|

काठमाडौं : दशैँ भनेपछि नेपालीहरू हर्ष, खुसी, सद्भाव, मिलनको पर्व भनेर बुझ्छौँ। दशैँ नजिकिँदै गर्दा हामी सबैको मुहार खुसीले छाउछ। हामी सबै नेपालीहरूको घरघरमा दशैँ भित्रिइसकेको छ।

देशको नेतृत्व गरिरहेका नेता, मन्त्रीदेखि सबै सर्वसाधारण दशैँको विभिन्न प्रक्रिया पूरा गर्दै दशैँको टीका लगाउने दिनको प्रतीक्षा गरिरहेका छन्। यसै सन्दर्भमा मुलुकको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) का महिला नेता र सांसदहरूको दशैँबारे यहाँ चर्चा गरिएको छ:

अष्टलक्ष्मी शाक्य, स्थायी समिति सदस्य-नेकपा

नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य काठमाडौंकी स्थायीयवासी हुन्। काठमाडौंमै जन्मे, हुर्केकी अष्टलक्ष्मीका बाल्यकालका यस्ता थुप्रै दशैँ सम्झनाहरू छन्। जसले अहिले पनि ती दिनहरू ताजा बनाइदिन्छन्।

अझ रमाइलो कुरा उनी दशैँकै बेला जन्मिएकी हुन्। त्यसैले उनको नाम पनि अष्टलक्ष्मी राखियो। भन्छिन्, 'दशैँकै बेला मेरो जन्म भएको हो। अष्टमीको दिन जन्म भएको हुनाले बुबा, आमाले मेरो नाम पनि अष्टलक्ष्मी राखिदिनुभएको छ।' बाल्यकालमा मनाएको दशैँ नै उनको सम्झनामा बसिरहेको छ। तर अहिले उनी दशैँ त्यसरी मनाउने नगरेको सुनाउँछिन्। 'लामो समय भूमिगत भएँ। घरपरिवार सबै छाडेर जनताको बीचमा गएँ। जनताको बीचमा भूमिगत हुँदा जनताले मनाउने दशैँ मनाउथ्यौँ', उनी भन्छिन् 'बल्लतल्ल गरेर एक छाक मासुभात खाने हो त्यसपछि ऋण बोक्ने हो। त्यसरी धेरै समय बिताइयो जनताको बीचमा बसेर।'

उनको घरमा पूजापाठ हुँदैन। उनी आफू पनि पूजा गर्दिनन्। आफैँले पनि भौतिकवाद, द्वन्द्ववाद, माक्सवादलाई आत्मसाथ गरेको हुनाले धेरै आदर्शवादतिर जान नचाहेको उनी बताउँछिन्। 'म बुझेरै राजनीतिमा लागेको व्यक्ति हुँ। तर, हाम्रो परम्परा जोगाउनुपर्छ। दशैँ, तिहार सबै एकताको प्रतीक पनि हो। एकताको संस्कृति जो सदियौँदेखि चल्दै आएको छ। यसलाई फारोतिरो गरेर सबैले मनाउन सक्नेगरी मनाउनुपर्छ', उनले भनिन्।

यसवर्ष दशैँका लागि अष्टलक्ष्मीको खास तयारी छैन। साथीभाइहरूसँग भेटघाट गर्ने, शुभकामना आदानप्रदान गरेर मनाउने उनले बताइन्। छोराबुहारी, नातिनातिना कसैले पनि माछामासु नखाने हुनाले घरमा माछामासु नभित्रिने उनले बताइन्।

पम्फा भुसाल, स्थायी समिति सदस्य-नेकपा

यस वर्षको दशैँ नेकपा स्थायी समिति सदस्य पम्फा भुसालले ललितपुरमा नै मनाउँदै छिन्। घरपरिवार, आमा, दिदीबहिनीसँग बसेर दशैँ मनाउने नेता भुसालको योजना छ। 'दशैँका लागि भनेर मेरो त्यस्तो विशेष केही कार्यक्रम छैन', उनी भन्छिन्, 'दशैँमा यसरी नै यस्तो गरेर मनाउने भन्ने मेरो योजना छैन। तर, दशैँका दिन आमासँग टीका लगाउँछु। दिदीबहिनी, आमासँग बस्छु।' दशैँका सन्दर्भमा आयोजना भएका विभिन्न कार्यक्रमहरूमा सहभागी भएको उनले बताइन्।

ओनसरी घर्तीमगर, पूर्व-सभामुख तथा नेता-नेकपा

पूर्व-सभामुख ओनसरी घर्तीमगरको यसपालि दशैँ मनाउने कार्यक्रम छैन। आफ्नो दाजुको निधन भएका कारण यसपालि दशैँ मनाउने कार्यक्रम नभएको नेकपा नेतासमेत रहेकी ओनसरीले बताइन्। 'यसपालि मेरो दशैँ छैन। मेरो दाजु मंगलबार (हिजो) मात्रै बित्नुभएको छ', उनले भनिन्, 'त्यसकारण यसपालि दशैँ मनाउने कार्यक्रम छैन।' घरमा दु:ख परेका कारण घरपरिवारसँगै बस्ने नेता ओनसरीले बताइन्।

जयपुरी घर्ती मगर, सभापति- शिक्षा तथा स्वास्थ्य समिति (प्रतिनिधिसभा)

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीमगर ११ दिनदेखि रोल्पामा छिन्। दशैँको सन्दर्भमा गृहजिल्लाका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन सभापति घर्तीमगर ११ दिनअघि नै रोल्पा आएकी हुन्।

भर्खरै राङसीस्थित घरमा आइपुगेकी सभापति जयपुरीले यसपालि दशैँमा टीका लगाउने कार्यक्रम नभए पनि आमासँगै बसेर दशैँ मनाउने कार्यक्रम रहेको बताइन्। 'अहिले भर्खरै घर राङसीमा आएको छु', उनी भन्छिन्, 'जिल्लामा आयोजना गरिएका विभिन्न राजनीतिक कार्यक्रम सहभागी हुन म ११ दिन पहिले रोल्पा आएकी हुँ। ५/६ वटा कार्यक्रम भ्याइसकेँ।'

दशैँमा आफ्नो ९० वर्ष पुगेकी आमासँग बसेर मनाउने सभापति जयपुरीको योजना छ। आमासँगै गाउँघरका साथीभाइहरूसँग भेटघाट गरेर दशैँ मनाउने योजना रहेको सभापति जयपुरीले बताइन्।

रामकुमारी झाँक्री, सांसद

नेकपा नेता तथा सांसद रामकुमारी झाँक्री यसपालि काठमाडौंमै दशैँ मनाउँदै छिन्। दशैँ सुरु भइसकेकाले दशैँ मनाउन थालिसकेको उनले बताइन्। माइती गुल्मी र घर काठमाडौं भएकाले यसपालि माइती नजाने योजना रहेको उनले बताइन्। 'आमा गुल्मीमै हुनुहुन्छ। दाइभाउजूहरू जानुभयो। यसपालि म काठमाडौंमै दशैँ मनाउँछु', उनले भनिन्।

आफ्नो घरपरिवार काठमाडौंमै भएकाले यसपालि काठमाडौंमै दशैँ मनाउने योजना बनाएको उनले बताइन्। दशैँ बिदा भएकाले औपचारिक कुनै पनि कार्यक्रमहरू नहुने र त्यो समय पूरै परिवारका लागि दिने उनले बताइन्। उनी भन्छिन्, 'दशैँ बिदाको समय कम्प्लिट घरपरिवारका लागि हो। यसबीचमा भेटघाटबाहेक त्यस्तो विशेष कुनै कार्यक्रम छैन।'

नवीना लामा, सांसद तथा अध्यक्ष-अनेरास्ववियु

सांसद तथा अनेरास्ववियु अध्यक्ष नवीना लामाको दशैँ यसवर्ष अन्य वर्षभन्दा केही फरक हुनेछ। किनभने यसवर्ष उनी बुहारीका रूपमा पहिलो दशैँ मनाउनेछिन्। त्यसकारण माइती र घर गरेर दुवैतिर दशैँ मनाउने योजना रहेको उनले बताइन्। सबै नेपालीले मनाएजसरी नै दशैँ मनाउने चलन रहेको भन्दै त्यसरी नै दशैँ मनाउने योजना नवीनाको छ। तर यसपालि विवाहित भएकाले घर, माइती दुवैतिर दशैँ मनाउने उनले बताइन्। 'यसपालिको दशैँमा के फरक छ भने पहिले म अविवाहित थिए। यसपालि विवाह गरेर घर, माइत दुवैतिर गएर दशैँ मनाउनुपर्ने छ। त्यसकारण फरक हुने भयो', उनी भन्छिन्।

सबै चाडहरूलाई समान ढंगले मनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको भन्दै सांसद लामाले यसपालि परिवारका बुबाआमा, सासुससुरा सबै काठमाडौंमै रहेकाले काठमाडौंमै दशैँ मनाउने बताइन्। भनिन्, 'घरका ठूलाबडा र नेताहरूसँग भेटघाट गरेर टीका लगाएर दशैँ मनाउँछु। घर पेप्सीकोला र माइती नयाँ बानेश्वर दुवैतिर दशैँ मनाउँछु।'

कोमल वली, सांसद

कलाकार कोमल वली राष्ट्रियसभाको सांसदको रूपमा प्रवेश गरेको करिब एक वर्ष हुँदै छ। गत वर्ष दशैँका बेला उनी विदेशमा थिइन्। त्यसकारण यसपालि उनी दशैँको टीका भने काठमाडौंमै लगाउनेछिन्। तर, दशैँमा गृहजिल्ला दाङमा पनि जाने उनको योजना छ।

उनको विचारमा दशैँ भनेको गाउँमा मनाउने हो। काठमाडौँमा बसे पनि दशैँ मनाउन भने दाङमै जान मन लाग्ने उनले बताइन्। 'टीका चै मेरो आमा काठमाडौंमा भएकाले काठमाडौंमा लगाउँछु। तर, दशैँ भनेको गाउँमा मनाउने हो भन्ने लाग्छ', सांसद वली भन्छिन् 'गाउँमा जान मन लाग्छ। काठमाडौंमा बसे पनि मन चै दाङमै हुन्छ। साथीभाइहरूसँग शुभकामना आदानप्रदान गरेर, सामाजिक सञ्जालमा स्टाटसहरू लेखेर, म्यासेज लेखेर, नजिकका साथीहरूसँग भेटघाट गरेर मनाउँछु।'

दशैँका सन्दर्भमा अध्ययनमा पनि समय दिने कोमलको योजना छ। उनी भन्छिन्, 'केही कानुनहरू आएका छन्, विधेयकहरू पनि पास भएका छन्। तिनीहरू पढ्दै छु। हिउँदे अधिवेशन सुरु हुनुभन्दा पहिले सबै पढेर क्लियर बनाएर बस्ने विचारमा छु। राजनीतिमा धेरै कुरा मैले सिक्दै पनि छु।' यसबाहेक अन्य किताबहरू पनि पढ्ने योजना रहेको उनले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.