|

जनकपुरधाम : तराई/मधेशको गाउँ तथा शहरमा दशैंको घटस्थापनादेखि टीकाको रातसम्म झिझिया गीत गाउने र नाच्ने प्रचलन छ। तान्त्रिक विधि अनुशरण गरी नाचिने झिझिया नाचको मिथिला क्षेत्रमा विशेष महत्त्व रहेको छ। 

पछिल्लो समाजमा जादु तथा टुनामुना गर्ने बोक्सी हुँदैन भन्ने भए पनि झिझिया नृत्यमा जादु, टुनामुना गर्ने बोक्सीको प्रभावबाट आफ्ना परिवार र समाजलाई सुरक्षित गर्न देवीको स्तुति गर्दै नाच्ने प्रचलन छ। यस नृत्यमा महिलाले टाउकोमा प्वाँलै प्वाँल भएको घैंटोमा दियो बालेर नाच्ने गर्दछन्। त्यो घैंटोको प्वाँल बोक्सीले गन्न सफल भए नाच्ने महिलाको त्यहीं मृत्यु हुने जनविश्वास छ।

झिझिया नृत्यका लागि गाइने गीतको सुर र तालमा झुमी टाउकामा घैंटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दछन्। सो गीतमा बोक्सीलाई गाली गरिन्छ। त्यो गालीले बोक्सीको शक्ति कम भई परिवारका सदस्यहरुको सुरक्षा हुने जनविश्वास रहेको सांस्कृतिकविद डा. राजेन्द्र विमल बताउँछन्।

झिझिया नृत्य धनुषा, मोरङ, सुनसरीलगायत तराई/मधेशका गाउँमा नाच्ने परम्परा रहेको छ। सीमावर्ती क्षेत्र भारतमा समेत यसलाई प्रस्पर्धाको रुपमा नै प्रस्तुत गर्ने गरिन्छ। 

झिझियाको प्राचीनता

झिझिया नृत्यको मौलिकता छ। टाउकोमाथि घैंटोमा दनदनी बलिरहेको दियो राखेर नाच्नु साहसिक मानिन्छ। समाज रुपान्तरणको क्रममा पछिल्लो समय लोकनृत्यहरु हराउँदै गए पनि झिझिया नृत्य बर्सेनि नाचिँदै आइएको छ।

बोक्सी अस्तित्व रहेको भन्दै त्यसको प्रतिकार गर्न यो नृत्य सातौंं शताब्दीदेखि सुरु भएको इतिहासकारहरुको मत छ। जनकपुरधाममा दशैंको सप्तमीदेखि दशमीसम्म प्रत्येक रात समूह समूहमा दुर्गा, राजदेवीजस्ता शक्तिपिठहरुमा महिलाहरुले झिझिया नृत्य गर्दछन्। 

दशैंको समय बोक्सीहरुले आफ्नो शक्ति प्रदर्शन गर्ने अनुकूल समय हुने मानिएकाले त्यसलाई रोक्न महिलाहरुले धार्मिक, सांस्कृतिक अनुष्ठान गरी भगवती दुर्गाको स्तुति गर्ने साथै बोक्सीको शक्तिलाई निस्तेज पार्न झिझिया नृत्यको प्रारम्भ भएको मान्यता छ।


 नृत्यको तयारी

झिझिया नृत्य प्रारम्भ गर्नपूर्व घैंटोभरि प्वाँल बनाइन्छ। घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ। र, त्यसमा मट्टीतेल हालेर बालिन्छ। त्यसपछि टाउकोमा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ। तर, टाउकोमा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रले सिद्ध पारिन्छ। अर्थात् बोक्सीको आँखा नलागोस् भनेर तन्त्रमन्त्रले छेकबार गरिन्छ।

यसपछि ५ देखि १५ जनाको महिला समूहमध्ये एक वा दुई जनाको टाउकोमा आगो बलिरहेको घैंटो राखेर नाच्दैं ब्रह्मस्थानमा पुगेर पूजा गरिन्छ। ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझियाको औपचारिक सुरु हुन्छ। त्यसपछि घरघरमा गएर नृत्य देखाउने गरिन्छ। प्रत्येक घरबाट पूर्णाहुतिका लागि अन्न, रुपैयाँ मागिन्छ। त्यही रकमले दशमीको दिन पूजापाठ, भोज र प्रसाद वितरण गरिन्छ। र, झिझिया नृत्यको बिसर्जन हुन्छ।

झिझिया नृत्या महिलाहरुले आफ्नो पारिवारिक शान्तिको कामना गर्दछन्। यस नाचमा समाजमा रहेको अन्धविश्वास देखाउने भएकाले सांस्कृतिक दृष्टिले जगेर्ना गर्नुपर्ने आवश्यक्ता रहेको संस्कृतिवद् परमेश्वर कापडीको भनाइ छ।

झिझियालाई लोक संस्कृतिको जीवन्त प्रस्तुति, संस्कृतिको निरन्तरता वा अन्धविश्वास हो भन्ने छुट्याउन ग्राह्रो रहेको वरिष्ठ पत्रकार विष्णुमणि खनाल बताउँछन्। उनी झिझिया नृत्य र कलालाई रुपान्तरण गर्नुपर्नेमा जोड दिन्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.