|

उदयपुरः नेपाली शिक्षा नीतिको बारेमा तितो सत्य चलचित्रको पर्दा उतारिएको फिल्म छक्का पन्जा तीन हो,’ शनिबार दिउँसो गाईघाटको शुभलक्ष्मी हलबाट बाहिरिदै खोटाङ चिसापानी माध्यमिक विद्यालयका शिक्षक ललित राईले भने, ‘म पनि सामुदायिक विद्यालयको स्थायी शिक्षक हुँ, वास्तमा हाम्रा सामुदायिक विद्यालयमा हुने बेथितिका बारेमा कथा कोरिएको पाएँ।’

घटस्थापानको दिनदेखि रिलिज भएको चलचित्र छक्कापन्जा तीन देशभरका चलचित्र हलमा एकसाथ प्रर्दशन भइरहेको छ। त्यही चलचित्र हेरेर बाहिरिएका अर्का उदयपुरको उदयपुरगढी गाँउपालिकाको जल्नेकनी माध्यमिक विद्यालयका शिक्षक यलम्वरमान राईले चलचित्रको कथाले शिक्षा क्षेत्रको वर्गीय विभेदलाई समेटेको बताए। ‘सरकारी नीजि क्षेत्रको क्षेत्रको विभेदलाई पनि समेटेको छ,’ उनले भने, ‘देशमा २०४६ सालको परिवर्नतनपछि सरकारी सामुदायिक विद्यालयमा हुने विकृतिलाई पनि छक्का पन्जाले तीनले कडा व्याङ्ग्य गरेको पाएँ।’

जातीय विभेद, विद्यालयमा हुने राजनीति, गरिबी, अशिक्षा र बेरोजगारी जस्तो संवेदनशिल विषयमा छक्का पञ्जा तीनको कक्षमा भेटेको दर्शकहरूको भनाइ छ। शनिबार गाईघाटको बिहानी र दिवा शोमा छक्कापन्जा हेरेर फर्केका दर्शकहरूले छक्का पन्जा तीनलाई शिक्षा क्षेत्रसँग जोडेर व्याख्या गरेका छन्। सरकारी र सामुदायिक विद्यालयमाका शिक्षकहरूले गर्ने घर जग्गा कारोवार, खेताला शिक्षक राख्ने, विद्यार्थीको उच्च संख्या देखाएर सरकारी सेवा सुविधा लिने, भौतिक पूर्वाधारतर्फ विद्यालय व्यवस्थापन समिति, स्रोत व्यक्ति अनि प्रध्यानध्यापक मिलेर गर्ने भ्रष्टचारलाई जस्ताको तस्तै उतारको दर्शकहरूको बुझाइ छ।

‘विद्यालयमा हुने राजनीतिक गतिविधिले शिक्षा क्षेत्रलाई जसरी गाँजेको छ,’ चलचित्र हेरेका उदयपुरका पत्रकार गणेश उप्रेतीले भने, ‘त्यसरी नै विद्यालयमा हुने छक्का पञ्जाको बारेमा कथा पाइयो।’

उदयपुरको गाईघाटका अधिकांस दर्शकले केही चट्नीको रूपमा माया प्रितिको कथा समेटिए पनि नेपाली शिक्षा क्षेत्रको बेथितिलाई लिएर फरक प्रकारको कथा भेटेको दावी गरेका छन्। ‘हाम्रा गाँउघरका विद्यालयमा हुने राजनीतिक कार्यक्रमभन्दा बाहेक विहे भोज, ब्रतबन्धन कार्यक्रम, समूहका छलफललाई देखाइएको छ,’ दर्शक रिता खत्रीले भनिन्, ‘चलचित्रको सुरुमा शिक्षा मन्त्रीले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापकलाई शिक्षा अधिकारीले कारवाही गर्न खोज्दा मन्त्रीले जोगाए, पछि प्रधानमन्त्रीको फोन आएको दृश्य छ, त्यसरी सरकारी सामुदायिक विद्यालयका शिक्षकलाई लगाम लगाउने हो भने शिक्षा क्षेत्रमा सुधार हुने प्रष्ट छ।’

छक्का पन्जामा तीनमा सामुदायिक विद्यालय र नीजि विद्यालयको विभेदसमेत देखाइएको छ। विद्यालयमा हुने राजनीतिक भागबण्डालाई हुबहु उतारिएको कथा भएकाले प्रत्येक विद्यालयमा देखउँदा पनि फरक नपर्ने दर्शको अनुभव छ। ‘नीजि विद्यालयमाभन्दा पनि सरकारी विद्यालयमा धेरै राम्रा शिक्षकहरू छन्,’ उनले भने, ‘छक्कापञ्जा तीनमा जसरी शिक्षकहरूले आन्दोलन गरेर डेक्स बेन्च जलाएको दृश्य छ, वास्तमा गाँउघरका विद्यालयमा शिक्षकहरूको चरित्र त्यस्तै छ।’

विद्यालय समयमा तास खेल्ने, खेतला शिक्षक लगाएर अन्य काममा जाने, प्रधानाध्यापकलाई नटेर्ने, पढाउँदा पढाउँदै कक्षा छाड्ने सरकारी शिक्षकलाई तिखो व्याङ्ग्य प्रहार गरिएको छ। ‘सरकारी विद्यालयमा पढ्नेहरू खाँडीमा, बोडिङमा पढ्नेहरू गाडीमा’ भनेर एक तितो सत्य डाइलगलले दर्शक मर्माहित भएको पाइएको छ।

चलचित्रमा कलाकार दीपकराज गिरी ‘राजा’ आमाको लागि छाडेर गएकी श्रीमती (बुहारी) ल्याउनु पर्ने वाध्यता छ। त्यही बाध्यताले विद्यालय सुधार गरिएको देखाइएको छ। त्यसरी नै सरकारी सामुदायिक विद्यालयको पठपाठन सुर्धान गर्न सक्ने अवस्था प्रशस्त भएको छक्का पञ्जा तीनमा झल्काइएको दर्शक शिवराज दाहालको तर्क छ। हाँस्य कलाकाहरूको टिमले निर्माण गरेको फिल्म भए पनि शिक्षा क्षेत्रको विकृतिलाई पर्दामा उतारिएको संज्ञा दिने दर्शक बाक्लै भेटिए।

गाउँघरमै भएका दक्ष युवा शक्तिलाई सरकारी विद्यालयले प्रयोग गर्न नसकेर विद्यालयमा शिक्षकको अभाव हुने, पाठ्यापुस्तकको अभाव हुने समस्यासमेत देखाएको छ। शिक्षा क्षेत्रको विकृतिलाई मूल मर्म बनाएर निर्माण गरिएको कथामा मायाप्रतिका कुरा, हाँस्य व्याङ्ग्य, विद्यालयमा हुने राजनीतिक समस्यालाई उजागर गर्दै सरकारी र गैरशिक्षा नीतिलाई अन्त्य गरी एउटै शिक्षा नीति बनाउन सकिने संकेत छक्का पञ्जाले तीनले दिएको दर्शको बुझाइ छ।

तेस्रो पटक दीपाश्री निरौलाले निर्देशन गरेको छक्का पञ्जा तीनमा दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेललगायत हास्यकलाकारको जम्बो टोलीसहित प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउतलगायतको अभिनय छ।

पहिलो छक्का पञ्जाले नेपाली फिल्म इतिहासमै सर्वाधिक कलेक्सन गर्न सफल भएको थियो। १६ करोडमाथि कलेक्सन गरेपछि ‘छक्का पञ्जा’ को सिरिज निर्माण हुने क्रम सुरु भएको हो। दीपकराज गिरी र दीपाश्री निरौलाको सहकार्यबाट फिल्मको तेस्रो सिरिजको छक्का पञ्जा तीन आएको हो।

‘पहिलो नम्बरमा’ र ‘पछि उमेर ढल्किन्छ’ गीतले यो फिल्मको राम्रो हाइप निर्माण गरेको छ। कमेडी भर्सेज कन्टेन्ट ट्रेलरले फिल्मप्रति दर्शकमा कौतुहलता बढाएको छ। दीपाश्रीको निर्देशित छक्का पञ्जा तीनको कथा दीपकराजले कथा लेखेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.