली गरिहेको यात्रुको गुनासो छ। तर, व्यवसायीहरुले भने मनपरि भाडा नलिएको र क्षमताभन्दा धेरै यात्रु नराखेको दावी गर्दै आएका छन्। सीमित सवारी र यात्रीको चाप बढेका कारण यात्रु धेरै हुने र ग्रामीण क्षेत्रमा कालोपत्रे सडकजस्तो सहज नहुने भएकाले भाडा केही मात्र महँगो हुनु अस्वभाविक नभएको उनीहरुको तर्क छ।

‘गाडीमा चढ्न खोज्ने धेरै हुन्छन्, तँ चढ, तँ नचढ भन्न भएन। गाउँमै जाने गाडी त्यही गाउँका मान्छे त चढ्ने नै भए। त्यही पनि हामीले क्षमताभन्दा बढी त राखेका छैनौँ।’ यातायात व्यवसायी कुमार श्रेष्ठले भने, ‘पिचमा चल्ने गाडीको भन्दा ग्रामीण क्षेत्रमा चल्नेको भाडा केही महँगो त हुने नै भयो। त्यस्ता सडकमा बस चलाउँदा हामीले मोल्ने जोखिम र सवारी साधनको क्षति पिचमा चल्नेको कहाँ हुन्छ र?’

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले भने सवारी साधनले मनपरि भाडा लिएको भनी कुनै पनि उजुरी नआएको बताएको छ। यद्यपि, चाडपर्वको समयलाई ध्यानमा राखेर विभिन्न ठाउँमा ट्राफिक प्रहरी परिचालन गरेर भाडा असुली र क्षमताभन्दा बढी यात्रु राखे नराखेको विषयमा अनुगमन गर्ने र त्यस्तो गरेको पाइएमा तुरुन्त कारबाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.