|

भक्तपुर : बडादशैंको आठौं दिन बुधबार बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाएका छन्। नेवारीमा कुछीको अर्थ दुई माना र भ्वयको अर्थ भोज हो। महाअष्टमीको दिन विशेषतः केराको पातमा भोज खाने चलन छ। नेवार समुदायमा कुछी भ्वयको विशेष महत्व रहेको छ।

कुछी भ्वय खान तरकारीका परिकार मात्रै १२ थरी चाहिन्छ। त्यसमा छोयला पनि १२ टुक्रा राखिन्छ। केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ।

नेवार समुदायको कुनै घरमा मृत्यु भएर जुठो परे पनि कुछी भ्वय् खानु पर्ने मान्यता रहेको छ। जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन छ।

दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरीको भनाई रहेको छ भने अर्का थरी संस्कृतिकर्मीहरुले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय हुन गएको र पछि अप्रभंस भएर कुछी भ्वय हुन गएको भनाइ छ।

म्हाअष्टमीको दिन नै नेवार समुदायले घरघरमा दशैंको मासु भित्र्याएका छन्। नेवार समुदायमा टोल छिमेक मिलेर संयुक्त रुपमा राँगा काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार दशैंको मासु भित्र्याएका हुन्। मासु भित्र्याउँदा घरको मुलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.