|

बाँके : शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जमा हुने आठौँ राष्ट्रिय प्रतियोगिताका लागि भौतिक संरचना निर्माणमा कुनै कमी आउन नदिने प्रतिवद्धता जनाएका छन्। उनले समग्र बाँकेको विकासमा कुनै कसर बाँकी नराख्ने बताउँदै २५ माघ, २०७५ मा हुने आठौँ राष्ट्रिय प्रतियोगिता तयारीका लागि रकम अभाव हुन नदिने बताएका हुन्।

मध्यपश्चिम क्षेत्रीय खेलुकुद विकास समितिले विजयादशमी, तिहार र छठ पर्वको अवसरमा नेपालगन्जमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले राष्ट्रिय प्रतियोगिता तयारीका क्रममा भएका समस्याका बारेमा जानकारी गराउन सुझाव दिँदै समस्या र चुनौतिसहितको योजना बनाएर आए समस्या समाधान गर्न आफू तयार रहेको उनले बताए।

उनले राष्ट्रिय प्रतियोगिताका लागि भौतिक संरचना निर्माणमा ढिलाई हुन नदिनेसमेत वचन दिएका छन्। तोकिएको समयमा प्रतियोगिता संचालन गर्ने वातावरण बनाउने दायित्व आफ्नो पनि भएको बताउँदै मन्त्री राईले संरचना निर्माणमा ढिलाई गर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिए। ‘आयोजकले प्रतियोगिताका लागि चाहिने भौतिक संरचना निर्माणलाई तीव्रता देवस् आवश्यक परेको रकम म ब्यवस्था गर्छु,’ शहरी विकास मन्त्री राईले भने।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले गत आर्थिक वर्षको रकम ढिलो निकासा भएका कारण भौतिक संरचना निर्माणमा ढिलाई भएको बताए। उनले वर्षातले निर्माणमा विलम्व भएको बताउँदै पछिल्लो समय निर्माणले तीव्रता लिएको बताए। उनले माघमा हुने आठौँ प्रतियोगिता कुनै पनि हालतमा नसर्ने दावी गरे।

उनले राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश ५ का विभिन्न जिल्लामा संरचना निर्माण भइरहेको बताउँदै अवको दुई महिनामा सवै संरचना निर्माण पूरा हुने दावी गरे। ‘सवै काम द्रुत गतिमा अगाडि बढेको छ। अब कुनै पनि हालतमा माघभन्दा पछाडि सर्दैन,’ ओलीले भने।

प्रदेश ५ का सभासद एवं ओलम्पियन खेलाडी सुरेन्द्र बहादुर हमालले आठौँ राष्ट्रिय प्रतियोगिता सफल बनाउने दायित्व सबैको भएको बताउँदै प्रतियोगिता सफल भए मात्र नेपालगन्जको नाम स्वर्ण अक्षरमा लेखिने बताए। उनले बाँकेले यसअघि पनि राष्ट्रिय प्रतियोगिता गराइसकेकोले आठौँ प्रतियोगितालाई पनि सफल बनाएर छाड्ने धारणा राखे।

प्रदेश ५ का अर्का सभासद मोहम्मद याकुव अन्सारीले प्रतियोगितालाई चाहिने भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने रकमका लागि प्रदेश सरकारसँग माग गर्ने बताए। उनले कुनै पनि हालतमा प्रतियोगिता सफल बनाएर छाड्ने दावी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.