|

काठमाडौं : दशैँ, तिहार जस्ता पर्वमा नयाँ नोटको खपत धेरै हुन्छ। नेपालीहरूको महान पर्वमा नयाँ नोट साट्न बैंकमा जाने सर्वसाधरणको पनि घुइँचो लाग्छ। राष्ट्र बैंकले यस वर्षको दशैँमा मात्र ११ अर्ब ७९ करोड रुपैयाँ नयाँ नोट सहटी गरेको छ। यसमा धेरै खुत्रा पैसा सटही भएको राष्ट्र बैंकले जनाएको छ। दक्षिणा स्वरूप यो खुत्रा पैसा परम्पराअनुसार दशैँमा आफूभन्दा ठूलाले सानालाई टीका लगाएर दिने गर्छन्।

यस्तै, तिहारमा देउसीभैलोमा आउनेलाई दिने गर्छन्। यसो गर्दा टीका लगाउँदा अवीर लाग्ने, पूजा गर्दा नोट फोहोर हुने गर्छ। यसरी नयाँ नोट फोहोर गर्नुलाई राष्ट्र बैँकले भने अपराध मान्छ। नोट फोहोर गर्नेलाई मुलुकी अपराध संहिताअनुसार कारवाही पनि हुने गर्छ।

राष्ट्र बैँकले प्रत्येक वर्ष नयाँ नोटको प्रयोग गर्दा ध्यान दिन आग्रह पनि गर्दै आएको छ। राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले नयाँ नोटको प्रयोग गर्दा केरमेट नगर्न, पानीले नभिजाउन, कच्याककुचुक नपार्न आग्रह गरेका छन्।

पैसालाई के गर्न पाइँदैन?

तपाईं दशैँमा आफन्तलाई दक्षिणा दिँदै हुनुहुन्छ? कि मन्दिरमा पैसा चडाउँदै हुनुहुन्छ? सर्तक हुनुहोला। विचार पुर्‍याउनुभएन भने कारवाहीमा पर्नुहोला। नेपालीहरूको परम्पराअनुसार दशैँमा आफूभन्दा ठूला आफन्तले सानालाई टीका लगाइदिएर दक्षिणा दिने चलन छ। यो क्रम शुक्रबारबाट सुरु हुँदैछ। शुक्रबारबाट टीका सुरु भएसँगै यो क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ। यो समयमा अवीर धेरै प्रयोग हुने हुँदा सर्तक रहने राष्ट्र बैँकको आग्रह छ।

दक्षिण दिँदा वा लिँदा सुकिला हातको मात्रै प्रयोग गर्ने, पूजाआजा गर्दा वा जल चढाउदा नोट नभिजाइकन चढाउन मुद्रा व्यवस्थापन विभागका प्रमुख निरौलाले आग्रह गरे। यस्तै, नोटको आकार बिग्रने गरी कोर्ने काम गरेमा प्रष्ट कसुर हुने उनले बताए। 'पैसालाई केरमेट गरेर फोहोर गर्नु अपराध हो’, उनले भने, ‘नयाँ नोटको खुम्चयाएको उजुरी आयो भने कारवाही हुन्छ।’

नयाँ नोटलाई यसरी सुरक्षित गर्न सकिन्छ?

सफा तरिकाले राखे जे वस्तुको पनि आयु बढ्छ। पैसालाई पनि सफा राखे आयु बढ्ने निरौला बताउँछन्। ‘पैसाको बढी कारोबार गर्दा हिफाजत गर्नुपर्छ’, उनले भने, ‘पैसाका आकार बिगारेमा यसको आयु पनि घट्छ।’

दक्षिणा दिँदा वा लिँदा खामको प्रयोग गर्न उनी सुझाव दिन्छन्। ‘दक्षिणा दिँदा खामको प्रयोग गर्दा राम्रो’, उनले भने, ‘नभए हातलाई सफा बनाएर चिसो छ भने पुछेर मात्र पैसा छुने काम गर्नुपर्छ।’

यस्तै, मासु पसल, मोटरसाइकल ग्यारेज सञ्चालकले पनि पैसा प्रयोग गर्दा विषेश ध्यान दिनुपर्ने बताए। ‘पैसाको प्रयोग गर्दा ग्यारेजमा काम गर्ने, मासु पसलमा काम गर्ने साथीहरूले हातलाई सफा गरेर मात्र गर्नुपर्छ’, उनले भने, ‘पैसा राख्दा त्यसको साइज नबिग्रने गरी ठूलो झोला वा बाकसमा राख्नुपर्छ।’

के कारवाही हुन्छ?

मुलुकी अपराध संहितको परिच्छेद २२ मा भएको मुद्रासम्बन्धी व्यवस्थामा नोटको रूप बिगार्ने गरी केही गरेमा अपराध हुने उल्लेख गरेको छ। उक्त परिच्छेदको दफा २६३ मा नोट, सिक्का जलाउन, गाड्न च्यात्न नपाउने उल्लेख छ।

यस्तै, नोटमा कोर्न लेख्न पनि पाइने छैन। बिगारेमा वा कोरेमा त्यो अपराध हुने निरौलाले थाहाखबरलाई जानकारी दिए। यदि नोटलाई फोहोर बनाए वा स्वरूप बिगार्ने काम गरे तीन महिना कैद वा पाँच हजार जरिवाना हुन सक्ने उल्लेख रहेको निरौलाले बताए। ‘यो संहिताका कारण सभ्य समाज निर्माण गर्न मद्दत गर्छ’, उनले भने 'यसरी नोटको हिफाजत गरे पैसाको आयु पनि बढ्छ।’

कसरी उजुरी गर्ने?

यदि अपराध गरेकै भए अपराधीसम्म पुग्नलाई प्रहरीका लागि उजुरी नै आवश्यक पर्छ। नोटको स्वरूप बिगारेमा सर्वप्रथम उजुरी गर्नै पर्ने मुद्रा व्यवस्थापन विभागका प्रमुख निरौलाले जानकारी दिए। ‘नोटको स्वरूप बिगारेको पाइएमा जो कोहीले पनि नजिकैको प्रहरी कार्यालयमा उजुरी गर्न सक्नुहुनेछ’, उनले भने।

तर उजुरीका लागि प्रमाण आवश्यक रहेको उनी बताउँछन्। ‘प्रमाणविनाको उजुरीले केही गर्न सकिँदैन’, उनले भने, ‘प्रहरीसमक्ष प्रमाणसहित उजुरी गरेमा संहिताअनुसार कारवाही हुन्छ। भनेको भरमा मात्रचाहिँ केही हुँदैन। अहिले त प्रमाण जुटाउन पनि सजिलो छ। टीका लगाएर फोटो खिच्न सकिन्छ। सिसिटिभी हुन्छ। त्यो लिएर गए प्रहरीले उजुरी लिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.