|

सुनसरी : दशैंमा हुनसक्ने यात्रुको चापलाई मध्यनजर गर्दै पूर्वमा सार्वजनिक सवारी साधन थपिएका छन्। पूर्वको विभिन्न रूटमा सञ्चालन हुँदै आएका सवारीहरू दशैंको बेला थपिएका हुन्।

दशैं अघि धरानबाट पहाडी रूटका लागि छुट्ने सवारीको संख्या ४० को हाराहारीमा थियो। अहिले ६५ वटा पुर्‍याइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद सुबेदीले जानकारी दिए। टीकाका दिनदेखि बढी चहलपहल हुने भन्दै आवश्यकता परेको खण्डमा थप गाडी आकस्मिक रूपमा थप्ने तयारी भएको सुवेदीले जानकारी दिए। यसपटक हुटमा र ओभरफ्लो मान्छे राख्न प्रतिबन्ध लगाइएको छ। त्यसले गर्दा पनि सवारी थप्नुपर्ने अवस्था सिर्जना भएको यातायात व्यवसायीको भनाइ छ।

पहाडी जिल्लाको साथै तराईका जिल्लामा पनि सवारीहरू थपिएको छ। धरानबाट काँकडभिट्टा र विराटनगरका लागि करिव ६५० को हाराहारीमा सवारीहरू सञ्चालन हुने गरेका थिए। ‘त्यो नियमित नै हो।' योभन्दा बढी चाहिने अवस्थामा थपिने पूर्वाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश १ संयोजक सरोज श्रेष्ठले जानकारी दिए।

अन्य बेला सामान्यतः ३०/३२ वडा गाडीहरूले धरान-काँकडभिट्टा-विराटनगर ओहोर दोहोर गर्थे भने त्यही गाडी अब केही बढी ओहोर दोहोर गर्ने उनले बताए।  दशैंमा यात्रुको ओहोर दोहोर बढी हुने भएकाले पनि यो बेला यातायात व्यवसायीले सवारी थप्ने गरेका छन्।

हरेक वर्ष चाडवाडलाई लक्षित गर्दै सवारी थपिने गरेको अर्का यातायात व्यावसायी एवं कोशी पहाडी उत्तरखण्ड यातायात सञ्चालन समितिका संयोजक नन्द लम्सालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.