|

विराटनगर : नेपालको सबैभन्दा पहिलो उद्योग ऐतिहासिक विराटनगर जुट मिल्सले आफ्नो उत्पादन बिक्री गर्ने तयारी गरेको छ। पछिल्लो पटक जुट मिल्स संचालन भएको ढेड महिनापछि र उत्पादन बन्द भएको १० वर्षपछि हालै उत्पादित २४ टन जुटको सुतली बिक्री गर्ने तयारी गरेको हो।

मिलले ७२ इन्च र ९० इन्च जुटको सुतली उत्पादन गरेको छ। ७२ इन्चको ७ टन, ९० इन्चको १५ टन सुतली उत्पादन गरेको विराटनगर जुट मिलको अध्यक्ष वसन्त  वनले जानकारी दिए। ९० इन्च लामो सुतली भारतको बिक्री गर्ने तयारी गरिएको छ भने ७२ इन्चको स्वदेशको उद्योगमा बिक्री गर्ने बताइएको छ। मिल संचालनमा आएको ढेड महिनामा उत्पादन जुटको सुतलीहरू बिक्री गर्ने तयारी गरिएको हो। ‘मर्मत पछि मिल पुन रुपमा चल्दै आएको छ,’ अध्यक्ष वनले भने, ‘उत्पादन भएको जुट दशैं अगाडि बिक्री गर्ने तयारी गरेका छौं। दशैंपछि हामीले बोरा उत्पादनको तयारी गर्दैछौं।’ 

बोरा उत्पादनका लागि प्रक्रिया अगाडि बढाएको पनि उनले बताए। मिल संचालन आउँदा जुट मिल प्रशासनले ८० टन जुट खरिद गरेको थियो। जसमा २४ टन उत्पादन भइसकेका छ भने १० टन जुटको सुतली बनाउने प्रक्रियामा र बाँकी रहेको जुट स्टक गरेर राखिएको छ। जुट बोराको कच्चा धागो मानिने सुतली उत्पादनको काम अहिले दिवा र रात्रीकालिन गरी दुई सिफ्टमा भइरहेको जुट मिल्स सञ्चालक समितिका अध्यक्ष वनले बताए। अहिले ६५ जना मजदुरले दैनिक काम गर्दै आएका छन्।

विराटनगर जुट मिल्स गत भदौ २६ गतेबाट परीक्षण उत्पादन गरियता अहिलेसम्म २२ टन सुतली उत्पादन गरेको छ। विवाद र किचलोले बन्दैबन्दको इतिहास बनाइसकेको नेपालको पहिलो उद्योग सुतली उत्पादन गर्दै तङ्ने अवस्थामा पुगेको हो। विराटनगर जुट मिल्स बि.सं. १९९३ असार ३० गते स्थापित भएको थियो। मिलले २०६५ सालपछि उत्पादन गर्न सकेको थिएन। पर्याप्त मात्रामा कच्चापदार्थ आपूर्ति, पाटपूर्जाको उपलब्धता र केही प्राविधिक जनशक्ति थप भए मिल्सले दैनिक १५ देखि २० टन उत्पादन सजिलै गर्न सक्ने अध्यक्ष वनको दाबी छ।

विराटनगर जुट मिल्सको दैनिक उत्पादन क्षमता ४० टन भए पनि मिल्सले क्षमताको न्यूनमात्रै सामग्री हाल उत्पादन गरिरहेको छ। बन्द हुनुभन्दा पहिले जुटमिल्समा दैनिक ६ हजार मजदुर, कर्मचारीले रोजगारी पाएका थिए। बेला बेला लिजमा लिएर निजी क्षेत्रले सञ्चालनमा ल्याए पनि लामो समय सञ्चालन हुन सकेको थिएन।

हाल जुट मिल्स व्यवस्थापनले नै सञ्चालन गरी व्यावसायिक उत्पादन थालेको हो। 

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.