|

तनहुँ : पर्यटकीय गन्तव्य बनाउनका लागि व्यास नगरपालिका–३ ले निःशुल्क वाईफाई सुविधाको सुरुवात गरेको छ। यस समयमा पर्यटकहरू वृद्धि हुने र बिदाको समयमा घुम्न आउनेहरूलाई आकर्षण गर्ने उद्देश्यले वडाले वाईफाई निःशुल्क जडान गरेको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय तनहुँले भेटघाट वर्षको रूपमा अगाडि बढिरहेको अवस्थामा व्यास ३ पराशर टोलस्थित अनशन चौतारा लाइनमा आइतबारदेखि निःशुल्क वाईफाई सुविधा जडान गरिएको हो। वडा कार्यालय र वर्ल्डलिंक कम्युनिकेशनबीच सम्झौता भई कम्पनीले पाँच वर्षका लागि निःशुल्क रुपमा वाईफाई सेवा उपलव्ध गराएको छ।

वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठ, सदस्य रबिन पौडेल, चौतारा निर्माण समितिका अध्यक्ष सुदीप काफ्ले र कम्पनीका तर्फबाट प्रबन्धक मनोज मल्लले आइतबार सम्झौतामा हस्ताक्षर गरी वाईफाईको औपचारिक सुरुवात गरिएको व्यास ३ को वडा कार्यालयले जनाएको छ।

पार्क निर्माणको योजना डिजाइन बन्ने क्रममा रहेको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तथा अस्पताल क्षेत्र एवं चौतारामा विश्राम गर्ने स्थल भएकाले जनतालाई निःशुल्क इन्टरनेटको प्रयोगको व्यवस्था गरिएको वडा सदस्य रबिन पौडेलले जानकारी दिए।

एकै पटक सय जनाले प्रति व्यक्ति २ एमविपिएस डाटा बराबरको इन्टरनेट प्रयोग गर्न पाउने गरी वाईफाईको व्यवस्था गरिएको वर्ल्डलिंक दमौली शाखाका प्रमुख मनोज मल्लले बताए। उनका अनुसार लगातार एक घण्टा चलाएपछि भने पुन कनेक्ट गर्नुपर्नेछ। साइवर क्राइम रोक्नका लागि यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ। वर्ल्डलिंककै ग्राहकको हकमा भने आफ्नै युजर नेम राखी लगातार प्रयोग गर्न पाइने बताइएको छ।

चौतारा निर्माण समितिको आग्रहमा वर्ल्डलिंकले सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क रूपमा वाईफाईको व्यवस्था गरेको समितिका अध्यक्ष सुदिप काफ्लेले जानकारी दिए।

३२५ फुट लम्वाईको अपांगमैत्री चौतारा सम्भवत देशकै पहिलो हुन सक्ने भन्दै अध्यक्ष सुदीप काफ्लेले चौतारालाई नमूना बनाउने अभियान अन्तर्गत समितिको आग्रहमा कैलाश बैंकले बत्ती जडान र वर्ल्डलिंकले इन्टरनेट जडान गरिदिएको बताए। जडान तथा धरौटीका लागि सुरुमा लाग्ने १७ हजार र उपकरणका लागि लाग्ने विद्युतको व्यवस्था वडा नं. ३ ले व्योहोर्नुपर्नेछ भने वाईफाई पाँच वर्षका लागि निःशुल्क प्रयोग गर्न पाउने सम्झौतामा उल्लेख गरिएको छ।

सो क्षेत्रलाई रात्रिकालीन पर्यटकीय गन्तव्यका रूपमा समेत विकास गर्ने दीर्घकालीन लक्ष्य वडाले लिएको छ। कुल २२ लाख आठ हजार लागत लागेको चौतारा निर्माण योजनामा १८ लाख ४२ हजार प्राप्त भएको समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.