|

कञ्चनपुर : दशैँको किनमेल गर्नेको बजारमा घुइँचो लागेको छ। टाढा गएकाहरु आफन्त भेट्न घर पुग्न थालेका छन्। सबैको मनमा उमंग छाएको छ।  डडेल्धुराको अमरगढी नगरपालिका ४ भलिया सेरीमा सल्लाको वनमा ५० वर्षीय रामबहादुर रोक्काको परिवार खोटो संकलनमा जुटेको छ।

खोटो संकलन नगरे परिवारको साँझ बिहानको खाना जुटदैन। रोक्का परिवारलाई दशैं आएको पत्तो नै छैन। दशैं आइसकेछ र हो पत्तो नै चलेन रोक्काले भने, ‘खोटो संकलन नगरे परिवारको खर्च चल्दैन। चुल्होमा आगो बल्दैन। साँझ बिहानको छाक टार्नका लागि घरबाट निकै टाढाको सल्लाको वनमा बस्नुपरेको छ।’

रोल्पाको  दुर्गमको जैनाकसनामा रहेको गाउँबाट रोक्काको परिवार रोजीरोटीको खोजीमा ६ महिनाअघि यहाँ आइपुगेको हो। रोक्कासँगै उनकी ४५ वर्षीया श्रीमती, १२ वर्षीय छोरा खोटो संकलनको कार्य गर्दै आएका छन्।

सल्लाको रुखमा खोटोका लागि कोर्ने, कुप्पी लगाउने र संकलन भएको खोटो टिनको भाँडोमा खन्याउने र जम्मा गर्ने कार्य उनीहरूले गर्दै आएका छन्। दिनभरी गरेको कार्यले रोक्काको परिवारको साँझ विहानको खाना खर्च जुटने गर्दछ। पढ्ने उमेरका छोरालाई समेत रोक्काले संगै खोटो संकलनमा लगाएका छन्।

 उनी भन्छन्, ‘छोरालाई राम्रो विद्यालयमा पढाउने रहर त थियो नि। रहरले मात्रै नपुग्दो रहेछ। आर्थिक अबस्थाले भ्याएन् त्यै भएर काममा लगाउनु परयो।’ ‘दशैं त आएर जानै लगि सके सकेछ। दशैका लागि खर्चको जोहो मिलाउन सकिन। तिहारका लागि केही रकम जम्मा भए परिवारका लागि नयाँ लुगा हाल्ने र घरमा गएर परिवार संग रमाईलो गर्ने चाहना छ। चाहना पुरा हुन्छकी हुँदैन’ उनले भने।

‘गाँउमा रहेको जग्गामा उव्जनी हुने अन्नले दुई महिना धान्दैन। परिवारका लागि बर्ष भरी खान चाहियो। लुगाफाटो चाहियो। त्यै पुरा गर्न काम नगरि सुखै छैन। उमेर छदा विद्यालयको मुख देख्न पाईएन। छोरालाई पढाउने चाहना त थियो। त्यो पनि पुरा गर्न पाईन्। दुखिका दिन फिर्छन भन्थे। नफिर्ने रैछन। दुःखमै जीवन बिताउनु पर्दो रहेछ’ उनले भने, ‘लोकतान्त्रीक सरकार आयो भन्छन। हाम्रा लागि केनै लिएर आयो र। हाम्र दिन पहिला पनि यस्तै थिए। अहिले झनै उस्तै छन्।’

छोरालाई विद्यालय पढाउने र घरमै बसेर कमाउने सीप दिईए हाम्रा दिन फिर्थेकी उनले दुखेसो पोख्दै भने, ‘चुनावमा भोट दिँदा दिएका अश्वासन समेत नेताहरुले पुरा नगर्दा निकै निराश भएर बस्नुपरेको छ।’    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.