|

भारतका बाबा र अन्य १४ जनालाई चार वर्षअघि एकजना १८ महिने शिशु र चार महिलाहरूको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाइएको छ।

हरियाणा राज्यस्थित एक अदालतले रामपाल नामका बाबालाई गत साता दोषी ठहर गरेको हो। उनीमाथि अर्को पनि हत्या गरेको आरोप छ र त्यसमाथि बुधवार फैसला सुनाइँदै छ।

रामपालका समर्थक र प्रहरीले झडप गर्दा पीडितहरूलाई कोठामा थुनिएको र उनीहरूलाई सास फेर्नै गाह्रो भएको अदालतले जनाएको छ। रामपाल आफ्ना लाखौं अनुयायीहरू भएको दाबी गर्छन् र उनका आश्रमहरू भारतभर छन्। चार महिला र एक शिशुलाई आश्रमभित्रको एउटा बन्द कोठामा मृत अवस्थामा फेला परेको आरोपमाथिको सुनुवाई अदालतले गरेको थियो।

रामपालमाथि पहिलोपटक सन् २००६ मा हत्यासम्बन्धी अभियोग लागेको थियो, जसमा उनको आश्रममा भएको एउटा झडपमा एकजनाको ज्यानसमेत गएको थियो। उनले आफूमाथिको अभियोग अस्वीकार गरे र पछि धरौटीमा रिहा भएका थिए।

एकसातासम्म चलेको उक्त झडपका क्रममा थुप्रै मानिसहरू घाइते भएका थिए। विवादित बाबाका हतियार सहितका समर्थकहरूले मानिसहरूलाई बन्धक बनाएको र महिला र बालबालिकालाई मानव ढाल बनाएको प्रहरीले आरोप लगाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.