|

हाल म २२ वर्षको भएँ र म इन्जिनियरिङको विद्यार्थी हुँ। शुक्राणुदानबारे मैले पत्रिकामा एउटा समाचार देखेँ। त्यसअघि मैले रक्तदानबारे मात्रै सुनेको थिएँ। पत्रिकामा समाचार देखेपछि ममा कौतुहलता बढ्यो र मैले पूरै समाचार पढेँ।

समाचार पढेपछि मैले थाहा पाएँ भारतमा यस्ता लाखौँ दम्पती छन् जो स्वस्थ शुक्राणु अभावमा बच्चा जन्माउन सक्दैनन्। र, सोही कारण शुक्राणुदानको दायरा तीव्र गतिमा बढ्दो छ। मैले थाहा पाएँ म दिल्लीको जुन क्षेत्रमा बसिरहेको छु त्यहाँदेखि नजिकै एउटा शुक्राणु सङ्कलन केन्द्र रहेछ। त्यहाँ गएर एकचोटि हेरौँ भन्ने विचार मेरो मनमा आयो। म गोरो वर्णको छु, मेरो उचाइ ठिक्कको छ र म बास्केट बल खेल्छु। शुक्राणु सङ्कलन केन्द्र पुगेर मैले शुक्राणु दिने प्रस्ताव गरेपछि त्यहाँका डाक्टरहरू मुस्कुराए। 

पहिलो पटक मैले निकै असहज महसुस गरिरहेको थिएँ। आफ्नो कोठाभित्र हस्तमैथुन गर्नु र शुक्राणु बेच्नका लागि त्यो गर्नुबीच धेरै फरक हुँदोरहेछ। शौचालयमा एउटा प्लास्टिकको भाँडामा मेरो नाम लेखिएको थियो। हस्तमैथुनपछि मैले शुक्राणु त्यही छाडेँ र त्यस बापत चार सय भारु पाएँ। म जुन शहरबाट आएको हुँ त्यहाँ बिहेअघि केटा मान्छेले शारीरिक सम्बन्ध बनाउन सजिलो छैन। मलाई लाग्छ महिलाको हकमा पनि त्यस्तै अवस्था छ। यस्तो अवस्थामा पुरुषहरूका लागि हस्तमैथुन यौनसुखका लागि एउटा विकल्पको रूपमा हुन्छ। तर मलाई लाग्यो हिजोसम्म मैले जे खेर फालिरहेको थिएँ आज त्यसलाई विक्री गर्न पाएको छु।

म शुक्राणु बेच्न लागेको थिएँ। अततः मैले यो साबित गर्नुपर्ने थियो कि म बाहिरबाट जति स्वस्थ छु भित्रबाट पनि उत्तिकै तन्दुरुस्त छु। डाक्टरले मैले केही परीक्षण गराउनुपर्ने भने। मेरो रगतको नमुना लिइयो। मलाई एचआईभी, मधुमेहलगायत रोग छ कि छैन भनेर जाँच गरियो। म सबै कुरामा फिट भएपछि पर्सीपल्ट मलाई बिहान ९ बजे बोलाइयो। मलाई एउटा फारम भर्न लगाइयो जसमा गोपनीयतासम्बन्धी केही शर्त थिए। त्यसपछि मलाई प्लास्टिकको एउटा भाँडा दिइयो र शौचालयको बाटो देखाइयो।

त्यसपछि शुरू भयो यो सिलसिला। म आफ्नो नाम लेखिएको प्लास्टिकको भाँडा लिएर शौचालय जान्थेँ र त्यसमा शुक्राणु दिई पैसा लिएर फर्किन्थेँ। मलाई यो कुराले सन्तोष लागिरहेको थियो कि मेरो शुक्राणुबाट कोही त आमा बन्न सक्छन्। मलाई यो पनि भनिएको थियो कि शुक्राणु दिएको तीन दिनपछि अर्को पटक दिन सकिन्छ अर्थात् एकचोटी दिएपछि कम्तीमा त्यसको ७२ घण्टापछि फेरि दिन सकिनेरहेछ।

केही महिनापछि मेरो मनमा एउटा प्रश्न आयो, के मैले आफ्ना शुक्राणुका लागि पर्याप्त रकम पाइरहेको छु? चलचित्र ’विक्की डोनर’का अभिनेता त शुक्राणु बेचेरै धनी बन्छन्, तर मैले एकचोटी शुक्राणु दिँदा जम्मा ४०० भारु पाउँछु। हप्तामा दुई पटक दिँदा ८०० रुपैयाँ हुन्छ। अर्थात् महिनामा तीन हजार २०० रुपैयाँ मात्र हुन्छ। मैले आफू ठगिएको महसुस गर्न थालेँ। शुक्राणु सङ्कलन केन्द्र गएर ’विक्की डोनर’को चर्चा गर्दै मैले पाउने गरेको रकमबारे असन्तोष जनाएँ।

तर आफूप्रतिको मेरो भ्रम त्यतिबेला टुट्यो जब सङ्कलन केन्द्रका कम्प्युटरमा इमेलहरू देखाइयो। जसबाट मानिसहरू शुक्राणु बेच्न पालो कुरिरहेको थाहा भयो। अनि मैले आफूलाई सम्झाएँ। म पनि त अभिनेता आयुष्मान खुराना होइन। शायद थोरै रकम पाउने भएर होला हामीजस्तालाई शुक्राणुदाता भन्ने गरिन्छ न कि बिक्रेता।

भलै कम रकम पाउने गरेको छु, तर मेरो जीवनमा यसको सकारात्मक असर परेको छ। मलाई लाग्छ आफ्नो शुक्राणु त्यसै खेर फाल्न हुँदो रहेनछ। अर्को कुरा हस्तमैथुन गर्ने मेरो बानी अहिले छुटिसकेको छ। मलाई थाहा छ कि मैले गलत गरिरहेको छुइनँ। तर म यो कुरा सबैलाई भन्न सक्दिनँ। यसको अर्थ यो पनि होइन कि म कसैसित डराउँछु। तर मलाई लाग्दैन हाम्रो समाज यति परिपक्व भइसकेको छ, जसले यो विषयलाई संवेदनशीलताका साथ बुझ्न सकोस्।

मलाई कुनै अपराधबोध भएको छैन। तर मानिसहरूलाई यसबारे बताउन जोखिममुक्त पनि छैन। यसबारे म आफ्नो घरमा कसैलाई भन्न सक्दिनँ किनकि मेरा आमाबुवालाई यसको नराम्रो असर पर्न सक्छ। शुक्राणु किन्नेहरू अविवाहित पुरुषलाई नै प्राथमिकता दिँदा रहेछन् र २५ वर्ष उमेरसम्मका लागि राम्रो मान्दा रहेछन्।
शुक्राणुदानलाई लाजको विषय मान्ने हो भन्ने हस्तमैथुन पनि त लज्जाको विषय हुनुपर्छ। तर मेरा लागि यी दुइटै कुरा लाजका विषय होइनन्।

बीबीसी हिन्दीका सम्वाददाता रजनीश कुमारले तयार पारेको एक युवकको जिन्दगीमा आधारित सत्य घटना।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.