|

नवलपरासी : वृद्ध शरीर, चाउरीपरेको अनुहार अनि लौरोको साहराले उभिएकी बर्दघाट नगरपालिका २ की ९० वर्षीया आइतिसरा गुरुङसिनी निकै खुसी छन्। नगरपालिकाले खाइपाई आएको भत्तामा वार्षिक ६ हजार रुपैयाँ थपिदिएपछि उनी चाउरीपरेको अनुहारमा खुसी छचल्किरहेको प्रष्ट देखिन्थ्यो। आइतिसरा मात्र होइन १०५ वर्षीया मनमाया राना, ८९ वर्षीय रामबहादुर पुन पनि निकै खुसी छन्।

आफूले जिताएर पठाएका नगरप्रमुख आफैँ आएर आफूहरूले पाउँदै आएको भत्तामा वार्षिक ६ हजार रुपैयाँ वृद्धि गरेको रकम हातैमा थमाउँदा वृद्धवृद्धा निकै खुसी देखिएका हुन्। दशैं नजिकिदै गर्दा नगरपालिकाले भत्ता दिएपछि निकै खुसी लागको र भत्तास्वरूप पाएको रकम आफूलाई चाहिँदा खर्च गर्ने बताउँछन् ८६ वर्षीय वृद्ध गगन सिंह थापा। आफूले प्राप्त गरेको भत्ता दुःखबिमार हुँदा खर्च गर्ने बताउछिन् १०५ वर्षीया मनमाया राना।

नगरप्रमुखले भत्ता रकम हातमै थमाउँदा वृद्धवृद्धाको खुसीको सीमा थिएन। १०५ वर्षीया वृद्धा मनमाया रानाका लगलग कापेका ओठबाट आवा निस्कियो, 'बाबु तिम्रो जय जय होस बुढेसकालमा भए पनि हामीलाई खुसी दियौँ अब सारा नगरबासीलाई खुसी बनाउनू तिमीलाई मेरो आशिर्वाद छ।'

वृद्धवृद्धाहरू नगरप्रमुख बस्याललाई आर्शिवाद दिँदै थिए। नगरप्रमुख धिरज शर्मा बस्यालले भने आफूले निर्वाचनका बेला वृद्धवृद्धा आमाबुबासँग गरेको बाचा पूरा गर्न लागेको बताउँदै थिए। नागरपालिकाले वडा नम्बर २ मा कार्यक्रमको आयोजना गरेर वडा नम्बर २ बाट भत्ता वितरण कार्यको सुभारम्भ गरेको हो।

बर्दघाट नगरपालिकाले ८५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उनीहरूले राज्यबाट प्राप्त गर्दै आइरहेको भत्तामा वार्षिक ६ हजार रुपैयाँ थप गरी भत्ता वितरण गरेको हो। नगरपालिकाले थप गरेको भत्ताबाट ११३ जना वृद्धवृद्धा लाभान्वित  भएका छन्। भत्ता नगरपालिकाका १६ वटै वडामा वितरण गरिने नगरप्रमुख बस्यालले बताए। उनले यो कार्यलाई निरन्तरता दिइनेसमेत बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.