|

पर्वत : ‘दशैँ आयो सँगै सबै साथीहरू घर घरमा गए, म नि जाऊँ कि भनेको घर जाँदा लैजाने पैसा छैन। बिना पैसा घरमा गएर बा, आमा, बूढी र छोरालाई के किन्दिऊँ?’ घर जाने पैसाको अभावमा घर नजाने भएका बर्दियाका वीरबहादुर बिकको भनाइ हो यो। 

वीरबहादुर यसवर्षको  दशैँमा घर नगईकन मध्यपहाडी लोकमार्गमा भइरहेको काममा नै खटिँदै छन्। उनलाई दशैँमा घर जान मन नलागेको भने होइन। तर, उनी घर जान नसक्नुमा २ वटा कारण छन्। पहिलो हो आफूसँग धेरै पैसा नभएका कारण घरमा जाँदा बूढा भएका बाबु र आमा, श्रीमती र १४ महिनाको काखे छोरालाई कसरी खुसी दिनु? अनि दोस्रो हो २ छोराहरु आगोमा परेर जलेका कारण मृत्यु भएकाले उनीहरुकै याद आउँछ, दशैँ खल्लो लाग्छ। 

पोखरा बागलुङ राजमार्गलाई मध्यपहाडी लोकमार्गको रुपमा विकसित गर्ने काम भइरहेको छ भने वीरबहादुर यही काममा व्यस्त छन्। बिहानदेखि बेलुकासम्म बाटोको चक्लाबन्दी गर्न गैँची र बेल्चा चलाउने उनी आफूलाई संसारकै दुर्भाग्यशाली सम्झीन्छन। उनलाई घर जान मन त कहाँ नभएको हो र? तर घर जानको लागि पैसा नभएका कारण नै समस्या भएको छ उनलाई।

‘ज्यामी काम गरेर ३ लाख त कमाएको थिएँ, छोरा आगोमा परे भेरी अस्पतालमा उपचार गर्दा २ लाख ७५ हजार सकियो।’ वीरबहादुरले भने। मंसिरमा कुन्युको छेउमा बसेर रातीको समयमा चाउचाउ खाँदै गरेको बेलामा आफैँले आगो सल्काउँदा त्यही कुन्युमा परेर उनका दुई छोराहरू जले। सन्तानका कारण भावुक बनेका उनले परेलीका बीटसम्म आँशु निकाल्दै थपे, ‘२ छोरा आगोमा परेर मरे, उनीहरूको पीरले सताउँछ, घर जान पाए फेरि जन्मेको १४ महिने छोराको मुख त हेर्न पाइने थियो।’ वीरबहादुरको परिवार उनैको पाखुरीको भरमा धानिएको छ। छोरोको उपचारको क्रममा पैसा सकिएपछि उनलाई दशैँमा घर जान मन छैन। त्यही पनि सडकमा काम गर्दा पाउने पैसा संगालेर अलि पछि घर पुगेर फर्किने उनको सोच छ। 

वीरबहादुर जस्तै दाङको घोराही घर भएका लक्ष्मण चौधरी पनि यस वर्षको दशैँमा मध्यपहाडी लोकमार्गकै काम खटिरहेका छन्। उनलाई दशैँको रौनक भन्दा पनि काम गरेर केही पैसा जम्मा पार्न पाए परिवारको पेट पालिने थियो भन्ने लागेको छ। घरमा बुबा, आमा, भाई र बहिनी उनकै आशामा बाँचेका छन्। उनले यस पटकको दशैँको लागि घरमा केही पैसा पठाए तर उनलाई जान मन लागेन। ‘दशैँमा घर जाँदा नै खर्च बढी हुन्छ। पैसा पठाएको छ मैले यहीँ बाटोमै काम गर्छु। काम गरेसी २/४ पैसो हुन्छ। घरमा जाँदा खर्च मात्रै।’ लक्ष्मणले भने। 

दाङकै घोराही घर भएका ५४ वर्षीय देउबहादुर पुनले पनि दशैँलाई पाल सडक खन्ने बेलामा बास बस्नका लागि निर्माण गरिएका टहरामा नै मनाउँदै छन। उनका श्रीमान श्रीमती दुवैले लोकमार्गकै बाटो बनाउँदा प्लाष्टरसहित भित्ता मिलाउने काम गर्छन्। उनका श्रीमान श्रीमती अघिल्लो वर्षमा पनि दशैँमा घर जान सकेनन्। दिन रात सडककै काममा खटिने उनीहरुलाई दशैँको भन्दा २ पैसा कसरी कमाउने? र कसरी पेट पाल्ने भन्ने चिन्ता छ।

भाँडा माझेर समय रहे बेल्चा

यिनै मजदुरहरुको भीडमा छिन पिठ्युँमा कुर्थाको सलबारले सानी नानीलाई बाँधेर भाँडा माझ्दै गरेकी २८ वर्षीय युवती दुर्गा थापा। उनको काम भनेको सँगै रहेर ज्यामी काम गरिरहेकाहरुलाई खाना बनाएर खुवाउने। उनीको समूहमा रहेका १८ जनालाई उनले खाना तयार गर्छिन्, भाँडा मझ्छिन् अनि समय हुँदा साथ बेल्चाले सिमेन्ट र बालुवा घोल्न पनि पुग्छिन्। उनले यसरी नै काम गर्न थालेको १० वर्ष पुगिसकेको छ। उनली श्रीमान श्रीमतै नै रहेर ज्यामी काम गर्दै आएकी दुर्गाको जोडी पनि यस पटकको दशैँमा घर गएको छैन। 

दशैँलाई रमझमको साथ मनाइँदै गर्दा यसरी नै पाखुरीको भरमा जीवनको जोहो गरेकाहरुलाई दशैँले खासै छुन सकेको छैन। मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा देशका विभिन्न जिल्लाका झण्डै ७० जनाभन्दा बढी ज्यामीहरु यसरी नै बिहानदेखि बेलुकासम्म बाटोमा काम गर्दै पालमुनि सुतेर दैनिकी काटिरहेका छन्। 

यी मध्येका झण्डै आधाजति मात्र यसपालिको दशैँमा घरमा गएका छन् भने अरूले सडकमा नै काम गरिरहेका छन्। दशैँको रमझममा भुलेर पैसा खर्चभन्दा पाखुरी चलाउँदा मात्र मुख चलाउन पाइने भएका कारण दशैँको टीकाभन्दा गैती र बेल्चाकै बढी महत्व छ उनीहरूलाई।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.