|

नवलपरासी : दशैं तिहारमा निकै चहल-पहल हुने बर्दघाट बजारमा यस पटक भने खासै चहल-पहल देखिएन। दशैंको सिजनमा राम्रो व्यापार गरौंला भनेर पसलमा लगानी बढाएका व्यापारीहरू यतिवेला निराश भएका छन्। उपभोक्ताको रोजाइमा सिमावर्ती भारतीय बजारहरू पर्न थालेपछि यहाँका व्यापारीहरू चिन्तित भएका छन्।

पश्चिम नवलपरासीको महेशपुर भन्सारसँगै जोडिएको सिमावर्ती बजार ठुठीबारीमा भने नेपाली उपभोक्ताहरूको घुइँचो नै लाग्ने गरेको छ। भारतीय व्यापारीकाे उपभोक्तालाई सामान बिक्री गर्न भ्याई-नभ्याई छ। खुल्ला सिमानाका कारण र सस्तो पाईने भ्रममा परेर सिमावर्ती क्षेत्रका नेपाली उपभोक्ताहरू भारतीय बजारमा पुगेर दैनिक उपभोग्य सामानदेखि आवश्यक सरसामान किन्ने गरेका छन्।

विना कुनै रोकतोक सिमानाकाबाट नेपालमा सामान ल्याउन पाइने भएकोले पनि उपभोक्ताहरू भारतीय बजारतर्फ आकर्षित भएका हुन्। घरायसी प्रयोजनका लागि भनेपछि प्रहरी प्रशासनले पनि सहज रुपमा छोडिदिने गरेका छन् भने भन्सार नगरी सहजै सामानहरू नेपाल भित्रिँदा राजश्वमा समेत घाटा लागिरहेको छ। नेपाली उपभोक्ताहरू सस्तो पाइने आसमा भारतीय बजार पुगेर गुणस्तर, तौल र मूल्यमा समेत ठगिने गरेको जिमिरेभार व्यापार संघका अध्यक्ष चिरञ्जिवी सुवेदीले बताए। सुवेदीले कतिपय नेपाली सामानहरू भारतमा पुगेर भारतीय मूल्यमा किनेर ल्याउँदा समेत उपभोक्ताले आफू ठगिएको पत्तै नपाउने बताए। 

विशेष गरी भारतबाट नेपाल भित्रिने फलफूल तथा तरकारी सस्तो पाइने भएपछि नेपाली उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्न अफ्ठेरो परेको भन्दै उपभोक्ताले सस्तो भनेर खरिद गर्ने फलफूल तथा तरकारीमा विषादीको मात्रा बढी हुने भएकोले पनि उपभोक्ता आफैँ सचेत हुनु जरुरी रहेको सुवेदीको भनाइछ।

बर्दघाट बजारमा कपडा पसल गर्दै आइरहेका आशिष न्यौपाने दशैंको समयमा पनि अन्य समयमा भन्दा कम व्यापार भएपछि चिन्तित देखिन्छन्। न्यौपानेले दशैंलाई लक्षित गरी नियमित भन्दा तीनदेखि चार लाखको सामान पसलमा थप गरे तर व्यापार प्राय शून्य भएपछि साहूलाई कसरी तिर्ने भन्ने चिन्तामा उनी पिरोलिएका छन्। नेपाली उपभोक्ताहरू कपडा खरिदका लागि भारतीय बजार ठुठीबारी जान थालेपछि स्थानीय बजारमा उपभोक्ताको संख्या घटेको र व्यापार पनि नभएको बुझाई छ न्यौपानेको।

न्यौपाने मात्र होइन बर्दघाटमा किराना पसल संचालन गर्दै आइरहेका अर्का व्यापारी लक्ष्मण भण्डारीको पीडा पनि उस्तै छ। अहिले उपभोक्ताहरू चिनी, चियापत्ति, मरमसला  खरिद गर्न पनि भारतीय बजारमा जान थालेपछि आफूहरूको व्यापारमा कमी आएको बताउछन्। 

नेपालीलाई चिनी सस्तो भए पुग्छ अन्य सामानमा ठगिएको थाहै पाउदैनन् भारतीय व्यापारीले चिनी अत्यन्त सस्तो दिएर अन्य सामानमा रेट ठोकेर लिने गर्छन्। तर हामी नेपालीलाई पत्तै हुँदैन भण्डारीले भने। जानसक्ने भारतीय बजार जान्छन् नसक्नेहरूलाई साइकल र मोटरसाइकलमा सीमा क्षेत्रका झोले व्यापारीहरूले घरमै सामान पुराई दिन्छन् हामी त पसलमा माखा धपाउने बस्ने भण्डारीले गुनासो पोखे। 

राज्यले खुल्ला सिमानामा कडाई गर्न सके आफूहरूलाई सहज हुने भण्डारीको भनाई छ। अहिलेकै अवस्था रहि रहने हो भने आफूहरू व्यापारबाटै पलायन हुनुपर्ने अवस्था आउने बर्दघाटका व्यापारीहरूले बताएका छन्। उपभोक्ता भने आफूहरूलाई राम्रो नराम्रो थाहा नभएको तर भारतीय बजारमा सामान सस्तो पाइने विना रोकतोक ल्याउन पाइने भएकोले पनि आफूहरू भारतीय बजारमा जाने गरेका बताउने गर्दछन्। सामान किन्नका लागि भारतीय बजार पुगेका सुनवलका टंकनाथ आचार्यले चाडबाडको समयमा घरमा धेरै सामानहरू चाहिने भएको र ठुठीबारी बजारमा नेपाली बजारमा भन्दा सस्तो पाइने भएकोले आफु ठुठीबारी आएको बताए।

आचार्यले सामानको गुणस्तरको बारेमा आफूलाइई थाहा नभएको तर सस्तो र लैजान कुनै रोकतोक नहुँदा आफू सधै भारतीय बजारआउने गरेको बताए। पश्चिम नवलपरासीको बर्दघाट बजार मात्र होइन भुमही, सुनवल र परासी बजारमा समेत गत वर्षहरूको तुलनामा व्यापार कम भएको छ भने उपभोक्ताहरूको चहल पहल समेत कम भएको छ।

भारतको ठुठीबारी बजारमा नारायणगढदेखि नवलपुर सम्मका उपभोक्ता समेत किनमेलका लागि जाने गर्दछन्। यता व्यापार नभएर व्यापारीहरू चिन्तित बन्दै गर्दा करोडौ रकम किनमेलका नाममा भारतमा पुग्ने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.