|

दैलेखः गतसाउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका ८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बस्दै आएका ३० वर्षीय राउटे प्रकाश शाहीकी श्रीमती सुत्केरी भइन्। सत्र वर्षीया श्रीमती मिहीन शाहीबाट जुम्ल्याहा छोरी जन्मिए।

दुई जनाको परिवारमा दुई छोरी जन्मिएपछि उनीहरूको खुशीको सीमा नै रहेन। त्यतिबेला सुत्केरी श्रीमतीलाई पोशिलो खानाका रुपमा भात खुवाउन प्रकाश ओखलमा धान कुट्न व्यस्त देखिन्थे। असोज पहिलो साता उनीहरू गर्चामा रहेको पातलेखोला किनार छोडेर बसाइँ सरी गुराँस गाउँपालिका ८ कै पाखापानी उक्लिए।

गर्चामा बसोबास गर्दा प्रकाशको परिवारमा देखिएको खुशी एक महिना पनि टिक्न सकेन। त्यसको कारण थियो जन्मिएका जुम्ल्याहा दुबै छोरीको मृत्यु। घुम्दै-फिर्दै हिँड्ने राउटे अहिले सुर्खेतको लेकबेशी नगरपालिका-९ पुगेका छन्। फिरन्ते जीवन अपनाउने यो समुदाय अलग-अलग छाप्रामा बस्छन्। त्रिपाल र पातपतिङ्गरले छाएको बस्तीको बीचैमा एउटा छाप्रो छ। अन्य छाप्रामा जस्तो त्यहाँ कुनै चहल-पहल देखिन्न। त्यही छाप्रोमा प्रकाशका दम्पति आगन्तुकतर्फ टुलु-टुलु हेरिरहेका हुन्छन्। भर्खरै जन्मिएका दुई सन्तान गुमाएको पीडा उनीहरूको अनुहारमा प्रस्टै देखिन्छ।

राउटे जातिका बालबालिकाको अवस्था दयनीय छ। सरसफाइमा ख्याल नगर्नु,साना बालबालिकाले न्यानो कपडा नलगाउनु,पोषणयुक्त खानपिनमा कमी, स्याहार-सुसारमा कमीजस्ता कारणले पछिल्लो तीन महिनामा तीन बालबालिकाको ज्यान गइसकेको छ। मृत्युको क्रम बढेसँगै राउटेको जनसंख्या घट्दै गइरहेको छ। गत साउनमा १५१ रहेका राउटे घटेर अहिले १४८ मा झरेको छ।

दैलेखमा बस्दा दुई बालिकाले ज्यान गुमाएपछि सुर्खेतको लेकबेँसी नगरपालिकामा बसाइँ सरेका राउटे समुदायमा  फेरि चार वर्षीया बालिकाकाे ज्यान गयो। राउटे चन्द्रमानजित शाहीका चार वर्षीया छोरी टोपी शाहीको लगातार खोकी लागेर ग्रस्त हुँदै अकालमै ज्यान गयो। यी तीनै बालबालिका मात्र नभई अहिले उक्त समुदायका अन्य बालबालिका पनि बिरामी छन्।

वर्षातको समयमा दैलेखमा चिसोमा रहेका राउटे समुदाय एक्कासी सुर्खेतमा पुगेका कारण मौसम परिवर्तनले बालबालिकामा समस्या उत्पन्न भएको राउटे परियोजनामा खटिएका अहेव विनोदकुमार बिसीले बताए। सरसफाइमा ध्यान नदिनु, साना बालबालिकाले न्यानो कपडा नलगाउनु, खानपिनमा ध्यान नदिनु, बालबालिकालाई स्याहार-सुसारमा कमीलगायत कारण बालबालिका जोखिममा परेको उनको भनाइ थियो।

बिसीका अनुसार उक्त समुदायका धेरैजसो बालबालिका र वृद्धवृद्धाले औषधि खान मान्दैनन्। राउटे समुदायका बालबालिका मात्रै होइन वृद्धवृद्धा पनि जोखिममा छन्। समुदायका ६० वर्षीय कान्छाराम शाही एक सातादेखि बिरामीले थलिएका छन्।

आफूलाई जंगलका राजा भनेर चिनाउने राउटे समुदायमा चर्को घाम र पानी छल्न बनाइएका टहरा, आधा शरीर ढाक्ने एकसरो कपडा नवजात शिशुका लागि घाँसको ओछ्यान, बेवारिसे सुत्केरी महिलाको दृश्य देख्दा उक्त समुदायका बालबालिका र वृद्धवृद्धा जोखिममा रहेको अनुमान गर्न सकिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.