अधिकांश मुस्ताङीहरू बौद्ध धर्मावलम्बी

|

पर्वत : दशैँको रमाइलोले देशैभरी उल्लासमय वातावरण  बनिरहेको छ। टाढिएका आफन्त घरमा भित्रिएका छन्। विदेशिएका दाजुभाईहरु गुण्टा बोकेर देश फर्किएका छन्। बालबच्चाहरु नयाँ लुगामा सजिँदै मिठा मसिना खाना खाँदै पिङतिर दौडिएका छन। युवाहरु लामो समयपछि गाउँघरमा भेटीएका साथीभाइसँग गफिँदै छन्। प्रौढ अवस्थाकाहरु दशैँको चाँजोपाँजो मिलाउन घरको सरसफाई गर्न ब्यस्त छन त दशकौँ उमेर पार गरेको पाको पुस्ता यसपाली पनि अरुलाई आशिर्वाद दिन पाउँदा मख्ख छन्।

विद्यालय, सरकारकारी कार्यालय, संघ संस्था लगायतका कार्यालयहरु पनि बन्द छन्। चारैतीरको हावामा दशैँका शुभकामनाहरु बहेजस्तो अनुभव छ। रेडियो र टेलीभिजनमा बज्ने गीतहरु दशैँका मात्र छन अनि सूचना र बिज्ञापन पनि दशैँ विशेष। यसरी नै देशैभरको दशैँको सरगर्मी उचो भएको बेलामा हिमालपारीको जिल्ला मुस्ताङ भने दशैँको यो माहोलबाट बेखबर भएको जस्तो अवस्थामा छ।

अधिकांश मुस्ताङीहरू बौद्ध धर्मावलम्बी

मुस्ताङमा यो वर्ष मात्र होइन हरेक वर्ष यसरी नै दशैँ थोरै थोरै अड्कलेर गएको जस्तो लाग्छ र यसको कारण हो मुस्ताङीहरुले दशैँलाई आंशिक रुपमा मात्र मनाउनु। अधिकांश मुस्ताङीहरु बौद्ध धर्ममा आस्था राख्छन् यही कारण उनीहरु सामान्य रुपमा मात्र दशैँ मनाउँछन्। तल्लो मुस्ताङमा रहेका थकाली, गुरुङ र दलित लगायतका आदिबासी जनजाति तथा दलित समुदायले बडादशैँलाई आशिंक रुपमा मात्र मनाउने गरेका छन् भने उपल्लो मुस्ताङमा बसोबास गर्ने लोहा, गुरुङ र विष्ट समुदायका मानिसहरुले अलि कमै मात्रामा दशैँ मनाउँछन्।

मुस्ताङका झण्डै ७० प्रतिशत भन्दा बढी नागरिकहरुले बौद्ध धर्म मान्दै आएका छन् भने, अन्यले हिन्दु र क्रिश्चियन धर्म मान्ने गरेका छन्। उपल्लो मुस्ताङमा बसोबास गर्नेहरु धेरैले बौद्ध धर्म मान्ने गरेका कारण पनि उनीहरुले ल्होसार र स्थानीय चाड ¥यातुङलाई बिशेष रुपमा मनाउने गरेका छन भने तल्लो क्षेत्रमा बसोबास गर्नेहरुले   फागुपूर्णिमा तोरन्ल पर्व बिशेष पर्वका रुपमा मान्ने गरेका छन्।

देशका बिभिन्न ठाउँमा रहेका देवीका शक्तिपिठहरुमा बली दिने र धूमधामका साथ पूजाआजा भैरहेको भए पनि मुस्ताङमा त्यस्तो हुँदैन। दशैँलाई सामान्य चाडको रुपमा लिने गरेका कारण मुस्ताङमा टीका जमरा लगाउने र मन्दिरहरुमा गएर बली दिने र पूजा गर्ने चलन पनि छैन। हिन्दू धर्ममा हुने मठ, मन्दिर तथा धार्मिक शक्तिपिठहरु नपाईने मुस्ताङमा धेरै संख्यामा गुम्बा र स्तुपाहरु रहेका कारण पनि दशैँले छोएको भान हुँदैन।

यद्यपी कतिपय समुदायले भने परम्परागत रुपमा दशैँ मनाउने गरेका छन्। दशैँको टीका लगाउन आफन्तकहाँ जाने केहीले घरमा नै च्याङग्रा काटेर दशैँ मनाउँछन। यसबाहेक घरपझोङ गाउपालिका अन्तर्गत थाकपाच गाउँमा बसोबास गर्ने केहीले भने कोतघरमा गएर सेतो टीका लगाउने गरेका छन। ठिनीमा रहेको उक्त कोतघरमा लगाईने टीका पनि दशैँ विशेषको भन्दा पनि कोतघरमा राखिएका हतियारहरुको हो। कोतघरमा पुगेकाहरुले ज्येष्ठ नागरिक र गाउँका मुखियाबाट टीका ग्रहण गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.