|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला सधैँ मौन देखिन्छन्। पार्टीभित्र छुट्टै उपगुट चलाए पनि उनी आफूलाई मध्यस्थकर्ताका रूपमा लिन्छन्। पार्टीभित्र देखिएको संस्थापन र इतर समूहको द्वन्द्वमा उनी खासै फसेका पाइँदैन। पार्टीका मुद्दामा उनी सधैँ मध्यमा उभिन्छन्।

सार्वजनिक कार्यक्रमहरूमा भाषण गर्ने क्रममा महामन्त्री कोइराला सधैँ गुटको विपक्षमा हुन्छन्। अरू नेताले जस्तो उनी कुनै पक्षलाई पनि गाली गर्दैनन्। पार्टीको १३ औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका डा. कोइराला पछिल्लो समय भने पौडेल समूहबाट पनि टाढा थिए। पौडेल समूहका नेताले सभापति शेरबहादुर देउवा समूहलाई गाली गरिरहँदा उनी भने देउवासँग पनि नजिक थिए। पार्टीमा सभापति देउवाले केही निर्णय गर्दा इतरका नेताहरू विरोधमा उत्रँदा उनी भने सधैँ मौन रहन्थे। पार्टीका मुद्दामा मौन भएको भन्दै उनको आलोचना पनि हुने गरेको थियो भने कतिपयले महामन्त्री भएका कारण नबोलेको प्रतिक्रिया दिन्थे।

‘म कुनै गुटको होइन। पार्टी एक हुनुपर्छ। सभापति र वरिष्ठ नेता मिल्नुपर्छ’, केही महिनाअघि थाहाखबरसँगको अन्तर्वार्तामा उनले भनेका थिए, ‘पार्टीको महाधिवेनका बेला समूहबाट निर्वाचन लडे पनि त्यसपछि कोही पनि गुटको हुनुहुँदैन। सिंगो पार्टीको मान्छे भएर काम गर्नुपर्छ।’

कांग्रेस संसदीय दलको निर्वाचनमा वरिष्ठ नेता समूहका नेता प्रकाशमान सिंहलाई असहयोग गरेको आरोप खेपेर पौडेल समूहबाट उनी केही टाढा थिए। पार्टीभित्र आफ्नै गुट चलाउँदै आएका कोइरालाले एक हप्ताअघि भएको पार्टी केन्द्रीय समिति बैठकमा सभापतिको निर्णयलाई मौन समर्थन गरेको भन्दै आलोचितसमेत बनेका थिए।

लामो समयदेखि पौडेल ‘क्याम्प’बाट टाढा भएका कोइराला पुनः देउवाइतर समूहको ‘क्याम्प’मा फर्किएका हुन्। १३ औँ महाधिवेशनपछि छुट्टाछुट्टै गुटमा रहेका नेताहरू देउवाइतर क्याम्पमा छन्। देउवाइतर क्याम्पमा प्रकाशमान सिंहसहित गत असारबाट कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा. शेखर कोइरालालगायत नेता पनि छन्। यो समूहमा हातेमालो गर्न महामन्त्री डा. शशांक पनि आइपुगेका छन्। लामो समयपछि उनी उक्त समूहले गर्ने गोप्य बैठकमा सहभागी भएका छन्। पार्टीको आउँदो महाधिवेशनमा सभापतिको आकांक्षी रहेका कोइरालाले संस्थापनइतर ‘क्याम्प’मा फर्किएपछि दोस्रो पटक गोप्य बैठकमा सहभागी भएका हुन्।

मंसिरमा हुने पार्टीको महासमिति बैठकमा प्रस्तुत गरिने विधानलाई अन्तिम रूप दिनका लागि आफूहरूको धारणा तय गर्न सोमबार बसेको संस्थापनइतर समूहको बैठकमा शशांकको पनि सहभागिता रहेको थियो। उक्त बैठक आफ्नै घरमा बोलाएर शशांकले देउवाइतर समूहमा ‘कमब्याक’ गरेका हुन्।

देउवाइतर समूहको गोप्य भेलामा विधानबारेमा छलफल भएको थियो। बिहान करिब तीन घण्टा बसेको बैठकमा मस्यौदा समितिले तयार पार्दै गरेको विधानलाई आफ्ना तर्फबाट कस्तो बनाउन पहल गर्नेबारे छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। तर दशैंका कारण धेरै नेता काठमाडौंमा नभएका कारण पनि बैठकबाट निष्कर्ष आउन नसकेको उनको भनाइ थियो। बैठकमा वरिष्ठ नेता पौडेल, नेता प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, प्रदीप पौडेल, दीपक गिरी, धनराज गुरुङलगायत नेताहरूको सहभागिता थियो। नेता कृष्णप्रसाद सिटौला दशैंका लागि गृहजिल्ला गएका कारण बैठकमा सहभागी भएनन् भने डा. शेखर कोइराला पनि दशैंका लागि विराटनगर गइसकेका छन्।

विधान मस्यौदा समितिमा रहेका संस्थापनइतर समूहका सदस्यहरूले बनाइँदै गरेको विधानका बारेमा पनि जानकारी गराएका थिए। बैठकमा सहभागी नेताहरूले पार्टीभित्र सामूहिक नेतृत्व नै आवश्यक रहेको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। ‘थोरै नेता भएका कारण धेरै कुरा त हुन पाएन’, ती नेताले भने, ‘तर केन्द्रीय पदाधिकारी सबै निर्वाचित हुनुपर्ने धारणा आयो। उहाँहरूले अधिकारहरू तल्लो तहमा पुर्‍याएपछि केन्द्रमा सामूहिक नेतृत्व हुनुपर्छ भन्ने धारणा राख्नुभयो। यस्तो बैठक फेरि गर्ने सहमति भएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.