|

काठमाडौं : शाहवंशीय राजाहरूले लगाउने श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नारायणहिटी दरबार संग्रहालयामा आयोजित एक समारोहबीच उद्घाटन गरेसँगै श्रीपेचसहितका १२ वटा महत्वपूर्ण सामग्री पनि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन्। नारायणहिटी संग्रहालय पुग्ने सर्वसाधारणले अब सो संग्रहालयको सुर्खेत र रुपन्देही कक्षमा श्रीपेचसहितका दरबारका मुख्यमुख्य सामग्री राजदण्ड, रानीको मुकुट, तरबार, झारीलगायतका सामग्री पनि अवलोकन गर्न पाउनेछन्।

सर्वसाधारणको अवलोकनका लागि राखिएको श्रीपेचमा ७३० वटा हिराको दाना, २ हजार ३७२ वटा मोतीका दाना, ४७ वटा पन्ना, १६ वटा मणिमाणिक्यजस्ता रत्न जडित छन्।

शाहवंशीय राजाहरूले शक्तिको प्रतिकको रूपमा श्रीपेच र राजदण्डलाई धारण गर्ने परम्परा थियो। पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहालका अनुसार अवलोकनका लागि राखिएको श्रीपेच पूर्वराजा वीरेन्द्र शाहका लागि तयार गरिएको थियो। काठमाडौंका प्रेमलाल श्रेष्ठले २०२८ सालमा श्रीपेच तयार गरेका थिए। शाहवंशीय राजा राजेन्द्र वीरविक्रम शाहदेवको पालादेखि चलनमा ल्याइएको श्रीपेच राजाहरूले राज्यरोहण, राज्याभिषेक, छोरीको कन्यादान गर्ने बेला, युवराज्ञीलाई भित्र्याउँदा तस्वीर खिचाउने बे टाउकोमा लगाउने चलन रहेको थियो। शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहले २०६५ साल जेठ २९ गते दरबार छाडेसँगै श्रीपेचलाई दरबारको सैलुन कक्षमा राखिएको थियो। तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकमा गणतन्त्र स्थापना भएसँगै दरबार छोडेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालको राष्ट्रिय झण्डोत्तोलन गरी सो दरबारलाई नारायणहिटी संग्राहलयको रूपमा घोषणा गरेका थिए।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६५ साल फागुन १५ गते सर्वसाधारणका लागि खुला गरेको संग्राहलयमा राजदरबारसँग सम्बन्धित धेरै सामग्री सर्वसाधारणले अवलोकन गर्दै आएका थिए। सरकारले आवश्यक सुरक्षाको व्यवस्था गरी राजदरबारको सबैभन्दा महत्वपूर्ण सामग्री श्रीपेचलाई सर्वसाधारणका लागि अवलोकन गर्न मिल्ने गरी सार्वजनिक गरेको हो। बुलेट प्रुफ सीसासहितको सोकेसमा श्रीपेच राखिएको छ। नेपालको शाहवंशीय राजाले लगाउने श्रीपेच विश्वकै लागि आकर्षणको केन्द्र हुने विश्वास गरिएको छ।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.