|

कपिलवस्तु : कपिलवस्तुमा नेपालीको महान पर्व बडादशैंको सातौँ दिन दुर्गा भवानीको मूर्ति स्थापना गरी धूमधामका साथ झाँकी निकालिएको छ। दुर्गा भवानीका साथै गणेश, लक्ष्मी, सरस्वती, शिवजीलगायत कैयौं देवी देवताहरूको मूर्तिको झाँकी पाँच दिनसम्म निकालिने गरिन्छ। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि बडादशैंमा कपिलवस्तुका स्थानीय युवाहरूको अग्रसरतामा विभिन्न चौक र गल्लीहरूमा माता दुर्गा भवानीका माटोका मूर्तिहरू बनाई पूजाआजाका लागि प्रदर्शनमा राखिएको छ।

दुर्गा भवानीका साथै गणेश, लक्ष्मी, सरस्वती, शिवजी लगायत कैयौं देवी देवताहरूको मूर्तिको झांकी फूलपातीका दिनदेखि पाँच दिनसम्म झाँकी निकाली पूजाआर्चना गर्ने गरिन्छ। गाजाबाजाका साथ निकालिएका झांकीहरूको अवलोकन गर्न शहरबजार र गाउँघरबाट दर्शनार्थीहरूको भीडभाडका साथ रमाइलो हुने र पूजाआर्जा गर्ने चलन रहनुका साथै चहलपहल पनि हुने गर्दछ। नवदुर्गा भवानीको नवरात्र भरी पूजाआर्जा गर्नाले  मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको श्रदालु भक्तजनको भनाइ छ।

स्थानीय युवाहरू मूर्ति निर्माण र सजावटमा विशेष सक्रिय बनेका छन्। जिल्लाको सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा पकडी, बर्रोहिया लगायतका स्थानहरूमा दुर्गा भवानीका यस्ता मूर्तिहरू प्रदर्शनमा राखिएका छन्। मूर्ति निर्माणका लागि हिन्दु समुदायका साथै मुस्लिमहरूले समेत चन्दा सहयोग प्रदान गरी धार्मिक सद्भाव कायम राख्न सहयोग गरेका छन्। यी मूर्तिहरूलाई द्वादशीका दिन बाजागाजाका साथ स्थानीय रामघाट नदी र वरपरका अन्य नदीहरूमा लगेर विर्सजन गरिने प्रचलन रहेको छ।

यस वर्ष जिल्लाभरीमा हजारौँको संख्यामा मूर्ति तयार गरी झांकी निकालिएको छ भने बडादशैंमा मूर्तिकारहरूले प्रत्येक मूर्ति २० देखि ४० हजार रुपैयाँसम्ममा बिक्री वितरण गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.