|

साउदी पत्रकार जमाल खशोग्गीका सम्बन्धमा थप प्रमाण जुटाउन भन्दै टर्कीका अनुसन्धानकर्ताहरूले  इस्तानबुलस्थित साउदी महावाणिज्यदूतको कार्यालयमा छापा मारेका छन्। साउदी महावाणिज्यदूत मोहम्मद अल ओताइबी भने टर्कीबाट साउदी अरेबिया फर्किसकेका छन्।

बेपत्ता पत्रकार खशोग्गीका विषयमा अमेरिकाको चासो पनि निकै बढेको देखिएको छ। १५ दिन अघिदेखि बेपत्ता साउदी पत्रकार खशोग्गीको हत्या भएको हुन सक्ने आशंका गर्दै त्यसबारे थप प्रमाण जुटाउन टर्कीका अनुसन्धानकर्ताहरू इस्तानबुलस्थित साउदी महावाणिज्यदूतको निवास प्रवेश गरेको बताइएको छ।

खशोग्गीको विषयमा टर्कीको भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रपति रिजेप तायिप एर्दोआनसँग छलफल गरेका छन्। टर्कीको विदेश मन्त्रालयले दुई पक्षबीचको भेट लाभदायी एवं फलदायी भएको बताएको छ।

टर्कीको सरकार पक्षीय एक समाचारपत्रले खशोग्गीलाई विभिन्न यातना दिइएको र त्यसबारेका अभिलेख आफूसँग भएको दाबी गरेको छ। टर्कीका सुरक्षा फौजहरूले खशोग्गीको हत्या भएको र त्यसको पुष्टी गर्ने श्रव्य प्रमाणहरू आफूसँग रहेको बताउँदै आएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.