|

  • नीरज गौतम

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगर महेन्द्र बहुमुखी क्याम्पसमा कानुन विषय अध्ययनका लागि भर्ना भएकी छन्। ‘न्यायिक समितिको जिम्मेवारी निर्वाह गर्न कानुन जान्नै पर्ने भएकाले क्याम्पसमा एलएलबी अध्ययनका लागि भर्ना भएकी हुँ,’ उनले भनिन्।

उपप्रमुख मगर मात्र होइन उक्त क्याम्पसमा एलएलबी अध्ययनका लागि अन्य जनप्रतिनिधि पनि भर्ना भएका छन्। कैलाली घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी, पूर्वमन्त्री सर्वदेव ओझा, वडा अध्यक्षलगायत जनप्रतिनिधि अहिले उक्त क्याम्पसमा भर्ना भएका छन्। ‘नयाँ ऐन, कानून जान्नैपर्ने भएकाले कानूनको विषयमा पढन भर्ना हुन चाहेको हुँ’, प्रवेश परीक्षा दिन आएका सल्यान क्याम्पसका प्राध्यापक मानबहादुर बीएमको भनाइ छ।

दुई वर्षयता उक्त क्याम्पसमा एलएलबी विषय पढ्ने विद्यार्थीको संख्या अप्रत्यासित रूपमा बढेको छ। क्याम्पसमा करीब एक हजार ४०० भन्दा बढीले एलएलबी अध्ययन गर्न प्रवेश परीक्षाका लागि आवेदन दिएका छन्। ‘एलएलबी अध्ययनका लागि आवेदन दिनेमा अरू विषयमा स्नातक र स्नातकोत्तर गरिसकेकाकै संख्या बढी छ’–निमित्त क्याम्पस प्रमुख निरञ्जन ज्ञवाली बताउँछन्। विसं २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि थुप्रै कानून परिवर्तन भएका छन्। मुलकी ऐन (मुलकी सहिंता)समेत थुप्रै परिवर्तन गरिएको छ।

मुलुकमा भएको कानुनी परिवर्तनसँगै कानुन विषय पढनेको आकषर्ण पनि ह्वात्तै बढेको छ। ‘शिक्षण पेशामा पनि नयाँ कानून जान्नैपर्ने भएकाले कानुन विषय पढ्न भर्ना हुन चाहेको हुँ’—एमबीएस र बीएड गरेका सुर्खेतका शिक्षक रणबहादुर खत्रीको कथन छ। उनसँगै धनगढीका तेजबहादुर सिंहलगायत थुप्रै पेशाकर्मी एलएलबी पढन अग्रसर छन्।

उक्त क्याम्पस पश्चिम क्षेत्र बुटवलपछिको सबैभन्दा पुरानो क्याम्पस हो। एलएलबी विषय बुटवलपछि नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा मात्र अध्यापन हुँदै आएको छ। दुईवर्ष पहिले महेन्द्र बहुमुखी क्याम्पसमा ९३ विद्यार्थी मात्र एलएलबी विषय अध्ययनका लागि भर्ना भएका थिए भने अहिले ७९८ विद्यार्थी अध्ययनरत छन्।

यो वर्षमा एलएलबी पढ्नका लागि उक्त क्याम्पसमा करीब एक हजार ४०० विद्यार्थीले प्रवेश परीक्षा दिएका छन्। विशिष्ट ओहदामा बसेका व्यक्तिलाई काम गर्न कानुनको बारेमा ज्ञान हुनैपर्ने र राज्यको पुनःसंरचनासँगै कानुन विषय पढेकाले रोजगारी पाउने सम्भावना देखिएकाले एलएलबी अध्ययनप्रति विद्यार्थी र पेशाकर्मीको आकर्षण बढदै गएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.