|

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिले नगर बस सञ्चालनमा ल्याइएको छ। नगरबासीलाई आवातजावतमा सुविधा पुर्‍याउने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र खोटाङ यातायात प्रालिको सहकार्यमा सोमबारदेखि नगर बस सञ्चालनमा ल्याइएको हो।

दशैं र तिहारमा ओहोर–दोहोर गरिरहेका यात्रुलाई मध्यनजर गर्दै नगरपालिका र यातायात प्रालिबीचमा एक वर्षे सम्झौता गरेको दोश्रो दिनबाटै नगर बस सञ्चालनमा ल्याइएको हो। दिक्तेलको किरातचोकमा नगरप्रमुख दीपनारायण रिजाल र नगरउपप्रमुख वीणादेवी राईले रिबन काटेर नगर बस उद्घाटन गरेका हुन्। १५ वडा रहेको नगरपालिकामा दैनिक १२ वटा बस आवत–जावत गर्ने व्यवस्थासहित नगर बस सञ्चालनमा ल्याइएको हो।

हरेक वडामा यातायातको सहज पहुँच विस्तारका लागि नगरपालिकाको विद्यमान ऐन, नियम, कार्यविधि र प्रचलित ऐन नियमको परिधिमा रहेर यातायात सेवा सञ्चालन गर्नेगरी यातायात प्रालिसँग २० बुँदे सम्झौता गरेपश्चात् नगर बस सञ्चालनमा ल्याइएको नगरप्रमुख रिजालले बताए। नगरपालिका र यातायात प्रालिबीचमा नगरपालिकाका १२ वटा सडकमा रुट पर्मिटको व्यवस्था मिलाएर नगर बससेवा सुरु गरिएको हो। नगरपालिकाका अनुसार नगरभित्रको यात्राका क्रममा बढीमा तीनजना ज्येष्ठ नागरिकलाई निःशुल्क यात्रा गराउनु पर्ने, नगरपालिकाले प्रमाणित गरेको एकल महिला, असहाय र अतिविपन्न यात्रुलाई ३३ प्रतिशत भाडा छुट गर्ने, महिलाका लागि चार सिट, ज्येष्ठ नागरिकका लागि दुई सिट, फरक क्षमता भएका यात्रुका लागि एक सिट र पत्रकारका लागि एक सिट आरक्षणको व्यवस्था मिलाउने सम्झौतासहित नगर बस सञ्चालनमा ल्याइएको हो।

नगरपालिकाभित्रको दिक्तेल–जालपा–फेदी, दिक्तेल–जालपा–कादेल, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल–निर्मलीडाँडा, दिक्तेल–लफ्याङ–दुबे, दिक्तेल–बुईपा–बिजयखर्क–चम्पावती माबि, दिक्तेल–महुरे–बिजुले, दिक्तेल–नेर्पा–दोर्पा–दुम्ली, दिक्तेल–खानीडाँडा–फेदी र दिक्तेल–बाम्राङ–बुईपा–बिजयखर्क सडकमा रुट पर्मिटको व्यवस्था मिलाएर सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ।

नगर बसको रंग एकै खालको बनाउने, चालक र सह–चालकलाई नगरपालिकाले निर्धारण गरेको पोशाकको व्यवस्था गर्ने, अन्य सार्वजनिक यातायातको तुलनामा नगर बसको भाडामा केही छुटको व्यवस्था गर्ने, नगर बसमा नगर गीत तथा खोटाङका कलाकारले गाएका गीत बजाउन प्राथमिकता दिने लगायतका शर्त पालना गर्ने नगरपालिका र यातायात प्रालिबीचमा सम्झौता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.