नागरिकतासँगै राहदानी लिनेको संख्या बढ्यो

|
प्रतीकात्मक फोटो

सिन्धुपाल्चोक : जिल्ला अदालत सिन्धुपाल्चोकको अभिलेख अनुसार ७५ वर्षअघि अर्थात् विस २००० फागुन १७ गते पहिलो पटक महिलाविरुद्ध मुद्दा परेको थियो। जिल्ला अदालतको मिसिलअनुसार सिंहबहादुरले कुसुमकुमारीविरुद्ध जाहेरी दिएका थिए। महिलालाई महिलाले नै बेचेको यस मुद्दाको फैसला विस २००१ भदौ ८ गते भयो।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पक्राउ पर्न बाँकी पछिल्लो मुद्दामा पनि महिला नै प्रतिवादी छिन्। २०७१ सालमा दर्ता भएको सो मुद्दामा प्रतिवादी रहेकी पांग्रेटारकी एक महिला अझै फरार छिन्। ७५ वर्षयता मानव बेचबिखन गरेको आरोपमा जिल्लामा दर्ता भएका झ्ण्डै १०२ मुद्दामध्ये आधाजसोमा महिला प्रतिवादी छन्।

अदालतको तथ्यांकअनुसार विस २०२५ चैत २६ गते दर्ता भएको मुद्दामा प्रमिला लामा प्रतिवादी रहेको उल्लेख छ। यो मुद्दा जिल्लामा उजुरी परेको मानव बेचबिखन अन्तर्गतको तेस्रो हो। त्यस्तै, विस २०२९ असोज ५ गते कान्छी तामाङविरुद्ध मुद्दा दर्ता भएको छ। जुन अदालतमा दर्ता भएकोमध्ये पाँचौं मुद्दा हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विमलराज कँणेलले महिलाले महिलाकै कुरामा बढी विश्वास गर्ने भएकाले यो अवस्था आएको बताउँछन्। विकट गाउँका अधिकांश महिला निरक्षर भएकै कारण पनि बेचबिखनमा परेको देखिन्छ। केही साक्षर र सहरमा बस्ने गरेका महिलाप्रति उनीहरूको विश्वास र अपेक्षा बढी हुन्छ। ‘सानो लालचमा पनि सहजै विश्वास गरेर सहरमा बस्ने महिलासँगै जाने हुँदा गाउँका महिलाहरू बेचबिखनमा परेका छन्’ उपरीक्षक कणेलले भने।

मानव बेचबिखनको अभियोगमा विभिन्न अदालतबाट सजाय सुनाइएका मध्ये जिल्लाका ४५ भन्दा बढी अभियुक्त अझै पक्राउ पर्न सकेका छैनन्। तीमध्ये पनि १५ जना जति महिला छन्। पुरुषको तुलनामा फरार महिला अभियुक्तलाई पक्राउ गर्न कठिन हुने प्रहरीको भनाइ छ। सिन्धुपाल्चोकमा पछिल्लो १० वर्षमा बेचबिखनको मुद्दा कम परेको छ।

आर्थिक वर्ष ०६४/०६५ देखि चालू आव ०७४/०७५ सम्म १० वर्षको अवधीमा बेचबिखनका ३१ मुद्दा दर्ता भएका छन्। तीमध्ये २७ मुद्दाको फैसला भइसकेको छ भने चार मुद्दा फैसला हुन बाँकी छ। पछिल्लो समय भारतको कोठीमा लगेर बेचबिखन गरेका मुद्दा कम परे पनि कामको खोजीमा रहेका विपन्न महिलालाई विदेश–मोह देखाएर इराकलगायतका खाडी मुलुकमा बेच्ने गरेका उदाहरण बढी छन्।

नागरिकतासँगै राहदानी

जिल्ला प्रशासन कार्यालमा नागरिकतासँगै राहदानी बनाउनेको संख्या ज्यादा हुने गरेको छ। राहदानी बनाउने युवाको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ।

आर्थिक वर्ष २०६९/२०७० देखि ०७४/०७५ सम्म ६ वर्षको अवधीमा राहदानी बनाउने युवाको संख्या ७७ हजार १३७ रहेको छ। जसमध्ये जिल्लाबाट सिफारिस लिई एक सातामा काठमाडौंबाट राहदानी लिनेको संख्या ३८ हजार ८५७ रहेको कार्यालयका प्रशासकीय अधिकृत भीम बस्नेत बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.