|

कालिकोट : दशैँ बिदामा रारामा घुम्ने आउने आन्तरिक पर्यटक चाप बढेको छ। दशैँ बिदासँगै मौसम अनुकुल भएका कारणले रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको हो । 

कर्णाली राजमार्गअन्तर्गत नाग्मादेखि मुगुको गमगढीसम्मको ९५ किमि सडकखण्ड आएपछि यहाँ आन्तरिक पर्यटक बढेका हुन्। राजमार्गसँगै मुगुको ताल्चा विमानस्थल केही स्तरोन्नति भएका कारण आन्तरिक पर्यटक आउन थालेको रारा डाँफे होटेलका म्यानेजर लोकेन्द्र बमले बताए। ‘पहिलाभन्दा आजभोलि पर्यटक निकै आउने बढेका छन् ’, उनले भने, ‘विमानस्थलको पनि केही स्तरोन्नति भएका कारणले पर्यटकको संख्या बढेको हो।’

रारास्थित डाँफे होटलका म्यानेजर बमका अनुसार असोज लागेयता दैनिक दुई सयभन्दा बढी पर्यटक त्यहाँ पुग्ने गरेका छन्। तीमध्ये केही  भारतीय पनि हुन्। ‘दिनहुँ मोटरसाइकलबाट ३०० को हाराहारीमा  अाउने गरेका छन्’, उनले भने। 

नौ परिवारले रारामा दशैँ मनाउने

गत  वर्ष तीन जनाको परिवारले रारामा दशैँ मनाएका थिए। यो वर्ष नौ परिवारले होटल बुकिङ गरेको रारास्थित भिलेज हेरिटेज रिसोर्टका सञ्चालक राजु कार्कीले बताए। 

दशैँमा रारामा रमाउन चाहनेहरूलाई यहाँका होटेलहरूले तीन रात चार दिनको प्याकेज बनाएका छन्। त्यसका लागि एक हवाइजहाज चढेर रारा जानेहरूलाई प्रतिव्यक्ति ३५ हजार रुपैयाँ लाग्छ।

गाडी चढेर रारा पुग्नेलाई होटेलहरूले सात दिनको प्याकेज बनाएका छन्। यसका लागि प्रतिव्यक्ति २५ हजार ५०० रुपैयाँ लिने गरेका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.