श्रीपेच, राजदण्ड, टायरालगायत १२ वस्तुको प्रदर्शनी सर्वसाधारणका लागि खुला

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनता शक्तिशाली र सार्वभौम रहेको बताएका छन्। सोमबार नारायणहिटी संग्रहालयमा पूर्वराजाको श्रीपेच, मुकुट र राजदण्ड लगायतका सामग्रीको सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले जनता शक्तिशाली रहेको प्रमाण नेपालको राजसंस्थाको अन्त्य र गणतन्त्रको स्थापना भएको बताए।

प्रधानमन्त्रीले भने, 'जन्मसिद्ध शासकीय सिद्धान्त तर्कयुक्त छैन। जनताबाट निर्वाचित जनताको शासन नै सर्वशक्तिमान र तर्कयुक्त छ। यसले नेपालको परिवर्तन कहाँ पुग्यो भन्ने कुरा यसले पुष्टि गर्दछ।' उनले राष्ट्रियता लगायतका विषयमा विगतमा राणा शासक, राजा, मल्ला शासकले गरेका कामहरूको सदैव स्मरण गरिने पति बताए।

ओलीले चीनका अन्तिम बादशाहको पुस्तकका केही लाइन स्मरण गरे। उनले भने, 'बादशाह भित्रबाट खोक्रो, त्रशित हुन्छन्। त्रशित भएको नदेखियोस्, खोक्रोपन नदेखियोस् भनेर श्रीपेच, अनौठो पहिरण, तरबार बोकेका हुन्छन्। जसले त्यहाँ शक्ति छ भन्ने कुरा देखाउँछ', प्रधानमन्त्री ओलीले थपे, 'तर, शक्ति श्रीपेचमा हुदैन। शक्ति जनतामा हुन्छ। शासकले खोक्रोपन, त्रासलाई ढाक्नका निम्ति र जनताले आफूलाई शक्तिशाली मानेर भ्रमपूर्ण ढंगले बुझुन भनेर श्रीपेच लगाउथे।'

प्रधानमन्त्री ओलीले राजतन्त्र, राणा शासनको अन्त्य र जनआन्दोलन लगायत सबै आन्दोलनको निष्कर्षका रूपमा पूर्वराजसंस्थाले प्रयोग गरेको श्रीपेच, राजदण्ड, लगायतका सामग्री प्रदर्शनीमा राखिएको बताए। उनले यसले सहिदहरूलाई सम्मान मिलेको पनि बताए।

प्रधानमन्त्री ओलीले जनताले ढालेको राजतन्त्रलाई विश्वमा कतैपनि सुख सयलका साथ बस्न नदिइएको बताए। उनले नेपालमा भने राजसँस्था इतिहास भएकाले संग्रहालयमा सुरक्षित राखिएको बताए। उनले नारायणहिटी दरबार संगहालयलाई इतिहास संग्रहालयका रूपमा विकास गरिने बताए। उनले भने, 'विगतमा महत्त्वपूर्ण काल, आन्दोलनका पनि इतिहास झल्किने कुरा राख्छौँ। नायकहरूले नायकत्व गर्छन्, मैदानमा खटिने त अर्कै हुन्छन्। तर, इतिहास भने दरबारमै संग्रहित गरिएका हुन्छन्।' विभिन्न देशका राजाहरूका दरबारलाई संग्रहालय बनाएझैँ नारायणहिटी दरबार संग्रहालयलाई पनि विकास गर्ने र राष्ट्रिय इतिहास संग्रहालयका रूपमा स्थापित गरिने उनको भनाइ थियो। उनले गोपाल वंश देखि शाहकालसम्मका संस्कृति झल्किने गरी संग्रहालयको विकास गरिने बताए।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राजसंस्थाले २०६३ वर्षसम्म प्रयोग गरेको श्रीपेच गणतन्त्र स्थापना भएको १० वर्षभन्दा बढी समयपछि सर्वसाधारणका लागि खुला गरिएको बताए। उनले यो काम योजनावद्ध रूपमा भएको जानकारी दिए। उनले भने, 'पूर्णरुरुपमा सुरक्षित हुनेगरी प्रदर्शनीमा राखेका छौँ। नारायणहिटीका सामानहरू जस्ताको तस्तै छन्।'

श्रीपेच, राजदण्ड, टायरा लगायत १२ वस्तुको प्रदर्शनी सर्वसाधारणका लागि खुला गरिएको पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए। अहिले संग्रहालयमा राखिएको श्रीपेच राजा वीरेन्द्रका पालादेखि प्रयोगमा आएको दाहालले जानकारी दिए। जसमा ७३० हिरा, २३७२ मोती, १६ मणिमाणिक्य लगायत बहुमूल्य धातु जडित रहेको श्रीपेच भएको दाहालले जानकारी दिए।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.