गगन थापाको दशैँ जर्मनीमा

|

काठमाडौं : नेपालीहरूको महान चार्ड बडादशैँले अहिले सबै नेपालीलाई छपक्कै छोपेको छ। अहिले विदेशबाट दशैँका लागि नेपालीहरू फर्कने क्रम पनि उतिकै छ। यस्तै विभिन्न कामले शहरमा बस्ने पनि गाउँ जाँदैछन्। कतिपय गाउँ जाने क्रममा पनि छन्। क्रमशः शहर सुनसान बन्दै छ। 

राजनीतिक दलका नेताहरूलाई पनि अहिले दशैँले छपक्कै छोपेको छ। दशैँमा कार्यकर्ताले आयोजना गरेका कार्यक्रममा जान भ्याइनभ्याई छ। तर यसपटक कांग्रेसलाई भने शोक छ। 

कांग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको निधनका कारण कांग्रेसले कुनै औपचारिक कार्यक्रम गरेको छैन। नेताहरू पनि यस्ता कार्यक्रममा सहभागी भएका छैनन्। तर व्यक्तिगत रूपमा भने नेताहरू पनि दशैँ मनाउने योजनामा छन्। कांग्रेसका शीर्ष नेताको दशैँमा के योजना छ?

शेरबहादुर देउवा 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको यसवर्षको दशैँ सधैँ जस्तै हुनेछ। खसै उल्लासका साथ दशैँ नमनाउने देउवाले यस वर्ष पनि त्यस्तो केही कार्यक्रम राखेका छैनन्।

सभापति देउवाका बुबा आमा बितिसकेको र परिवारमा उनीभन्दा ज्येष्ठ सदस्य पनि नभएका कारण उनले कसको हातबाट टीका लगाउने भन्ने निश्चित भइनसकेको उनका सहयोगी केशव जोशीले जानकारी दिए। 

तर उनले दशैँमा आफ्नै निवास बूढानिलकण्ठमा आराम गरेर दशैँ मनाउने छन्। उनले टीका लगाउन आएका कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम रहेको देउवाको सचिवालयले जनाएको छ।

रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले यसपटक धार्मिकस्थलको भ्रमण गरेर दशैँ मनाउने भएका छन्। उनी करिब दुई हप्ता भारतको केदारनाथलगायत विभिन्न धार्मिकस्थलमा तीर्थयात्रा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। त्यसका लागि उनी मंगलबार नै भारत प्रस्थान गरेका छन्। उनी अक्टोबर २८ मा मात्र नेपाल फर्कने छन्। यसपटक उनले टीका नलाउने सचिवालयले बताएको छ।

‘उहाँको जेठो ज्वाईँ माधव खनालको निधन भएको छ’, उनको सचिवालयले भन्यो,‘छोरीलाई दुःख परेको छ। म दशैँ मनाउँदिन भनेर उहाँ तीर्थयात्रामा निक्लनु भएको हो।’

विमलेन्द्र​ निधि 

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको पनि दशैँ त्यति उत्साहजनक छैन। यसपटक उनले दशैँ मध्यबानेश्वरस्थित आफ्नै निवासमा मनाउने छन्।
‘यसपटक खासै कार्यक्रम केही छैन’, उनले भने, ‘जिल्लामा केही कार्यक्रम यसअघि गर्‍यो। हाम्रा नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण कार्यक्रमहरू पनि स्थगित भए।’ 

उनको दशैँ कार्यक्रम त खासै छैन तर भीमसेन गोलास्थिति जेठानी दिदीकोमा टीका लगाउन जाने कार्यक्रम रहेको निधिले बताए। ‘हाम्रो समुदायमा टीकाको चलन हुँदैन। तर मचाहिँ भीमसेनगोलामा जेठानी दिदी दीपशिखा शर्मा हुनुहुन्छ। म त्यहाँ गएर टीका लगाउँछु’, उनले भने,‘त्यसपछि अरू त खासै कार्यक्रम छैन।’

प्रकाशमान सिंह 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको दशैँ सधैँ विषेश हुने गर्छ। उनी दशैँको समयमा प्रायः सबै मन्दिर जान्छन्। यसपटक पनि घटस्थापनाका दिनदेखि नै उनी काठमाडौंका विभिन्न मन्दिर जाँदै आएका छन्।

उनी सधैँको जस्तै यसपटक पनि टीकाको दिन वसन्तपुस्थित कुमारी मन्दिरमा गएर कुमारीको हातबाट टीका लगाउने छन्। त्यसपछि उनीको आफ्ना दाइ पिएल सिंहबाट टीका लगाउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। 

कृष्णप्रसाद सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको दशैँ यसपटक त्यति उत्साहजनक छैन। उनी यसपटक दशैँलाई पारिवारिक जमघट र कार्यकर्ता भेटघाटमा मात्र सीमित गर्दैछन्। 

आफन्तको निधन भएका कारण सिटौलाले दशैँमा टीका लगाउने छैनन्। तर आफन्त र कार्यकर्तासँगको भेटघाटका लागि उनी झापाको भद्रपुरस्थित घरमा पुगेको उनका छोरा श्याम सिटौलाले जानकारी दिए। 

डा. शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला यसपटक काठमाडौंमै दशैँ मनाउँदै छन्। दशैँमा उनी कार्यकर्ता भेट्ने पनि उनको स्वकीय सचिव भरत तिवारीले जानकारी दिए। टीकाको दिन उनी दाइ प्रकाशबाट टीका ग्रहण गर्न र पारिवारिक भेटघाटमा रम्ने कार्यक्रम छ। त्यसपछि उनी दिदी सुजता कोइरालाको हातबाट टीका लगाउन जाने छन्। 

अर्जुननरसिंह केसी 

नेता अर्जुनरसिंह केसीको दशैँ यसपटक उल्लासमय छैन। भाइ महेश्वरनरसिंह केसीकी श्रीमती (उनकी बुहारी)को निधन भएका कारण उनको दशैँ खासै उत्साहको हुने छैन। 

केही दिनअघि गृहजिल्ला नुवाकोटमा शुभकामना आदानप्रदान कार्यक्रमका लागि गएको भए पनि नेता चक्रप्रसाद बाँस्तोलाको निधनपछि उनी काठमाडौंस्थित आफ्नै निवासमा छन्। 

केसीका स्वकीय सचिव तथा नेविसंघ नेता निरञ्जन थापाका अनुसार काठमाडौंमा रहेको केसीको घरमा सात दाजुभाइ भेला हुने छन्। उनीहरूको दशैँ पारिवारिक भेटघाटमै बित्ने थापाले जानकारी दिए। 

डा. शेखर कोइराला

कांग्रेस नेता डा. शेखर कोइरालाको दशैँ विराटनगरमा बित्ने छ। उनका सहयोगी दिनेश थपलियाका अनुसार विराटनगरस्थित कोइराला निवासमा यसपटक भब्य पूजाआजासहित दशैँ मनाउने कार्यक्रम रहेको छ। दशैँका लागि उनी यसअघि नै विराटनगर पुगिसकेका छन्। 

कांग्रेस कार्यकर्ताहरू यसपटक पनि कोइराला निवासमा दशैँको शुभकामना आदानप्रदानका लागि आउने छन्। डा.कोइराला दशैँ मनाउन सपरिवारसहित विराटनगरमा छन्। 

गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापा यसपटक विदेशमा दशैँ मनाउँदैछन्। उनी करिब १५ दिनअघि नै बेलायत र जर्मनको भ्रमणमा पुगेका छन्। ग्लोबल क्वालिटी हेल्थ ल्याण्डसेट कमिसनको भेलामा थापा नेपालबाट ग्लोबल लिडरको हैसियतले सहभागी हुने बेलायत पुगेका हुन्। 

त्यहाँ भएको रिपोर्ट सार्वजनिक कार्यक्रम सकिएपछि थापा अहिले जर्मन पुगेका छन्। उनी जर्मनमा आफ्ना दाइ पवन थापाको घरमा दशैँ मनाउने छन्। उनी त्यहाँ श्रीमती अञ्जना छोरीहरू गार्गी र जियानासँगै दशैँ मनाउने कार्यक्रम रहेको थापाका सहयोगी प्रताप पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.