|

कञ्चनपुर : थारू युवतीहरूले सामूहिक रूपमा प्रस्तुत गर्ने सखिया नृत्यले कञ्चनपुरका थारू बस्तीमा अहिले रौनकता थपेको छ। रंगीविरंगी कपडामा सजिएका थारू युवतीहरूको आकर्षक मुन्द्रामा पेस हुने नृत्य हेर्नुको मज्जानै बेग्लै किसिमको रहेको छ।

साँझ नपर्दै नाचिने सखिया नृत्य हेर्नेहरूको थारू गाउँमा घुइँचो लाग्न थालेको छ। सखिया नृत्य दशैँमा मात्रै नाचिने भएकाले थारू समुदायमा यस नृत्यको विशेष महत्व रहेको छ। थारू युवतीहरूले महाअष्टी अर्थात् गएराति भरी थारू गाउँका भलमन्साको घरमा जम्मा भई नृत्य देखाएका छन्। हेर्नेहरूले समेत नृत्य मज्जाले आनन्द मान्दै हेरेका छन्।

गएरातभर थारू युवतीहरूले नृत्य देखाएकाले आज दिउँसो भने विश्राम लिने छन्। साँझ पख एक छिन नृत्य देखाउने र फेरि आराम गर्ने कृष्णपुरका वीरबहादुर राजवंशीले भने, ‘टीकाको दिनभर वडघर र गुरुवाको घरमा पहुरा(कोशेली) साथ पुगेर नृत्य पेस गर्छौँ।’

थारू बाहुल्यता रहेका यहाँका पिपलाडी, जोनापुर, देखतभूली, लक्ष्मीपुर, कृष्णपुरलगायतका क्षेत्रमा सखिया नृत्यको रौनकता छ। थारू गाउँका भलादमी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजना गर्नका लागि छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाजोपाँजो मिलाउने गरिन्छ।

गुरुवा(झाँक्री)ले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवक युवतीहरूलाई दुष्टात्माको भवितव्यबाट बचाउनका लागि पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन रहेको पिपलाडी गाउँका बडघर नरेन्द्र चौधरीले बताए। 

सखिया नृत्यमा भगवान कृष्णको जन्मलिलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ। नृत्यमा चारजना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ। नृत्यको बीचबीचमा गीतलाई फरकफरक भाका हालेर गाउने गरिन्छ। मादल बजाउने कार्यको अगुवाई गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ। अगुवा मदारीको तालमा ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिएको बडघर चौधरीले बताए।

नृत्यमा गीत गाउने महिलाहरूको अगुवाई गर्ने लाई 'मोह्रिन्या' भन्ने गरिन्छ।  मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीहरूलाई जेठ गोहीया र पछगोहीया भन्ने गरिन्छ।

नृत्यमा मादलको तालसँगै विभिन्न मुन्द्रामा युवतीहरूले सामूहिक रूपमा नृत्य पस्कने गर्दछन्। जसलाई थारू भाषामा खोट (पैंया) भन्ने गरिएको थारू समाजसेवी चेतराम चौधरीले बताए। पैंया २२ प्रकारको हुने गरेको भए पनि हाल मदारीहरूले आफैँ सृजना गरेर पैंयाको तरिकामा परिवर्तन ल्याएकाले यो बढी पनि हुने गरेको उनले बताए।

यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरूले खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुन्द्रामा पेस गर्नु पर्ने हुन्छ। यस पौराणीक मनमोहित गर्ने नृत्यलाई हेर्नेहरूको समेत थारू गाँउहरूमा निकै भीड लाग्ने गरेको छ। सप्तमीको दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने यो नृत्य अष्टमीको रातभर आयोजना गरिन्छ। अष्टमीको रातभर आयोजना गरिने नृत्यलाई भेडुवा जगैना भन्ने गरिएको उल्लेख गर्दै परदेशी चौधरीले भने ‘यस दिन थारू समुदायले कुभिण्डोको भेडा बनाई बलि दिने परम्परागत चलनसमेत रहेको छ।’

पञ्चमीको दिनअघि सादा पोशाकमा यस नृत्यलाई पस्किन भए पनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीहरूले सेतो धोती र कमिज लगाउने गर्दछन भने नृत्य गर्ने युवतीहरूले रंगिविरंगी ऐना जडान गरेका लेहंगा, चोल्या, अंगिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन्। हातमा मैजरी लिएर मादलको तालसँगै महिलाहरूले बजाउनेसमेत गर्दछन्। अष्टमीको दिनपछि रातिमा नाचिदै आएको सखिया नृत्यलाई दिउँसो नाच्ने गरिन्छ।

दशैँपछि गाउँमा नृत्यमा सहभागि सबैजनालाई सहभागी गराई भोज खाने चलन रहेको फूलराम चौधरीले बताए। जसलाई थारू भाषमा ख्यारा खाने चलन भन्ने गरिएको उनले बताए।

धार्मिक मान्यताअनुरूप यो नृत्यको आयोजना गरेमा गाउँमा अन्नबाली बढी फल्ने, रोगव्याधी हटने र वर्षभरका लागि अन्न खान पुग्ने विश्वास थारू समुदायमा रहेको छ। यसलाई अर्को शब्दमा थारू समुदायले ‘धर्ती जाग्ना’ भन्ने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.