मेलम्ची सुरुङको अन्तिम काम ७.३ किमी बाँकी

|
फाइल फोटो

सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७.३ किमी बाँकी छ।

सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुन सके अबको ३५ दिनभित्र सम्पन्न हुने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।

सिन्धु, ग्यालथुम र अम्बाथानसहित तीन पहुँचमार्ग नजीक काम पुगेकाले दैनिक कामको गतिमा तीव्रता आएको छ। गत हप्ता दैनिक २०० देखि २९४ मिटरसम्म ढलान भएको थियो। ठेकेदार कम्पनीको आन्तरिक कमजोरीका कारण काममा ढिलाइ भएकामा समस्या समाधान भइसकेकाले अबका दिनमा दैनिक सरदर २५० मिटरसम्म ढलान गर्न ठेकेदार कम्पनी सहमत भएको छ। दशैं र तिहारजस्ता चाडपर्वमा काम रोकिने हुँदा एक महीनाभन्दा बढी समय लाग्ने बताइएको छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ अम्बाथान मुहानको बाँध बाँध्ने काम वर्षात्मा खोलामा पानी बढेकाले स्थायी रुपमा बनाउन नसकी बाँकी रहे पनि अस्थायी रुपमा अर्कै बाटाबाट स्टिलको पाइप जडान भइसकेकाले सुरुङभित्र पानी हालेमा कुनै बाधा नपर्ने सूचना अधिकारी पन्तले बताए। उनका अनुसार सुरुङभित्र तीन ठाउँमा भ्याण्टिलेशन जडान गर्नुपर्ने हुँदा सबै उपकरण आइसकेकाले अब सो काम पनि चाँडै हुनेछ।

हेलम्बुको अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङको काम गत चैत २७ गते भएको थियो। चैत २९ गते उपराष्ट्रपति र खानेपानी तथा शहरी विकासमन्त्रीले आयोजनाको मुहानस्थलमा औपचारिक कार्यक्रमसहित सम्पन्न भएको घोषणा गरेका थिए।

नेपाल सरकारले इटालेली कम्पनी कोअपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना सिएम्सीसँग सुरुङ निर्माणको ठेक्का सन् २०१३ मा सम्झौता गरेको थियो। निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप गरिएको थियो। पछिल्लो समय पनि खानेपानी मन्त्रालयले ठेकेदार कम्पनीको मागअनुसार थप रकम भुक्तानी गरी दशैं अगाडि मेलम्ची पानी सुन्दरीजलमा झार्ने शर्तमा गत असारमा तीन महीनाको म्याद थप गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.