|
फाइल तस्बिर

सुनसरी : कोसी टप्पु आरक्ष संरक्षणको अभावमा संकटमा पर्न थालेको छ। सुनसरी, सप्तरी र उदयपुर तीन जिल्लाको सप्तकोशी किनारामा अवस्थित सो आरक्ष संरक्षणमा सरोकारवालाको उदासीनताका कारणले संकटमा पर्न थालेको हो।

कुल १७५ वर्ग किलो मिटर क्षेत्रफललाई समेटेको कोशी टप्पु वन्यजन्तु आरक्ष अर्नाको संरक्षणका लागि स्थापित गरिएको भए पनि आवश्यक संरक्षणको अभावमा संकटमा पर्न थालेको छ। अर्ना संरक्षणको लागि वि स २०३२ सालमा स्थापित भए पनि आरक्षको संरक्षणमा स्थानीयवासी तथा सरकारी निकाय दुवै पक्षको उदासीनता बढ्न थालेपछि आरक्षको अस्तित्व संकटमा पर्न थालेको हो।

विश्वमै दुलर्भ बन्दै आएको बाबुलिस जातको अर्ना संरक्षणका लागि स्थापित आरक्ष प्रशासन तथा स्थानीयहरूको ध्यान संरक्षणका लागि पर्याप्त पुग्न नसक्दा अर्ना संरक्षण कार्य चुनौतीपूर्ण बन्दै आएको छ। नेपालमा वि स २०२० साल अगाडिसम्म चितवनमा पनि बाबुलिस जातको अर्ना पाइन्थ्यो भने २०२० सालमा आएर वासस्थान विनास र अर्नासँगै मिसिएर चर्ने घरपालुवा भैँसीबाट खोरेत रोग सरेर मरेपछि चितवनका अर्नाहरू सदाका लागि लोप हुन पुगे। चितवनवाट अर्नाको वंश विनास भएपछि कोशी किनार क्षेत्रमा रहेका अर्नाहरूको संरक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षको स्थापना गरिएको हो।

जैविक विविधताको संगमस्थलको रूपमा रहेको कोशी टप्पुमा स्तनधारी वन्यजन्तु, चरा, रेप्टाइल, उभयचर, माछा, पुतली, किरा र फूल फुल्ने वनस्पती तथा फूल नफुल्ने प्रजातिका वनस्पती समेत पाइन्छन्। तर पनि आरक्षको संरक्षणका लागि प्रयाप्त जनचेतना अभिवृद्धि गर्न नसकिएका कारण आरक्ष संकटमा पर्दै आएको छ। कोशी टप्पुलाई चराको राजधानी भनेर चिनिने गरिन्छ। तर केही वर्ष यतादेखि कोशी टप्पुमा आउने आगन्तुक चराहरूको संख्या समेत घट्न थालेको छ।

जयवायु परिवर्तनका कारण ताक्रम बढ्न थालेपछि चिसो छल्न आउने चराहरूका लागि उतै उपयुक्त बन्न थालेका कारण पनि चराको संख्‍या घटेको अनुमान आरक्ष प्रशासनले समेत गर्न थालेको छ। पछिल्लो गणनाअनुसार अर्नाको संख्या ४४१ पुगेको आरक्षले सार्वजनिक गरेको छ।

आरक्षमा अझै खुला चरिचरण

आरक्षमा अझै पनि दस हजार बढी घरपालुवा भैंसी र गाइ गोरुहरू रहेको आरक्ष प्रशासन, संरक्षणका क्षेत्रमा काम गर्ने तथा सञ्चारकर्मीहरूको दावी रहेको छ। कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रमा घरपालुवा जनावरहरूकोअतिक्रम स्थापनाकालदेखि नै रहँदै आएको छ। अहिले पनि कोशी टप्पु आसपासको क्षेत्रमा भैंसी गोठ राखेर अर्नासँग भैंसीलाई बणशंकर गराएर पाडापाडीहरू निकालेर बेच्ने गिरोह सक्रिय रहँदै आएको छ।

आरक्ष क्षेत्रमा लामो समयदेखि छोडिएका भैंसी तथा तिनीहरूबाट जन्मिएका सन्तानहरू समेत धेरै रहेको जंगली स्वभावका भई सकेका कारण समेत आरक्षबाट भैंसीहरू हटाउन समस्या हुँदै आएको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साह बताउँछन्।आरक्ष क्षेत्रमा रहेका अर्नासँग क्रस गराइएका भैंसीहरू झट्ट हेर्दा अर्ना जस्तै ठूला-ठूला सिंघ भएका देखिन्छन्। आरक्षमा अर्नाहरू भन्दा अर्नासँग क्रस भएका यस्तै झर्नाहरू (अर्नाबाट पुस्तान्तरण भएका ) धेरै रहेका छन्। आरक्षमा अर्ना हेर्न आउने पर्यटकहरू समेत अर्नाको सट्टा झर्ना हेरेर फर्कनुपर्ने अवस्था रहँदै आएको छ।

आरक्षमा रहेका यस्ता भैंसीहरूलाई घण्टी झुण्ड्याइएको तथा छाप लगाएको देखिन्छ। सन् १९८७ मा नेपालको पहिलो रामसार सूचीमा सूचीकृत पूर्वी तराइको मुख्य पर्यटकीय स्थलको रुपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षलाई व्यवस्थित बनाउने कार्य प्रभावकारी रुपमा हुन नसक्दा पर्यटकको संख्या समेत घटन थालेको छ।

समस्याका रूपमा हेर्छन् स्थानीयहरू

कोशी टप्पु वन्यजन्तु आरक्षबाट बाहिर आएर स्थानीयलाई क्षति पुर्‍याउने कार्य संरक्षित जनावरले गर्दा सहज रूपमा क्षतिपूर्ति नपाउने, क्षति भए अनुसारको क्षतिपूर्ति नपाउने कारणले समेत आरक्षप्रति स्थानीयको हेर्न दृष्टिकोण अझै पनि वक्रदृष्टिकोण नै रहँदै आएको छ। स्थानीय तह तथा आरक्ष प्रशासनबाट तत्काल राहत नपाई वन्यजन्तु कोषमार्फत आउँदा झन्झटिलो हुने गरको स्थानीयको आरोप रहेको छ। त्यसैगरी आरक्ष बाहिर बस्तीमा जगंली जनावर सहज रुपमा आउन नसक्ने बनाउने कार्य प्रभावकारी हुन नसकेको कारण पनि स्थानीयहरू अारक्षप्रति आक्रोशित बन्दै आइरहेका छन्।

कोशी टप्पु वन्यजन्तु आरक्षलाई व्यवस्थित गर्दै राष्ट्रिय निकुञ्जको रुपमा विस्तार गरी आरक्षमा रहेका अर्नाका अलावा विभिन्न प्रजातिका जलचर, चरा, पुतली, माछा, उभयचर र बनस्पतीहरू संरक्षण गर्न सके विश्वमै दुलर्भ बन्दै आएको बाबुलिस जातको अर्ना संरक्षण हुनुका साथै पूर्वी नेपालको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पुन स्थापित गर्न सकिने विज्ञहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.