|

कपिलवस्तु : कपिलवस्तुका एक सांसद बुद्ध भारतमा जन्मिएको विवादित कार्यक्रममा सहभागी भई आलोचित भइरहेको बेला फेरि कपिलवस्तुकै एक प्रदेश सांसदको उद्योगले राजस्व छली गर्ने गरेको खुलासा भएको छ। कपिलवस्तु क्षेत्र ३ ख बाट निर्वाचित कांग्रेस सांसद वीरेन्द्र कनौडियाको कृष्णनगर नगरपालिका ८ स्थित विजार्ड फेग्नेन्स उद्योगले राजस्व छली गरेको भेटिएको हो।

उद्योगबाट उत्पादित शुद्धप्लस गुटखामा अन्तःशुल्क  स्टिकर नलगाई धमाधम बजारमा बिक्री गरिरहेको भेटिएको हो। चन्द्रौटा बजारमा अन्तःशुल्क  स्टिकर नलगाइएका गुटखा बेच्दै गरेको अवस्थामा नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष दीपक खडकाले सोधखोज गर्दा विक्रेताहरूले गुटखाको बोरा छाडेर भागेका थिए। लगत्तै पत्रकार खड्काले वडा प्रहरी कार्यालय चन्द्रौटालाई खबर गरेको जानकारी दिए।

वडा प्रहरी कार्यालय चन्द्रौटाले अन्तःशुल्क स्टिकर नभएका २१९ पोका शुद्धप्लस गुटखा बरामद गरेको छ। करिब ३६ हजार मूल्य बराबरको उक्त गुटखाले राजस्व छली गरेको प्रष्ट भएको र यस बारे थप अनुसन्धानको लागि आन्तरिक राजस्व कार्यालय बुटवलमा पठाउने जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए। उक्त उद्योग कांग्रेस सांसद वीरेन्द्र कनौडियाको लगानीमा भाइ महेन्द्र कनौडियाको नाममा संचालित छ। पटक-पटक राजस्व छलिको आरोप तथा छापा मारिए पनि उद्योग प्रशासनलाई अहिलेसम्म कुनै कारवाही भने गरिएको छैन।

नेपालमै सबैभन्दा बढी बिक्री हुने शुद्धप्लस गुटखाले मासिक १४ करोड बढी राजस्व छली गर्ने गरेको उद्योगकै पूर्वकर्मचारीको दाबी छ। राजधानी तथा ठूला शहरबाहेक ग्रामीण भेग तथा पहाडी जिल्लामा बिक्री गरिने वस्तुमा अन्तःशुल्क स्टिकर प्रयोग नगरिने उनको भनाइ छ। जिल्ला प्रशासन, आन्तरिक राजस्व कार्यालयले दर्जनौ पटक छानबिन तथा छापा हान्दासमेत उद्योगलाई सामान्य जरिवानाबाहेक कुनै कारवाही नभएको उनी बताउँछन्। 'सांसदको उद्योग हो कस्ले चलाउछ र!' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.