|

उदयपुर : चाडपर्व नजिकिएसँगै उदयपुरको कटारी नगरपालिकाले नगरक्षेत्रका सबै सडकहरु मर्मत गर्न जुटेको छ। दशैंमा घर आउने नगरबासी यात्रुको सहजताका लागि ग्रामीण सडकहरू मर्मत गर्न जुटेको हो।

सोरुङछविसे, लेखानी, मयांखु, लिम्पाटार, सिरिसे, हर्देनी रिस्कुका सडकहरू मर्मत गर्ने काम भएको कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले बताए। ‘नगरपालिकाका सबै वडामा मोटरबाटो पुगेको छ,’ उनले भने, ‘वर्षाको कारण केही स्थानमा पहिरो गएको थियो, दशैंअघि नै बाटो खुलाउने निर्णयानुसार हामीले सबै सडक मर्मत गरेका छौँ।’

कटारी नगरपालिकाले भत्किएका र पहिरो गएका सडक मर्मत गर्न छुट्टै कोष स्थापना गरेको छ। नगरपालिकाको विकास बजेटबाट एक प्रतिशत रकम कट्टा गरेर कोष स्थापना गरिएको नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। ‘सबै वडाका सडकलाई अनुमगन गरेर आवश्यकताअनुसार मर्मत गरेका छौँ,’ उनले भने, ‘चाडपर्वको बेला कुनै पनि सडक अवरुद्ध हुने छैन।’

नगरपालिका क्षेत्रका सबै ग्रामीण सडकहरू सफा भइसकेका छन्। मर्मत गर्न बाँकी सडकको काम जारी रहेका बताइएको छ।

कुन स्थानीय तहमा कति सडक

स्थानीय तहमा जनप्रतिनिधि आउनुभन्दा अगाडि नै साविकका गाविसको कार्यालसम्म सडक पुगेको थियो। जिल्लाको आठ वटै स्थानीयतहमा झण्डै दुई हजारको संख्यामा सडक निर्माण भएका छन्। साविकको जिल्ला प्राविधिक कार्यालय उदयपुरका अनुसार राष्ट्रिय योजना अथवा विभिन्न दातृ निकायले निर्माण गरेका सडक मात्र पिच र ग्रावेल छन्।

जिल्ला तथ्यांक कार्यालय उदयपुरले संकलन गरेको तथ्यांकअनुसार बेलका नगरपालिकामा जम्मा २५७ वडा सडक छन्। जसमा ग्रावेल ९० वटा छन् भने कच्ची १६७ वटा छन्। तथ्यांक कार्यालयका अनुसार जिल्ला प्राविधिक कार्यालय र साविकको जिल्ला विकास समिति मार्फत तयार पारेको तथ्यांक हो। तत्कालीन जिविस र गाविसले निर्माण गरेका कुनै सडक कालोपत्रे भएको पाइएका छैन। पछिल्लो समयमा जनप्रतिनिधिका एक वर्षे कार्याकालमा सडकहरू कालोपत्रे हुने क्रम पनि बढेको कटारीका नगरप्रमुख श्रेष्ठ बताउँछन्।

तथ्यांकका कार्यालयका अनुसार चौदण्डीगढी नगरपालिकामा कालाोपत्रे सडक ४२, ग्राभेल १०२, कच्ची ७६ गरी जम्मा २२० वटा छन्। जुन राष्ट्रिय योजनाका सडक छुने सडक मात्र कालोपत्रे भएका छन्। यसैगरी त्रियुगामा कालोपत्रे सडक ४५, ग्रावेल ७७ कच्ची २४८ गरी जम्मा ६६५ वटा सडक छन्। कटारी नगरपालिकामा कालोपत्रे ५१ वटा, ग्रावेल ५८, कच्ची १७३ गरी जम्मा २८१ वटा सडक निर्माण भएका छन्। यता राष्ट्रिय योजनाको छेउछाउ नपरेका गाउँपालिकाका कुनै सडक कालोपत्रे भएका छैनन्।

ताप्ली गाँउपालिकामा ग्रवेल दुई वटा, कच्ची ६७ वटा गरी जम्मा ६९ सडक बनेका छन्। यसैगरी रौतामाई गाँउपालिकामा ग्रावेल नौवटा, कच्ची  ४०६ गरी जम्मा ४१६ वटा सडक निर्माण भएका छन्। लिम्चुङबुङ गापामा ग्राभेल २०, कच्ची ४८ गरी ६८ वटा सडक निर्माण भएका छन्।

यता उदयपुरगढी गाँउपालिकामा कालोपत्रे २२ वटा, ग्रावेल १७०, कच्ची १२० गरी जम्मा ३१२ वटा सडक निर्माण भएका छन्। जनप्रतिनिधि आएपछि सडकको संख्या बढेको छ। तर, सरकारी मापदण्डअनुसार गुणस्तरी भने छैन। ती सडक पनि बर्खाको पानीले धेरै अवरुद्ध भएका छन। तिनै सडक अहिले स्थानीय सरकार प्रमुखहरू मर्मतमा जुटेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.