|

एसियन फुटबलको पावरहाउस जापानले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सनसनीपूर्ण प्रदर्शन जारी राखेको छ। जापानले दक्षिण अमेरिकन प्रतिद्वन्द्वी उरुग्वेमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ।

पछिल्लो समय लगातार खराब प्रदर्शन गरिरहेको उरुग्वेले दोस्रो खेलमा एसियाली टोलीसँग पराजित भयो। मंगलबारको खेल प्रतिष्पर्धात्मक देखिए पनि उसले जित निकाल्न असफल भयो। जापानको जितमा टाकुमी मिनामिनोले दुई गोल गरे। हाजिमे मोरियासुलाई प्रशिक्षक नियुक्त गरेयता टोलीले तीन खेलमा तीन जित दर्ता गरेको छ। उरुग्वेले भने पाँच दिनको अन्तरमा एसियाली राष्ट्रविरुद्ध दोस्रो हार बेहोर्‍यो। शुक्रबार भएको खेलमा उरुग्वे दक्षिण कोरियासँग २–१ ले पराजित भएको थियो।

जापानविरुद्ध निकै खराब लयमा देखिएको उरुग्वेको पोस्टमा जापानले निरन्तर आक्रमण गरेको थियो। तर उरुग्वे भाग्यमानी रह्यो। खेलको दशौं मिनेटमा मिनामिनोले सुरुवाती अग्रता दिलाएका थिए। ग्यास्टोन परेरोले पहिलो हाफमै खेल बराबरीमा ल्याए। शोया नाकाजिमाको प्रहारलाई उरुग्वेका गोलरक्षक फर्नान्डो मस्लेराले बिफल पारे पनि रिबाउन्डमा युया ओसाकोले गोल गर्दै जापानलाई पुन: अग्रता दिलाए।

एडिन्सन कभानीले दोस्रो हाफको १२ औं मिनेटमा खेललाई पुन: बराबरीमा ल्याए। जापानका डिफेन्डर जेन्टा मिउराले गम्भीर गल्ती गरेपछि कभानीले ६० हजार दर्शक उपस्थित रंगशालालाई स्तब्ध बनाउँदै गोल गरेका थिए। जापानले केहीबेरमै अग्रता आफ्नो पक्षमा पार्‍यो। रित्सु दोआनले गोल गर्दै जापानलाई खेलमा तेस्रो पटक अग्रता दिलाए। मस्लेराले दोआनको प्रहार रोक्न नसक्दा रिबाउन्डमा मिनामिनोले अर्को गोल थपेका थिए। वैकल्पिक खेलाडी जोनाथन रोड्रीग्वेजले ७५ औं मिनेटमा अग्रता कम गरे। तर उक्त गोल खेलको नतिजा परिवर्तन गर्न पर्याप्त रहेन। जापान एसिया कपको दाबेदार राष्ट्र हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.