|

काठमाडौं : देवेन्द्र केसी नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक हुन्। उपमहानिर्देशक मात्र उनको परिचय होइन, उनी साहित्यकार पनि हुन्। केसी पोखराका स्थायी बासिन्दा हुन्। उनी आफूलाई विशुद्ध गाउँको भन्न रुचाउँछन्। पोखराबाट केही परको गाउँ भलाममा जन्मेका हुन् उनी। स्कुल पढ्दाताका उनी सधैँ उत्कृष्ट विद्यार्थीको सूचीमा पर्थे। उनी बच्चैदेखि घरमा उनका बुबाले पढेका शास्त्रका श्लोकबाट प्रभािवत बन्थे। उनी विशेष गरेर लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरेको लेखनबाट प्रभावित भएको बताउँछन्।

उनका दाजु नेपाली भाषा साहित्यका राम्रा अध्येता थिए। दाजुले राम्रा लेख लेख्दै जाँदा उनलाई पनि लेख्न रहर जाग्ने गर्थ्यो। पढाइको उडानसँगै साहित्यमा उनको रुचि तीब्र हुदै गयो। २०३६ सालमा पृथ्वीनारायण क्याम्पसमा आइएस्सी भर्ना भएपछि देशमा राजनीतिक उथलपुथल सुरू भयो। त्यसबेला पढ्ने भन्दा पनि ढु‌ंगा हान्दै ठीक्क भएको उनको भनाइ छ। तर त्यसताका पनि विभिन्न सभा समारोह तथा साहित्य सम्मेलन छ भन्ने सुन्नेवित्तिकै उनी पुगिहाल्थे। पोखराको साहित्यिक परिवेशले उनलाई सधैँ तानिरह्यो। साहित्यमा निकै राम्रा मानिसहरू जन्माएको छ पोखराले।

उमेर बढ्दै जाँदा उनी विवाह बन्धनमा बाँधिए। उनको सम्बन्ध स्थापित भयो- लोकगायिका हरिदेवी कोइरालाकी कान्छी बहिनी चन्द्रासँग।

सादा जीवन उच्च विचारको मान्यतामा बाँचेका उनी विभिन्न सभामा कविता सुनाउने गर्थे। झ्याउरे लयसँग उनको विशेष लगाव छ। आइएस्सी पढ्दा पृथ्वीनारायण क्याम्पस होस् या बिएस्सी पढ्दा अस्कल होस् अथवा एमएस्सी पढ्दा त्रिभुवन विश्वविध्यालय नै किन नहोस्, उनले कार्यक्रमहरूमा कविता वाचन गर्थे। ससाना लेखहरू लेख्दा उनी एकदम सन्तुष्टि महसुस गर्थे। सामान्य हलमा वाचन गर्दा गर्दै उनी छापा मिडियामा हाम्रा लेख छाप्न पाइन्छ कि पाइन्न होला भनेर गम्थे। तर स्थापित लेखकहरू देख्दा भने उनी डराउँथे। उनी सोच्थे, 'यति ठूला मान्छेले लेखिरहेका छन्, हामीले लेख्दैमा र छापामा छाप्दैमा के होला र!' उनी सरुभक्तको लेखनबाट पनि प्रभावित हुन्थे।

कविता लेखनमा रुचि बढ्नुमा दाजुको ठूलो हात रहेको उनको भनाइ छ। बाआमाले शास्त्रहरू र गीताका श्लोक तथा कृष्ण चरित्र, राम चरित्र गाएको सुन्थे उनी। यसको प्रभाव उनमा पनि पर्‍यो। उनले पनि ती श्लोकहरू घोक्थे। एमएस्सी गर्दा गर्दै उनी नागरिक उड्डयन प्राधिकरणमा जागिरे भए। जागिरकै क्रममा उनी जोमसोम लागे। पृथ्वी जयन्तीमा उनले त्यहाँ एउटा कविता प्रतियोगितामा भाग लिए। प्रथम भए। यो कुरा वि.सं. २०४६ को हो।

हुनत बिएस्सी पढ्दा उनका समकालीन साथी नवराज पोख्रेल कैरन र नवप्रभात पत्रिका निकाल्थे, जहाँ उनले आफ्ना लेख रचना छाप्थे। मुस्ताङबाट मुस्ताङ सन्देश पत्रिका निस्कन्थ्यो। त्यहाँ पनि उनका लेखहरू छापिए। सरकारी नुनपानी खाएपछि उनी सरकारले जहाँजहाँ सेवाका लागि खटायो, त्यहाँ त्यहाँ पुगे। उनी भन्छन्, 'कविताप्रति यति पागलपन थियो कि हरिदेवी दिदीलाई कवितामै चिठ्ठी लेखेको पनि थिएँ कुनै बेला।'

ज्वाइँको कवितात्मक चिठ्ठी पाउँदा कोइरालाले हौस्याउँदै भनिदिन्थिन्, 'ओहो! गज्जब लेख्नु हुँदोरहेछ।' उनी भन्छन्, 'आफूलाई कविता लेख्न आउँदैन भन्ने लाग्थ्यो। उहाँले मेरो प्रशंसा गर्दा रमाइलै लाग्थ्यो मलाई।' २०६८ सालमा उनको पहिलो कृति 'यसरी पोखियो मन' कवितासंग्रह प्रकाशन भयो। तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेपाल प्रज्ञाप्रतिष्ठानमा विमोचन गरेका थिए उक्त कृति।

उक्त कृतिमा सामाजिक, राजनीतिक, पारिवारिक विषयवस्तुमा लेखिएका कविता थिए। कृति विमोचनपश्चात उनलाई साहित्यवृत्तमा मान्छेले चिन्ने क्रम बढ्यो। उनको लेखनमा झन उत्साह थपिँदै गयो। फलस्वरूप २०७१ सालमा 'परेलीभित्रै छु' कवितासंग्रह प्रकाशन गरे। जागिरमा बढी समय दिँदा आफूलाई कृति प्रकाशन गर्न समय लागेको उनले बताए। सिधा कुरा प्रष्ट विचार राख्न रुचाउने उनी भन्छन्, 'बोलीमा अलिक छुचो छ भन्छन् तर मलाई कुनै आपत्ति छैन। नबिराउनु नडराउनु मेरो सिद्दान्त हो।'

उनका पिताको वार्षिक स्मृतिमा गाउँमा पुस्तक पनि निकालेका छन्। उनी भन्छन्, 'खुवाएर, दिएर मात्र हुँदैन, समाजमा चली आएको संस्कारलाई सकारात्मक प्रभाव पार्ने गरी परिवर्तन गर्न जरुरी पनि त छ।' उनी अहिले नयाँ कृतिको तयारीमा छन्। उनको छिट्टै मुक्तकसंग्रह आउँदै छ। सरकारी सेवाबाट निवृत्त हुन अब उनको दुई वर्ष बाँकी छ। उनी सन्तुष्टिको सास फेर्दै भन्छन्, 'सरकारी सेवामा इमान्दारी काम गरेको छु। निवृत्त भइसकेपछि बाँकी दिनमा साहित्य लेखनमा नै हुन्छु।साहित्य लेखन आत्मसन्तुष्टिको आधार पनि रहेछ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.