|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ गर्जमूनिमा गएराति दुई दर्जन बढीको संख्यामा आएका जंगली हात्तीको झुण्डले छजना किसानको एक विघा बढी जग्गाको काटेर राखेको धान खाएर नोक्सानी गरेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट किसानका खेतमा छिरेको हात्तीको झुण्डले थ्रेसिङ गर्न ठिक्क पारेर राखिएको धान खाएर नोक्सानी गरेको हो।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार स्थानीय किसान मनिलाल जोशी, जयबहादुर साउद, डम्बरबहादुर साउद, प्रजापती जोशी, गौरव भण्डारी, दिले बिष्ट र नैन सिंह पालको धानबालीमा हात्तीको झुण्डले नोक्सानी पुर्‍याएको हो।

'हात्तीले किसानको दुई कट्टादेखि पाँच कट्टासम्मको धान खाएर नोक्सान गरेको छ' इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अबस्थीले भने, ‘आँगनमै राखेको धानबाली हात्तीको झुण्डले खान थालेपछि किसान मार्कामा परेका छन्।’

साँझ नपर्दै हात्तीको झुण्ड खेतमा छिर्ने गरेको र धान खाएर अघाएपछि मात्रै निकुञ्जतर्फ लाग्ने गरेको पीडित किसानको भनाइ छ। तीन सातादेखि भारतको दुधुवा नेशल पार्क हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छिरेको हात्तीको झुण्डले यहाँका बासिन्दालाई निकै सास्ती दिन थालेको हो।

'भगाउन गएपछि पूरै झुण्ड आक्रमण गर्न आउँछ', स्थानीय किसान मनिलाल जोशीले भने, ‘आगो र पटाका पडकाएर पनि तर्सन छाडेको छन्। धान बाली सकिएपछि घरभित्र भण्डारण गरेको अन्नसमेत खाने सम्भावना बढेकोछ । हात्ती नियन्त्रणका लागि पहल गरिनु पर्छ। मानवीय क्षतिसमेत हुन सक्ने सम्भावना बढेर गएको छ।’

हात्तीको झुण्ड बस्ती छिर्न थालेपछि स्थानीय बासिन्दा रातभर जाग्रामसमेत बस्न थालेका छन्। धानबाली क्षति भएको क्षेत्रको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले अनुगमनसमेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.