|

लहान : सप्तरीको कोशी नदीमा नहाउने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ। दशैं मनाउन मामाघर आएका बेला सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ स्थित कोशी नदीमा नुहाउने क्रममा १५ वर्षीय अविनाश यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सुनसरीको भोक्राहा गाउँपालिका ३ स्थायी घर रहेका जयानन्द यादवका छोरा अविनाश  हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवास्थित मामाघर आएका बेला नुहाउन गएका थिए। मामाका छोरा र सानीआमाका छोरासँगै बिहीबार मध्यान्ह गाउँनजिकै रहेको कोशी नदीमा नुहाउन गएका बेला भंगालोमा परेर उनको मृत्यु भएको हो। 

इलाका प्रहरी कार्यालय हनुमाननगरका अनुसार भंगालोमा परेर गम्भीर घाइते भएपछि तत्काल उद्धार गरी उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको हो। दशैंको रमझममा किशोरको मृत्यु भएपछि मावली घरका माइजु पिङकु यादव, हजुरआमा धनेश्वरीदेवी र हरिहरदेवी बेहोस् भएका छन्। उनीहरूको अचेत अवस्थामा राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ब्यारेजमा बृद्धाको शव 

त्यसैगरी सप्तरीको सप्तकोशी नदीको ब्यारेजको ढोकामा बिहीबार एक बृद्धाको शव फेला परेको छ। कोशी ब्यारेजको ५२ र ५३ नम्बरको ढोकाको बीचमा अड्किएको बृद्धाको शव निकालिएको छ। इलाका प्रहरी कार्यालय कञ्चनरुपका अनुसार पहिचान हुन नसकेको शवको पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.