|

महिला पत्रकारमाथि कार्यस्थलमा वर्षौं पहिले गरेको यौन उत्पीडनको आरोपमा भारतका एक मन्त्रीले राजीनामा दिएका छन्। भारतीय जनता पार्टी (भाजपा) नरेन्द्र मोदी नेतृत्वमा रहेको भारत सरकारका विदेश राज्यमन्त्री एमजे अकबरले बुधबार राजीनामा दिएका छन्। अकबरले आफूले अदालतबाट न्याय पाउने आशमा पदबाट राजीनामा दिएको बयान दिएका छन्।

एमजे अकबरले राजीनामा पत्रमा लेखेका छन्, ‘मैले व्यक्तिगत रूपमा अदालतबाट न्याय पाउने निर्णय गरेको छु। यसैले मलाई लाग्छ कि राजीनामा दिनुपर्छ। ममाथि लागेका तथ्यहीन आरोपको सामना निजी रूपमा नै गर्नुपर्छ न कि एक मन्त्रीको हैसियतमा। त्यसैले म भारतको विदेश राज्यमन्त्रीको पदबाट राजीनामा दिँदैछु। खुसी लागेको छ कि प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजले मलाई देशको सेवा गर्ने मौका दिए।’

भारतमा पुगेको ह्यासट्याग मी टू ( #MeToo ) अभियान चलेको छ। जसअन्तर्गत भारतका र विदेशका २० महिलाले एमजे अकबरले कार्यस्थलमा रहँदा यौन हिंसा गरेको आरोप लगाएका थिए। अकबरलाई महिला पत्रकारहरूले विभिन्न छलफल र कार्यक्रमका लागि होटलमा बोलाउने गरेको र त्यहाँ यौन हिंसा गर्ने गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा त्यसबेलाका घटनाबारे लेख लेखेका थिए।

पढ्नुस्ः

ती घटना सार्वजनिक भएपछि मोदी मन्त्रिपरिषद्की केन्द्रीय महिला एवं बाल कल्याणमन्त्री मेनका गान्धीले राजनेतामाथि लागेको आरोपको पनि छानबिन हुनुपर्ने बताएकी थिइन्। त्यसैगरी विपक्षी दल कांग्रेसले अकबरको राजीनामा र प्रधानमन्त्रीको जवाफ मागेको थियो। सामाजिक सञ्जालमा पनि अकबर मामिलामा मोदी सरकारले व्यापक विरोधको सामना गर्नुपरेको थियो। जबकी अकबरले आफ्नो मानहानी भएको भन्दै अदालतमा सुरुमा आफूमाथि आरोप लगाउने महिला प्रिया रमानीविरुद्ध मानहानीको मुद्दा हालेका थिए। उक्त मुद्दाबारे भोलि बिहीबार बहस हुँदै थियो। अकबर बारम्बार राजीनमा नदिने तथा अदालतमा लड्ने बताउँदै आएका थिए। मोदी सरकारमाथि महिला हिंसा र यौन हिंसालाई लिएर दबाब बढेपछि अन्ततः अकबरले पद गुमाउनु परेको हो। मंगलबार मात्र प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले अकबरलाई भेटेका थिए। त्यसअघि राजीनामा नदिने बताउँदै आएका र आफूमाथि आरोप लगाउने सबै महिला पत्रकारहरूलाई कानूनी कारबाहीको धम्की दिने अकबरले राजीनामाको बाटो रोजेका हुन्। 

एमजे अकबरको राजीनामा पत्रः

अकबरको राजीनामा प्रधानमन्त्री मोदीले स्वीकार गरेका छन्।

भारतमा #MeToo अभियानमा पद नै गुमाउने सबैभन्दा ठूलो ओहदाका व्यक्ति बनेका छन् राज्यमन्त्री अकबर। भारतका सबैभन्दा प्रभावशाली सम्पादक रहेका अकबरले द टेलीग्राफ़, द एशियन एज का लागि सम्पादक र इंडिया टुडे का लागि एडिटोरियल डायरेक्टर रहेका बेला विभिन्न महिला कर्मचारीमाथि यौन उत्पीडन गरेको घटना सार्वजनिक भएका थिए।

अकबरले यौन उत्पीडन गरेको भन्दै एकहप्ता अगाडि सुरुमा वरिष्ठ पत्रकार प्रिया रमानीले सार्वजनिक गरेकी थिइन्। उनले एक वर्ष पहिले वोग इन्डिया का लागि 'टू द हार्वे वाइंस्टींस ऑफ़ द वर्ल्ड' नामक लेख लेखेकी थिइन्। जसमा अकबरको नाम नलिइकनै सम्पादकले कार्यस्थलमा आफूलाई यौन उत्पीडन गरेको लेखेकी थिइन्। उक्त लेखलाई गतहप्ता  सामाजिक सञ्जालमा सेयर गर्दै उक्त यौन उत्पीडक अरू कोही नभएर विदेश राज्यमन्त्री एमजे अकबर भएको बताएकी थिइन्। त्यसपछि झन्डै दुई दर्जन विदेशी र स्वदेशी महिलाले एमजे अकबरले आफूमाथि कार्यस्थल र कामको बाहनामा यौन हिंसा गरेको भन्दै आफ्ना अनुभव सार्वजनिक गरेका थिए।

पछिल्लो समय भारतमा अकबरका साथै कलाकार आलोक नाथ र फिल्म निर्देशक विकास बहलमाथि पनि यौन उत्पीडन गरेको आरोप लागेको छ। त्यसैगरी, चर्चित गायक मिका सिंहलाई पनि यौन हिंसाको आरोप लागेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.