|

काठमाडौं : दशैँ पर्वले सबैलाई छपक्कै छोपिसकेको छ। घरबाहिर रहेकाहरू पनि सबै घर फर्किसकेका छन्। घर पुग्न बाँकी रहेका आफन्तहरू पनि यतिबेला भोलिसम्म घर पुग्न यात्रामै होलान्। दशैँको टीका नजिकिँदै गर्दा संघीय सरकारका मन्त्रीहरूले दशैँ कसरी मनाइरहेका छन् भनेर हामीले खोजेका छौँ।

उपेन्द्र यादव, उपप्रधान तथा मन्त्री-स्वास्थ्य तथा जनसंख्या

उपप्रधानमन्त्री यादवले दशैँ सामान्य तरिकाले मनाइरहेका छन्। दशैँको बेला मन्त्रालय र अन्य सार्वजनिक कार्यक्रममा पनि जानु नपर्ने भएकाले उनी काठमाडौंस्थित निवासमा बसेर सामान्य तरिकाले दशैँ मनाइरहेको मन्त्री यादवका प्रेस संयोजक महेश चौराशियाले जानकारी दिए।

तराई मूलघर भएका यादवको अरूको जस्तो घरमा जमरा राख्ने, टिका लगाउने चलन छैन। तर दुर्गा भगवानको आराधाना गर्ने, बिदाको बेला आफूलाई पढ्न मन लागेका पुस्तकहरू पढेर नै दशैँको बिदाको समयको सदुपयोग गरिरहेका छन्।

प्रदीपकुमार ज्ञवाली, मन्त्री-परराष्ट्र

दशैँको सन्दर्भमा पारिवारिक भ्रमणमा रारा गएका मन्त्री ज्ञवाली मंगलवार काठमाडौं फर्किएका छन्। दशैँका बाँकी भेटघाट यसबीचमा काठमाडौंमै गर्ने मन्त्री ज्ञवालीको योजना रहेको छ।

दशैँको टिका भने काठमाडौंमै परिवारका सदस्य तथा भेटघाट गर्न आएका कार्यकर्ताहरूलाई टीका लगाउने कार्यक्रम रहेको मन्त्री ज्ञवालीका स्वकीय सचिव खेमराज ज्ञवालीले जानकारी दिए। 'हामी पारिवारिक भ्रमण गरेर मंगलवार राराबाट फर्कियौं। दशैँको टिका काठमाडौंमै लगाउछौ', ज्ञवालीले भने 'उहाँले परिवारका सदस्यहरूलाई टीका लगाइदिनुहुन्छ। टिकाको भोलिपल्ट गुल्मी जान्छौँ।'

गुल्मी १ बाट निर्वाचित मन्त्री ज्ञवाली आफ्नो निर्वाचन क्षेत्रमा दशैँ तथा तिहारका सन्दर्भमा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुन कात्तिक ३ गते निर्वाचन क्षेत्र गुल्मी जाने कार्यक्रम रहेको छ।

वर्षमान पुन, मन्त्री-ऊर्जा, जलस्रोत तथा सिँचाइ

वर्षमान पुनको दशैँ चीनमा हुने भएको छ। उनी मन्त्रालयको कामले चीन गएका हुन्। उनी असोज २८ गते एक प्रतिनिधिमण्डलसहित चीन भ्रमणमा गएका हुन्। उनी कार्तिक ५ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।

बेल्ट एन्ड रोड ऊर्जा सहकार्यको कार्यक्रममा सहभागी हुन मन्त्री पुन चीन गएका हुन्। चीनमा उनले दुईपक्षीय वार्ता गर्ने र विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ। उनकी श्रीमती एवं पूर्वसभामुख ओनसरी घर्ती मगर भने दाजु शोकमा छिन्।

गिरिराजमणि पोखरेल, मन्त्री-शिक्षा, विज्ञान तथा प्रविधि

शिक्षा मन्त्री पोखरेल फूलपातीको दिन नै आफूले स्थापना गरेको बर्दिवासस्थित सामूहिक बसोबास आधारशिलामा पुगेका छन्। मन्त्री पोखरेलले माछा, मासु खाँदैनन् भने दशैँका दिन टीका पनि लगाउँदैनन्।

फूलपातीदेखि नै आफ्नो आधारशिलामा सामूहिक योग शिविर सत्र्चालन गर्दै आएका मन्त्री पोखरेलले सांस्कृत पर्वको बारेमा प्रवचन गर्दै आएका छन्। उनले दशैँको अवसरमा राखेको योग शिविरमा नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत पुगेका छन्।

गोकर्ण विष्ट, मन्त्री-श्रम, रोजगार तथा सामाजिक सुरक्षा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको यसवर्ष दशैँ छैन। घरमा काकाको निधन भएका कारण दशैँ कार्यक्रम नरहेको मन्त्री विष्टले बताए। 'यसवर्ष मेरो दशैँ छैन। काका बित्नुभएकाले काकाको शोकमा छौँ', मन्त्री विष्टले भने, 'दशैँ भोलिसम्म हो। पर्सी त काममा फर्किहाल्छौ नि।'

शक्तिबहादुर बस्नेत, मन्त्री-वन तथा वातावरण

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत यसपालिको दशैँ काठमाडौंमै मनाउँदै छन्। बुधबार मात्रै लण्डन र इथियोपियामा भएको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा सहभागी भएर फर्किएका मन्त्री बस्नेतले काठमाडौंमै दशैँ मनाउने तयारीमा रहेको मन्त्री बस्नेतका स्वकीय सचिव मुक्ति बस्नेतले जानकारी दिए।

मन्त्री बस्नेतले आफ्ना ८७ वर्षीय बुबा र ८१ वर्षिय आमाको हातबाट टीका ग्रहण गर्नेछन्। अभिभावकबाट टीका ग्रहण गरेपछि आफ्ना बाँकी परिवारसँग मन्त्री बस्नेतले टीका लगाएर रमाइलो गर्ने कार्यक्रम रहेको उनका स्वकीय मुक्तिले जानकारी दिए। यसका साथै बाँकी कार्यकर्ता भेटघाट तथा कार्यकर्तासँग दशैँ मनाउने कार्यक्रम हुने बताइएको छ।

लालबाबु पण्डित, मन्त्री-संघीय मामिला तथा सामान्य प्रशासन

संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पनि यसपालि काठमाडौंमै दशैँको टीका लगाउने कार्यक्रम रहेको छ। पुल्चोकस्थित मन्त्री क्वाटरमा श्रीमान् श्रीमती बीचमा मन्त्री पण्डित टीका लगाउनेछन्। भने आफ्नो परिवारका अन्य सदस्यलाई टीका लगाइदिने कार्यक्रम छ। सँगै आफूलाई भेट्न आउने शुभचिन्तक तथा कार्यकर्ता सबैलाई मन्त्री पण्डितले टीका लगाइदिने कार्यक्रम रहेको बताइएको छ।

थममाया थापा मगर, मन्त्री-महिला, बालबालिका तथा ज्‍येष्ठ नागरिक

दशैँ टीकाकै दिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगर जेनेभा जाँदै छिन्। महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड)मा को १७ औं सत्र स्विट्जरल्याण्डमा हुँदै छ। उक्त सत्रमा नेपालको छैठौँ आवधिक प्रतिवेदन प्रस्तुत हुनेछ। उक्त सभामा नेपालको तर्फबाट सरकारको प्रतिवेदन प्रस्तुत गर्न मन्त्री थापा दशैँ टीकाकै दिन जेनेभा जाने कार्यक्रम रहेको मन्त्री थापाले बताइन्।

बाँकी दशैँका कार्यक्रमहरू नेपाली परम्पराअनुसार नै दशैँ मान्ने मन्त्री थापाको कार्यक्रम रहेको छ। मन्त्री थापाले भनिन, 'घरतिर जान भ्याउँदिन। म दशैँकै दिन जाने भएकोले यसपालि मेरो काठमाडौंमै दशैँ मान्ने कार्यक्रम रहेको छ।'

जगतबहादुर विश्वकर्मा, मन्त्री-युवा तथा खेलकुद

नेपालीहरूले मान्ने सबै चाडपर्वहरूप्रति समान आस्था र सम्मान राख्ने युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा बाल्यकालमा गाउँघरमा खुला चौरमा पिङ खेलेको सम्झन्छन्। मन्त्री विश्वकर्माको पालासम्म दशैँ मान्न गाउँमा निकै गाह्रो थियो गाउँघरमा। वरपर छरछिमेकमा दशैँको मार काटिसक्दासम्म पनि कतिपयको घरमा आर्थिक अवस्था कमजोर हुँदा शून्यता नजिकबाट उनले देखेका छन्। ती दृष्यले दशैँप्रति वितृष्णा नै जगायो। त्यसकारण दशैँ भन्नेबित्तिकै उनी उत्साहित हुँदैनन्। 'दशैँ हुनेका लागि पो छ नहुनेका लागि त के को दशैँ', मन्त्री विश्वकर्मा भन्छन्, 'दशैँको सन्दर्भमा यसलाई भड्किलो गर्नु हुँदैन र सामान्यीकृत गरेर जानुपर्छ भन्ने लाग्छ।'

यसवर्ष उनी दशैँको टीका लगाउन गृहजिल्ला कास्की जाँदै छन्। नवमीको दिन मन्त्री विश्वकर्मा पोखरा गएर १/२ दिन घरमा बिताउने कार्यक्रम छ। 'मेरो ८३ वर्षको बुबा हुनुहन्छ। टोलछिमेकमा ने उहाँ सबैभन्दा उमेरले पाको हुनुहुन्छ। त्यसकारण दशैँमा बुवाको हातबाट टीका लगाउनका लागि म घरमा पुग्नुपर्छ', उनले भने।

रविन्द्र अधिकारी, मन्त्री-संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन

दशैँका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री रवीन्द्र अधिकारी बुधबार गृहजिल्ला कास्की पुगिसकेका छन्। पोखरा-५ मालेपाटनस्थित आफ्नै निवासमा मन्त्री अधिकारीले टीका लगाउँदै छन्।

पोखरा-३३ भरतपोखरीस्थित पुरानो गाउँमा आफ्नो ठुलोबुबा, काका, दाजुभाइसँग टीका ग्रहण गर्ने कार्यक्रम रहेको मन्त्री अधिकारीका स्वकीय सचिव अर्जुन अधिकारीले जानकारी दिए। पोखराका विभिन्न स्थानमा आयोजना गरिएका शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुँदै आएका मन्त्री अधिकारी दशैँको भोलिपल्ट काठमाडौं फर्कने कार्यक्रम छ।

चक्रपाणी खनाल, मन्त्री-कृषि तथा पशुपक्षी विकास

कृषि तथा पशुपक्षी विकास मन्त्री खनाल यसपालिको दशैँ काठमाडौंमै बनाउँदै छन्। मन्त्रीले आफ्नी ८३ वर्षीय आमासँग टीका ग्रहण गर्नेछन्। यसका साथै कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान गर्ने मन्त्री खनालको कार्यक्रम छ। दशैँलगत्तै मन्त्रालयको कार्यक्रममा पूर्व जाने कार्ययोजना रहेको मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए। 'दशैँलगत्तै मन्त्रालय मातहतको कार्यक्रममा पूर्व जाने। कार्यक्रम छ। उहाँले त्यहाँ पूर्वको कृषिबजार अनुगमन गर्नुहुनेछ', गिरीले बताए।

गोकुल बास्कोटा, मन्त्री-सञ्चार तथा सूचना प्रविधि

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा बिहीबार मात्रै जर्मनी भ्रमणबाट फर्किएका छन्। दशैँको टीका आइसकेकाले टीकाको दिन बिहानै उनी काभ्रेस्थित निवासमा जाने कार्यक्रम छ। त्यहाँ उनले झण्डै १०० वर्षको बुबा / काकाहरूसँग टीका ग्रहण गर्नेछन्। त्यसपछि राष्ट्रपति र प्रधानमन्त्रीसँग टीका लगाउने बताए। 'घरमा बुवाहरूसँग टीका लगाउँछु। त्यसपछि राष्ट्रपति, प्रधानमन्त्रीकहाँ टिका लगाउन जान्छु', मन्त्री बास्कोटाले भने, 'भोली एक दिन हो दशैँ। पर्सिबाट काममा फर्कन्छु।' यसका साथै बाँकी कार्यकर्ताहरूसँग भेटघाट गर्ने र शुभकामना आदानप्रदान भने जारी रहने मन्त्री बास्कोटाले बताए।

पद्माकुमारी अर्याल, मन्त्री-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

मन्त्री अर्याल गृहजिल्ला स्याङ्जाका विभिन्न कार्यक्रम सकेर काठमाडौं फर्किएकी छिन्। दशैँका सन्दर्भमा जिल्लाका सबै पालिकामा जाने योजनाअन्तर्गत मन्त्री अर्याल असोज २६ गते स्याङ्जा गएकी थिइन्।

सबैले दशैँ मनाइरहँदा मन्त्री अर्यालकी ८७ वर्षीय आमाको भने वीर अस्पतालको आइसियुमा उपचार भइरहेको छ। निमोनिया, छातीको इन्फेक्सनका कारण गएको चैतदेखि बिरामी रहेकी मन्त्री अर्यालकी आमाको बीचमा केही ठीक भएको भए पनि अहिले पुनः समस्या बल्झिएर १० दिनदेखि भर्नामा रहेको मन्त्रीका स्वकीय सचिव राजेश शर्माले जानकारी दिए।

आमा बिरामी भएका कारण आमाको स्थितिमा सुधार आएमा स्याङ्जा लैजाने योजना भए पनि अवस्था उस्तै भएपछि मन्त्री अर्याल काठमाडौं आइसकेको शर्माले जानकारी दिए। 'आमाको अवस्था सुधार भएमा डिस्चार्ज गरेर स्याङ्जा लैजाने भन्ने थियो। तर, स्थिति सुधार नभएपछि मन्त्रीज्यू काठमाडौं आउनुभएको छ', शर्माले भने 'अब टीका भने काठमाडौंमै लगाउने भन्ने सल्लाह भएको छ। अस्पतालमै आएर मन्त्रीज्यू आमासँगै हुनुहुन्छ।'

बिना मगर, मन्त्री-खानेपानी

खानेपानी मन्त्री बिना मगर पतिको शोकमा छिन्। उनका श्रीमान प्रकाश दाहालको निधन भएको एक वर्ष पूरा भएको छैन। त्यसकारण उनको परिवारले यसवर्ष दशैँ मनाउने कुनै कार्यक्रम छैन। तर, दशैँका सन्दर्भमा घरपरिवारसँग बस्ने, कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम भने रहेको मन्त्री मगरको सचिवालयले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.