|

गुल्मी : रेसुङ्गा नगरपालिका–६ गुरुङगाउँकी पवित्रा मरासिनीका श्रीमान भारतमा बिजुलीको काम गर्छन्। केही दिनका लागि भदौमा श्रीमान घर आएका थिए। पछि बिरामी परे। उनलाई ज्वरो आएकाले औषधि खाइरहेका थिए। भारतबाट साहुको फोन आयो, ‘बिदा सकियो काममा आउनू।’ न त उनको जागिर सरकारी हो, न त कम्पनीको हाकिम नै। सामान्य तलबमा काम गर्ने उनका श्रीमान नगए पनि हुन्थ्यो तर चरम गरिबीले उनलाई घरमा बस्नै दिएन। अन्ततः नजिकै आइपुगेको दशैंमा पनि अाँशु झार्दै उनले परदेशको बाटो तताए।

‘बिरामी हुनुहुन्थ्यो, साहुको फोन आयो, यतै आएर आराम गर्ने भन्यो,’ पवित्राले भनिन्, ‘साहुको कुरा काट्न सकिएन, बिरामी मान्छेले पीडा मनभित्रै राखेर हिँड्नुभएको छ।’ पवित्राका पाँच छोरी र एक छोरा गरी छ जना बालबच्चा छन्। चार छोरीको बिहे भइसक्यो भने बाँकी दुई छोराछोरी पढ्दै छन्। २०७२ सालको भूकम्पले घर आधा भत्काइदियो। घर बनाउन नसेकेर जेनतेन निर्वाह गरिरहेका छन्। तर दशैंले भने उनको मन खुसी छैन। उनले भनिन्, ‘दशैं कसरी मनाउने भन्ने चिन्ता छ।’ भर्खर भारत हिँडेका श्रीमानले पनि खर्च पठाउने सम्भावना नदेखेर समूहबाट पाँच हजार ऋण लिएर दशैं मनाउने उनले तयारी छ। ‘सबैतिर महँगी छ, आएकालाई टीकाटाला गर्नेपर्‍यो। थोरैथोरै दक्षिण पनि दिनुपर्‍यो,’ पवित्राले भनिन्, ‘पाँच हजारले दशैं कसरी मनाउनु?’ उनले आफूलाई दशैंमा टीका हुनुभन्दा नभएकै ठीक लाग्ने बताइन्। 

सोही गाउँका माधव मरासिनी ३३ वर्ष पुगे। उनको दुवै खुट्टा, एउटा हात, एउटा आँखा र एउटा कानले काम गर्दैन। ३० वर्षको हुँदा विवाह भयो। ३१ पुग्दा छोरो जन्माए। श्रीमती पनि अपाङ्ग छिन्। घरमा बृद्ध बुबा–आमा, श्रीमती, छोरा र एक बहिनी छन्। हुँदा खाने र नहुँदा भोकै बस्नुपर्ने माधवको परिवारलाई पनि दसैँ आएर मन खुसी छैन। ‘सबै कुरा पैसाले गर्दो रहेछ, पैसा भए पो दशैं, नभए के को दशैं?’ उनले भने, ‘घरमा खान अन्न छैन, साहुले पनि पत्याउदैनन्, दशैं त परैको कुरा हो।’ उनले विगतका वर्षहरुमा २०० रुपैयाँ ऋण खोजेर आधा किलो मासु किनेर दशैं मनाउने गरेको समेत स्मरण गरे। ‘घरका सबैलाई हेर्नुपर्‍यो, चाडपर्वले छुँदैन, मलाई दैवले अपाङ्ग बनाइदियो,’ माधवले भने, ‘दशैं त हाम्रा लागि दशा हो, बरु नआए हुन्थ्यो।’ दशैं पछाडि तिहारमा आउने देउसी भैलो समूहलाई थोरै पैसा दिएमा ‘दैलोमा कुचो, यो घर कति छुचो’ भन्दै जाने कुराले आफ्नो मन दुख्ने उनले बताए।

धुर्कोट गाउँपालिका-७ वाग्लाकी सरस्वती घर्तीको पनि दशैं आयो भनेर मन खुसी छैन। यो वर्ष टीका नभए पनि छोराछोरीलाई नयाँ लुगा किनिदिनुपर्ने, मेला हेर्दा खर्च हुने पैसाको जोहो गर्ने, मीठो मसिनो परिकार किन्ने कुराले प्रत्येक दशैंमा उनको मन पिरोलिन्छ। ‘दशैं आएपछि खर्च मात्रै हुन्छ, पीडा लुकाएर बाहिर हाँसो देखाउनुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘आम्दानीको स्रोत केही छैन, दशैं त हामीजस्ता गरिबका लागि दशा सरह हो।’  आफूलाई कुनै चाडपर्वहरु नआए हुन्थ्यो लाग्ने गरेको उनको भनाइ छ। उद्योग तथा कल कारखानाहरु खोली स्वदेशमै रोजगारको सिर्जना गर्न सके आफूहरुजस्ता धेरै गरिबहरुलाई राहात पुग्ने उनको भनाइ छ। 

अधिकांश हुँदा खाने नेपालीहरुलाई दशैं कसरी मनाउने भन्ने चिन्ता छ। मनभित्र पीडा लुकाएर भए पनि बाहिर हाँसो देखाउनुपर्ने बाध्यता उनीहरुमा छ। महिलाले ऋण काढेर दशैं कटाउनुपर्ने बाध्यता छ। बढ्दै गएको महँगी, कालोबजारी, बेरोजगारीजस्ता समस्याले अहिले धेरै गरिबहरुको दशैं दशामा परिणत हुँदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.