|

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नो टिमलाई स्थिर बनाउन सकेका छैनन्। आफ्ना सहयोगीदेखि मन्त्रीहरूलाई उनले फेरेका छन् भने कतिपयले उनलाई छोडेर गएका छन्। यो क्रमले अन्त्यको रूप लिएको छैन। ट्रम्पको टिमबाट अब बाहिरिने पालो रक्षामन्त्री जिम म्याटिसको देखिएको छ।

ट्रम्प स्वयंले रक्षामन्त्री म्याटिसलाई ‘डेमोक्र्याट जस्तो’ (प्रतिपक्षी पार्टीको समर्थक) भन्दै उनलाई टिमबाट बाहिर्‍याउने संकेत गरेका छन्। ट्रम्पले एक अन्तर्वार्तामा म्याटिसलाई बाहिर गर्ने संकेत गरेका हुन्।

म्याटिसलाई राष्ट्रपति ट्रम्पको मन्त्रिपरिषद्को केही स्थिर तथा स्वतन्त्र सदस्यहरूमध्ये एक सदस्यका रूपमा लिने गरिन्थ्यो। अमेरिकी पत्रिका सीबीएसलाई दिएको अन्तर्वार्तामा म्याटिसलाई विदा गर्न लागिएको हो भन्ने प्रश्नमा ट्रम्पले उक्त सम्भावना रहेको बताएका हुन्।

राष्ट्रपति ट्रम्पले भनेका छन्, “मेरो ट्रविचारमा उहाँ डेमोक्रेटजस्तो हुनुहुन्छ त्यसैले उहाँले विदा लिन पनि सक्नुहुन्छ।” उनले थपेका छन्, “यद्यपि जनरल म्याटिस असल व्यक्ति हो। हामी सँगसँगै र राम्रो सम्बन्धका साथ काम गर्‍यौँ। उहाँले छोड्न सक्नुहुन्छ। मतलव कुनै बिन्दुमा सबैले छाड्नुपर्छ।” 

आफूले अवकाश प्राप्त जनरल म्याटिसलाई दुई दिन पहिले भेटेको बताउँदै उक्त अवसरमा भने उनलाई विदा दिने विषयमा कुनै कुराकानी नभएको ट्रम्पको टिप्पणी थियो।

ट्रम्पले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतबाट निक्की हेलीको राजिनामापछि आफ्नो मन्त्रिमण्डलमा केही परिवर्तन गर्न चाहेको बताएका छन्। उनले भने, “मैले परिवर्तन चाहन्छु। यो मेरो अधिकारको कुरा पनि हो। मसँग अहिले धेरै असाधारण व्यक्तिहरू प्रशासनमा आउन आतुर छन्। उनीहरूले अमेरिकी नागरिकको हितमा असाधारण काम गरेर देखाउने छन्।”

ट्रम्पले भनेका छन्, “हामीसँग मन्त्रिमण्डलका उत्कृष्ट सदस्यहरू छन् तर केहीको कामप्रति म खुसी छैन उनीहरूको सट्टामा अन्य राम्रा व्यक्तिले मौका पाउन सक्छन्।”

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.