|
फाइल फोटो

ओखलढुंगा : जिल्लाकोे मानेभञ्ज्याङ गाउँपालिका ५ मा नियमित गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई अण्डा उपहार दिइने गरिएको छ। ग्रामीण भेगबाट स्वास्थ्यचौकीमा अाई नियमित गर्भजाँच गराउने गर्भवती महिलालाई अण्डा उपहार दिने गरिएको हो। 

गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्‍याउन तथा नियमित गर्भ परीक्षणका लागि प्रोत्साहन गर्ने उद्देश्यले तत्कालीन मानेभञ्ज्याङ गाविसको सहयोगमा सगरमाथा आमा समूहले २०६८ सालदेखि यो अभियान सञ्चालन गरिरहेको छ। अभियानअन्तर्गत गर्भवती महिलाले ४, ६, ८ र ९ महिना गरी चार पटक अनिवार्य गर्भ जाँच गराउनुपर्ने हुन्छ। 

पहिलोपटक गर्भ जाँच गराउँदा ४, दोस्रो पटक गराउँदा ६, तेस्रोपटक गराउँदा ८ र चौथोपटक जाँच गराउँदा ९ वटा अण्डा उपहार दिने गरिएको समूहकी अध्यक्ष माया राईले बताइन्। उनका अनुसार अण्डा वितरणसँगै ६ महिना पुगेका गर्भवती तथा उनका श्रीमान, सासु तथा नजिकका नातेदारलाई गर्भवतीको जीवन सुरक्षासम्बन्धी दुईदिने तालिम पनि दिने गरिएको छ।

यो अभियानले गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षण गराउन र स्वास्थ्यको ख्याल गर्न प्रोत्साहन पुगेको मानेभञ्ज्याङ गाउँपालिकाका स्वास्थ्य संयोजक विश्वराज दाहालले बताए। गर्भ जाँच गराउने गर्भवतीले अण्डा उपहार पाएको देखेर गाउँका अरू गर्भवती महिला पनि स्वास्थ्यचौकी आउने गरेकाे र यो अभियानले गर्दा धेरैजसो महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेका स्वास्थ्य संस्थाको तथ्यांक रहेको छ।

मानेभञ्ज्याङ गाउँपालिका ५ मा रहेको स्वास्थ्य चौकीको तथ्यांकअनुसार ७० प्रतिशत महिला मानेभञ्ज्याङ स्वास्थ्य चौकीमै सुत्केरी भएका देखिन्छ भने बाँकी महिला जिल्लाका अन्य बर्थिङ सेन्टरमा सुत्केरी हुने गरेको स्वास्थ्य संस्थाले जाएको छ।

चालू आर्थिक वर्षदेखि गाउँपालिकाका सबै वडामा यो अभियान सञ्चालन गर्नेे गाउँपालिस्का स्वास्थ्य शाखाका योजना रहेको शाखा प्रमुख दाहालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.