|

त्रिपुराकोट(डोल्पा) : डोल्पाको त्रिपुराकोटमा रहेको आराध्यदेवी भगवतीको मन्दिरमा फूलपाती भित्र्याइएको छ। प्रत्येक वर्ष आश्विन शुक्लपक्ष(दुर्गापक्ष) सप्तमी तिथिका दिन नवदुर्गाको प्रसादका रूपमा विभिन्न थरिका फूल डोलीमा राखी बढाइका साथ फूलपाती भित्र्याउने गरिन्छ।

त्रिपुरासुन्दरी नगरपालिका १ स्थित टाँके डाँडामा रहेको मध्यपश्चिम क्षेत्रकै प्रमुख शक्तिपिठको रूपमा रहेको श्रीबाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरको दशैंघरमा फूलहाराहरूले(फूलपाती सहितको डोला बाक्ने व्यक्ति) काँधमा बोकेको डोली पञ्चेबाजागाजाका साथ धुमधामले पूजाआझा गरेर भित्र्याइएको हो।

मुलछहरामा रहेको फूलपाती मन्दिरमा फूलहाराहरुले फूलपातीको अघिल्लो दिन डोल्पाको लिकु दापु पहाडका फूलवारीमा उमारिएको फूल र फल संकलन गरेर रातभर जाग्राम बसेर फूलमाला गाँसेर फूल र फलफूलको डोलीलाई विशेष पूजाआजा गरेर मन्दिरमा भित्र्याइने गरिन्छ।

यसरी मन्दिरका फूलहारा (डोले)हरूले विशेष सुरक्षाका साथ बोकेर ल्याइएको फूलपातीलाई कोट खौलोस्थित मन्दिरमा विशेष पूजाआजा गरेर मूलमन्दिर श्रीबाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा भित्र्याइएको हो। डोलेले बोकेर ल्याइएको फूलपातीलाई कोट खौलो मन्दिरमा पूजाआजा गर्दा नेपाल प्रहरीले बडा सलामी दिने चलन छ।

यसरी फूलपातीकाका दिनमा मन्दिरमा विशेष पूजाआजासहित भित्र्याइएको फूलपातीलाई मुल मन्दिरमा राखी पूजाआजा गरेसँगै डोल्पाका प्रत्येक घरमा पनि घटस्थापनामा राखिएको जमरा थलोमा मार्सी, मकै, तील, फूल र धानको बालासहितको बिरुवा ल्याएर फूलपातीको रूपमा थापना गरिन्छ।

यसरी फूलपातीको रूपमा सर्वसाधारणले घरघरमा फूलपाती भित्र्याउनाले शूभलक्षण हुने र नवदुर्गा लक्ष्मीको बास हुने जनविश्वास रहेको पूजारी देवीकृष्ण उपाध्यायले बताउँछन्। टीकाको दिनमा जमराटीका लगाएर प्रसाद ग्रहण गरिसकेपछि बाँकी रहेको जमरा र फूलपाती गंगा नदीमा सेलाउने प्रचलन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.