|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन्। प्रहरी प्रधान कार्यालय काठमाडौंमा आइतबार आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र समुदायसँगको सहकार्यमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने उल्लेख गरे।

'देशको समस्या भनेको शान्तिसुरक्षा र स्थायित्वलाई कसरी सुदृढ गराउने भन्ने हो,' गृहमन्त्री थापाले भने, 'अपराधलाई निस्तेज पार्न समन्वय जरुरी छ।' प्रहरीले प्रस्तुत गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शान्ति सुरक्षा र स्थायित्वका लागि फलदायी हुने गृहमन्त्री थापाको विश्वास छ। उनले समुदायको साथ र संयुक्त साझेदारीले मात्रै स्थायित्व हुने उल्लेख गरे।

प्रहरीले ल्याउन लागेको संयन्त्र हरेक घटनाको निगरानी गर्न सक्षम हुने आशा उनको छ। सुशासन र सुरक्षा नभए राजनीतिक स्थायित्व र विकास पनि नहुने तर्क गृहमन्त्रीको छ। उनले सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिए।

गृहसचिव प्रेमकुमार राईले प्रहरीले ल्याएको अवधारणा पूर्णरुपमा कार्यान्वयन हुने हो भने शान्ति र सुरक्षा व्यवस्थित हुने बताए। 'यो कार्यक्रम लागू गर्न ढिला गर्नुहुन्न, मन्त्रालयले निर्णय गर्नुपर्छ भने गर्न तयार छ', राईले भने।

राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले १५औँ योजनामा उक्त अवधारणालाई समेत समावेश गरिने आश्वासन दिए। अर्का सदस्य डा कृष्णप्रसाद ओलीले वातावरण प्रदूषण र साइबर अपराध चुनौतीका रूपमा खडा भएको छ भन्दै स्रोतसाधन र संरचना निर्माण गरेर समन्वयात्मक ढङ्गले लाग्नुपर्ने बताए।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले प्रहरी सुधारको मार्गचित्रका रूपमा ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा आएको छ भन्दै पूर्ण अपनत्व लिएर काम गर्ने प्रतिबद्धता जनाए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्का, युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालले कार्यक्रममा आवश्यक सहयोग र समन्वय गरिने बताए। उनीहरूलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवधारणाबारे जानकारी दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.