|

बाँके : सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न राप्तीसोनारी गाउँपालिकाले विभिन्न थरिका कार्यक्रम ल्याएको छ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षण सहयोग अनुदान, नमुना विद्यालय विकास, सहयोगी कार्यकर्ता र शिक्षक तथा कर्मचारीलाई पोशाक भत्ता वितरण गर्ने योजना ल्याएको अध्यक्ष लाहुराम थारुले जानकारी दिए। उनले साक्षर गाउँपालिका घोषणा गर्ने प्रक्रियालाई अगाडि बढाउने बताएकाे हुन्। 

गाउँपालिकाले विद्यार्थी-शिक्षक अनुपातमा शिक्षण सहयोग अनुदान कार्यक्रम लागू गरेको शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिए। उनले गाउँपालिकाको अनुदानमा माध्यमिक तहमा २०, निम्न माध्यमिक तहमा ४८ र प्राथमिक तहमा ३२ जना शिक्षक नियुक्त गरिने बताए। गाउँपालिकाले माध्यमिक तहका शिक्षकलाई २० हजार, निम्न माध्यमिकलाई १५ र प्राथमिक तहका शिक्षकलाई मासिक १० हजार रुपैयाँ पारिश्रमिक दिने भएको छ। हालै सम्पन्न गाउँ कार्यपालिकाको बैठकले उक्त अनुदानलाई स्वीकृत गरेको अध्यक्ष थारुले बताए। 

प्रमुख न्यौपानेका अनुसार नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत कक्षा एकदेखि पाँचसम्म सञ्चालित प्राथमिक तहका विद्यालयलाई दुई/दुई लाख, कक्षा एकदेखि ८ सम्मका आधारभूत तहका विद्यालयलाई तीन/तीन लाख र माध्यमिक तहका विद्यालयलाई पाँच-पाँच लाख रुपैयाँ प्रदान गरिनेछ। विद्यार्थी संख्या धेरै, शिक्षक संख्या थोरै र राम्रो सिकाई उपलब्धी भएको विद्यालय छनोट गरी उक्त रकम प्रदान गरिने शिक्षा शाखा प्रमुख न्यौपानेले बताए। 

बाल विकासमा कार्यरत सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीलाई पोशाक भत्ता वितरणका लागि विवरण संकलनको काम चलिरहेको उनले बताए। करिव पाँच लाख बजेट बराबरको उक्त कार्यक्रम चालू वर्षबाट लागू गरिने भएको छ। त्यस्तै साक्षर गाउँपालिका घोषणाका लागि पनि तथ्यांक संकलनको काम चलिरहेको गाउँपालिकाले जनाएको छ।

अध्यक्ष थारुले गाउँपालिकाको शैक्षिक स्तरमाथि उकास्न विशेष जोड दिँदै आएको बताए। सबै नागरिकलाई गुणस्तरिय शिक्षाको पहुँचमा राख्न गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको उनले स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.