|

काठमाडौं : गोरखा दरबारबाट ल्याइएको फूलपाति काठमाडौंको हनुमानढोका दरबारको दशैंघरमा भित्र्याइएको छ। ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरबारमा भित्र्याउने चलन रहेको छ।

धादिङको जीवनपुरसम्म गोरखा दरबारको दसैंघरका पुजारीसहित मगर जातिका छजनाले ल्याउने फूलपाती जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राम्हण जातिका छ जनाले ल्याउने परम्परा छ। २०६६ सालसम्म हिँडाएर ल्याइने फूलपाति त्यसयता गाडीमा ल्याइन्छ। जमलबाट उच्च सरकारी अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ ल्याइने फूलपाती हर्षबढाइँका साथ हनुमानढोकाको दसैंघरमा भित्र्याइन्छ।

गोरखाबाट बिहान पठाइएको फूलपाती साँझ हनुमानढोकामा भित्र्याएपछि मात्रै विधिवत रूपमा दसैं सुरू भएको मानिन्छ। विक्रम सम्वत् १७९९ सालमा गोरखाको राजा भएका पृथ्वीनारायण शाहले १८२५ मा कान्तिपुर राज्यमा विजय हासिल गरी यहीँ राजधानी बनाएपछि गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती भित्र्याउन थालिएको परम्परा अझैसम्म जीवित रहेको हो। भगवती मन्दिरप्रतिको श्रद्धा र भावभक्तिले पृथ्वीनारायण शाहले यो परम्परा सुरु गरेको ठानिन्छ। फूलपातीमा के–के फूल मिसाइएको छ भन्ने जानकारी गोरखा दरबारका सुसारेबाहेक अरूलाई हुँदैन । त्यहाँका थापा परिवारले संकलन गरेको फूलपाती आधा हनुमानढोका ल्याइन्छ भने बाँकी साँझ हर्षबढाइका साथ बन्दुक पड्काएर गोरखाको दसैंघरमा भित्र्याउने चलन छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.